एमालेलाई सहमतिले दिएको सन्देश

समाचार सम्पादकीय

सम्पादकीय

विभाजनको डिलबाट गुज्रिराखेको सत्तारुढ नेकपा एमालेमा अन्ततः ठूलो प्रयासपछि गत आइतबार राति एकता भएको छ । सर्वोच्च अदालतको आदेशबाट गत फागुन २३ गतेबाट पुनः अस्तित्वमा आएदेखि नै नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली र नेता माधवकुमार नेपालका बीचमा विवाद चर्कदै आएको थियो । पार्टी अध्यक्ष र वरिष्ठ नेताका बीचमा उत्पन्न भएको विवादले निकास पाउन नसक्दा एमाले विभाजनको संघारमा पुगेको थियो । दोस्रो पुस्ताका नेताहरूको अथक परिश्रमपछि गत आइतबार राति यो विभाजनलाई मेट्ने गरी १० बुँदे सहमति भएको छ । यो सहमति भएसँगै अब पार्टी अध्यक्ष ओली र नेता नेपाल बीचमा पनि विगतका तीता अनुभवहरू बिर्सिने अवस्था आएको अनुभव गर्न सकिन्छ ।
संविधान जारी भएपछिको पहिलो आम निर्वाचनमा एमालेले ऐतिहासिक सफलता प्राप्त गरेको थियो र त्यही सफलताको परिणामस्वरूप एमाले अध्यक्ष ओली मुलुकको प्रधानमन्त्री बन्न सफल पनि भएका थिए । तर, पार्टी अध्यक्ष ओलीले मुलुकको प्रधानमन्त्री पद सम्हालेको केही समयपछिबाट नै पार्टीका वरिष्ठ नेता र प्रधानमन्त्रीका बीचमा विवाद उत्पन्न हुन थाल्यो । यसरी पार्टी अध्यक्ष र वरिष्ठ नेताका बीचमा उत्पन्न भएको विवादलाई समाधान गर्नेतिर दुवै कित्ताका नेताहरूले त्यो समयमा सामान्य प्रयास समेत गरेनन् । यसको विपरीत दोस्रो पुस्ताका नेताहरू कोही ओलीतिर र कोही नेपालतिर विभाजित भएर स्थितिलाई थप भाँड्ने काम गरेका थिए । एमालेका अध्यक्ष ओली र नेता नेपालका बीचमा कटुता बढाउने मामिलामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि भूमिका खेलेको अनुभव सबैले गरेकै हो ।
तर, ओली र नेपाल पक्षका दोस्रो पुस्ताका नेताहरूको अथक परिश्रमपछि एमाले विभाजनबाट जोगिएको छ भने यो पार्टीमा एकताको वातावरण पनि बन्न थालेको छ । पार्टी अध्यक्ष र नेता नेपालका बीचमा उत्पन्न भएको विवाद समाधान गर्नलाई गत आइतबार राति १० बुँदे सहमति भएको छ र अब यो सहमतिलाई दुवै पक्षले इमान्दारीतापूर्वक कार्यान्वयन गर्नेतिर पहल गरे निश्चय नै नेकपा एमालेमा उत्पन्न भएको विवादले टाउको उठाउने ठाउँ पाउने छैन । यो वास्तविकतालाई प्रधानमन्त्री ओलीसँगै नेता नेपालदेखि दुवै पक्षका नेताहरूले हृदयदेखि नै इमान्दारीतापूर्वक मनन गर्नु पर्दछ । ठूलो प्रयासबाट बनेको यो सहमतिलाई एमालेका नेता कार्यकर्ताले पार्टी जीवनका लागि कोसेढुंगाको रूपमा लिएर त्यही अनुरूपको व्यवहार गरे नेपालको राजनीतिमा नेकपा एमालेसँगै यो पार्टीका नेता तथा कार्यकर्ताको भविष्य पनि सुरक्षित छ भन्ने सबैले बुझ्नु पर्दछ । यसको विपरीत क्रान्तिकारी खोल ओढेर यो सहमति भाँड्ने काम भएमा त्यसको असर पार्टीलाई पर्ने निश्चित छ भने त्यस्ता खोलधारी क्रान्तिकारीको भविष्य खाडलमा जाकिने यथार्थलाई बुझ्न पनि जरुरी छ । किनभने अहिले नेकपा एमालेलाई विभिन्न बहाना अगाडि सारेर विवाद होइन एकता गरेर अगाडि बढ्नु पर्ने आवश्यकता समयले नै दिएको छ ।
यो अवसर र आवश्यकता नेकपा एमालेलाई सम्पन्न आम निर्वाचनले दिएको हो भन्ने वास्तविकतालाई मनन गर्न जरुरी छ । एमालेमा भएको यो सहमतिलाई लिएर कतिपय राजनीतिक दल तथा नेताको इच्छा र योजनामा चोट पुगेको हुन सक्दछ । तर, यो सहमतिले पार्टीमा भने निश्चितरूपमा नयाँ उत्साह उत्पन्न गरेको छ र अबका दिनमा दुवै पक्षले विगतका तीता–मिठा घटनालाई बिर्सिएर समय र जनताले दिएको चुनौतीलाई सामना गर्न एक साथ अगाडि बढ्नु पर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *