नियुक्तिमा झापाली मोह

प्रशासन

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले फेरि दुई झापालीहरूलाई नियुक्ति दिएका छन् । सोमबारको विज्ञापन बोर्डको सदस्यमा चेतन अधिकारी नियुक्त भएका छन् । मन्त्रिस्तरीय निर्णयबाट चार वर्षका लागि अधिकारी नियुक्त भएका हुन् । सप्तकोशी एफएमका सञ्चालक एव विज्ञापन बोर्डका सदस्य चन्द्र न्यौपानेको निधन भएपछि रिक्त रहेको बोर्ड सदस्यमा अधिकारीको नियुक्ति भएको हो । नवनियुक्त सदस्य अधिकारीलाई मन्त्रालयमा सोमबार आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री वसन्तकुमार नेम्वाङ, सचिव हरिप्रसाद बस्याललगायतले बधाई तथा शुभकामना प्रदान गरेका छन् । झापाली अधिकारीले प्रधानमन्त्री ओलीको प्रेस संयोजक भएर पनि काम गरिसकेका छन् । तर, उनी प्रधानमन्त्रीको सचिवालय हेरफेर गर्दा फालिएका थिए ।
यस्तै, झापाकै माधव विद्रोहीले रासस बोर्ड सदस्यमा नियुक्ति पाएका छन् भने गोरखापत्रको बोर्ड सदस्यमा कृष्ण ओझालाई नियुक्ति दिइएको छ । यस्तै, नेपाल टेलिजिभन बोर्डमा सवनम मुखिया नियुक्त भएकी छन् । ललितपुर महानगरपालिका– ८ निवासी ५४ वर्षीया मुखिया नेपाल विद्युत् प्राधिकरणमा लेखा अधिकृतबाट स्वेच्छिक अवकास लिएकी हुन् । ओस्कार कलेज अफ फिल्म स्टडिजबाट सिनेमाटोग्राफीमा स्नातक अध्ययन गरेकी मुखियाले दर्जनौँ छोटो तथा फिचर फिल्म निर्माण तथा निर्देशन गरेकी छन् । ‘टीयर्स अफ फियर फिल्म’का लागि उनले किम्फ जुरी अवार्ड जितेकी थिइन् ।
कामचलाउ सरकारले नियुक्ति गर्न वा दीर्घकालिन महत्वको निर्णय लिन नपाउने भए पनि यस अघिका तीन वटा क्याबिनेटबाट मात्र २० जनालाई राजनीतिक नियुक्ति दिइएको थियो । गत जेठ ३१, असार ७, असार १० र असार १४ मा बसेको बैठकले विभिन्न ३३ निर्णय गर्दा अधिकांश राज्यका विभिन्न निकायहरूका विभिन्न पदमा नियुक्ति सम्बन्धी निर्णय गरेको छ । जसमध्ये, राष्ट्रिय योजना आयोगको सदस्य पदमा बाजुराका राजबहादुर गिरीलाई नियुक्ति गरिएको छ । यस्तै, राष्ट्रिय बिमा संस्थानको प्रशासकमा झापाका कविप्रसाद पाठकलाई दोहो¥याउने, मदन भण्डारी प्रौद्योगिक विश्वविद्यालय पूर्वाधार निर्माण विकास समितिको सदस्य पदमा प्राडा.मनराज कोलाक्षपति, डा.पदम बहादुर शाही र डा.अनिल पोखरेलले नियुक्त पाएका छन् ।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को सदस्य सचिवमा स्याङ्जाका श्री जीवनारायण काफ्लेलाई नियुक्ति दिइएको छ । राष्ट्रिय समाचार समितिको महाप्रबन्धकमा सिद्धराज राई, सार्वजनिक खरिद पुनरावलोकन समितिको अध्यक्षमा पाँचथरका भीमकुमार ओझा र सदस्यमा महेन्द्र बहादुर गुरुङलाई नियुक्ति दिइएको छ । नेपाल विश्वविद्यालय पूर्वाधार विकास तयारी समितिको अध्यक्षमा डा.अर्जुन कार्की, सदस्यमा डा.अमिना सिंह, डा.असिम ढकाल, प्राडा.विपिनचन्द्र अधिकारी, विरेश शाह, डा.दोभान राई, डा.संगिता कौशल मिश्र, डा.सूर्यराज आचार्य, डा.उत्तमबाबु श्रेष्ठ र श्रवणकुमार राणाले नियुक्ति भेटेका छन् । यस्तै, नेपाल इन्जिनियरिङ परिषद्को रजिष्ट्रार पदमा ई.श्री शिवमंगल गिरी र विदुषी योगमाया आयुर्वेद विश्वविद्यालय पूर्वाधार निर्माण विकास समितिको सदस्य पदमा खड्गबहादुर राई र वाङछेदर लामालाई नियुक्त गरिएको छ । यसरी नियुक्ति पाउनेमध्ये अधिकांश झापाली, प्रधानमन्त्री ओलीलाई बा साइनो लगाउनेहरूको बाहुल्यता छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *