यस कारण सिटौला चुप

राजनीति

काठमाडौं । दुई साता अगाडि नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिले आगामी भदौमा तय भएको १४औँ महाधिवेशनको मितिमा सामान्य संशोधन गर्दै भदौ १६ गतेबाट १९ गतेसम्म महाधिवेशन गर्नेे निर्णय गरेसँगै सभापतिका लागि उम्मेदवारी दिन दाबी गर्नेको होड चलेको थियो । पार्टी केन्द्रीय कार्य समितिले यो निर्णय गरेको भोलिपल्टै नै सभापति देउवाले दोस्रो कार्यकालका लागि पनि नेतृत्वमा जाने भन्दै सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका थिए र देउवाले दोस्रो पटकको आफ्नो कार्यकालमा कांग्रेसलाई सबभन्दा ठूलो दल बनाउने दाबी पनि गरेका थिए ।
देउवाले दोस्रो कार्यकालका लागि पनि सभापतिमा उम्मेदवारी दिने घोषणा गरेसँगै उनी आफैँले उपसभापतिमा मनोनयन गरेका विमलेन्द्र निधिले पनि सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन् । चर्चित केन्द्रीय नेताले सभापतिमा उम्मेदवारी दिने घोषणा गर्ने लहर चल्न थालेपछि महामन्त्री डा.शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र उपसभापति विमलेन्द्र निधिका बीचमा पटक–पटक लञ्च बैठक भएको छ । बिपी कोइरालाका पुत्र शशांक, गणेशमान सिंहका पुत्र प्रकाशमान सिंह र महेन्द्रनारायण निधिका पुत्र विमलेन्द्र निधिका बीचमा आगामी महाधिवेशन र नयाँ नेतृत्वका सम्बन्धमा नियमित छलफल हुन थालेपछि गिरिजाप्रसाद कोइरालकी पुत्री सुजाता कोइरालाले पनि आफू क्यान्सरबाट मुक्त भएको उल्लेख गर्दै सभापतिमा उम्मेदवारी दिने घोषणा गरेकी छन् । यसैगरी १३औँ महाधिवेशनमा दोस्रो चरणको निर्वाचनमा पराजित भएका रामचन्द्र पौडेलले पनि विभिन्न पार्टी प्यालेसमा आफूनिकट नेता कार्यकर्तालाई भेला पारेर आफ्नो इच्छा कांग्रेसको कार्यकारी प्रमुख हुने रहेकोले आगामी महाधिवेशनमा पनि सभापतिमा लड्ने घोषणा गरेका छन् ।
कांग्रेसका शीर्ष नेताहरूका बीचमा सभापतिमा उम्मेदवारी दिन तछाडमछाड भइरहँदा अहिलेसम्म यसअघिको महाधिवेशनमा सभापतिका उम्मेदवार बनेका कृष्णप्रसाद सिटौलाले भने मुख खोलेका छैनन् । १३औँ महाधिवेशनमा देउवालाई विजयी बनाउन र पौडेललाई पराजित गर्न निर्णायक भूमिका निर्वाह गरेका सिटौलाको राजनीतिक हैसियत पनि अहिले कमजोर बनेको छ । उनको लागि राजनीतिक पिलर मानिएका गगन थापा, प्रदीप पौडेल, भीमसेनदास प्रधान, उमाकान्त चौधरी तथा शिव हुँमागाईंले उनको साथ छाडेर थापा डा.शेखर कोइरालातिर, पौडेल र चौधरी रामचन्द्र पौडेलतिर र शिव हुँमागाईं सभापति देउवातिर लागेपछि राजनीतिक शक्ति कमजोर भएको कारणले गर्दा अहिलेसम्म सिटौलाले सभापतिको उम्मेदवारीको सम्बन्धमा मुख खोल्न नसकेका हुन् ।
०००

Leave a Reply

Your email address will not be published. Required fields are marked *