कांग्रेस महाधिवेशन दुई वर्ष पछाडि धकेलिने सम्भावना

समाचार

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशन आगामी भदौ १६ गतेबाट हुने तय भएको छ । पटक–पटक मिति पर सार्दै पछिल्लो पटक आगामी भदौ १६ गतेबाट १४औँ महाधिवेशन गर्ने कांग्रेस केन्द्रीय कार्य समितिले निश्चित गरेको भए पनि अब कांग्रेसको १४औँ महाधिवेशन कहिले हुन्छ भन्ने अन्योल जन्मन पुगेको छ । क्रियाशील सदस्यता वितरण र नवीकरणको मुद्दाले निकास पाउन नसक्दा आगामी भदौ १६ गतेबाट हुने भनिएको १४औँ महाधिवेशनको सम्पूर्ण प्रक्रिया ठप्प हुन पुगेको छ । सदस्यता वितरण तथा नवीकरणको मुद्दालाई तत्काल समाधान गरेर भदौ १६ गतेबाट हुने भनिएको महाधिवेशनको आवश्यक प्रक्रिया अगाडि बढाउनेभन्दा कांग्रेस नेतृत्वले अहिले महाधिवेशनलाई कुन मितिमा हुने गरी पछािड सार्ने भन्नेतिर विचार–विमर्श गर्न थालेको छ । कांग्रेसको विधानअनुसार हरेक चार वर्षमा महाधिवेशन भएर नयाँ नेतृत्वको लागि निर्वाचन समेत हुनुपर्दछ । २०७२ सालमा १३औँ महाधिवेशन सम्पन्न गरेको कांग्रेसले २०७६ साल फागुनमा १४औँ महाधिवेशन सम्पन्न गर्नु पर्ने थियो । तर, पार्टी विधानले दिएको सुुविधालाई उपयोग गर्दै संस्थापना पक्षले १४औैँ महाधिवेशनको मिति एक वर्ष पछाडि सारेर २०७७ साल फागुन ७ गतेबाट गर्ने भनेर मिति तय गरेको थियो । तर, कोरोनाको कारण देखाउँदै गत फागुन ७ गतेबाट गर्ने तय भएको १४औँ महाधिवेशनलाई पछाडि सारेर आगामी भदौ ९ गतेबाट १४औँ महाधिवेशन गर्ने नयाँ मिति तोकिएको थियो । तर, यो मितिमा पनि महाधिवेशन हुन नसक्ने निष्कर्षमा कांग्रेस नेतृत्व पुगेपछि आगामी भदौ १६ गतेबाट १४औँ महाधिवेशन गर्ने भनेर नयाँ मिति तय गरिएको थियो ।
तर, आगामी भदौ १६ गतेबाट पनि महाधिवेशन हुने सम्भावना नभएपछि आगामी पुससम्मका लागि महाधिवेशनलाई पछाडि सार्ने कसरत कांग्रेस नेतृत्वले गर्न थालेको छ । कोरोनाकाललाई शून्य समय मानेर कांग्रेसले १४औँ महाधिवेशनलाई आगामी पुषसम्मका लागि धकेल्ने योजना बनाएको हो । तर, आगामी पुसमा पनि कांग्रेसको १४औँ महाधिवेशन हुने सम्भावना अत्यन्त कम छ । किनभने आगामी चैत महिनासम्ममा स्थानीय निर्वाचन भइसक्नु पर्ने हुन्छ । त्यस कारण स्थानीय निर्वाचन र महाधिवेशनको एक साथ तयारी गर्न नसक्ने भन्दै कांग्रेसले आगामी पुसमा पनि १४औँ महाधिवेशन नगर्ने सम्भावना देखिएको छ । यसैगरी स्थानीय निर्वाचन सम्पन्न भएलगत्तै मुलुक आम निर्वाचनको चरणमा प्रवेश गर्ने छ । र, त्यो स्थितिमा पनि कांग्रेसका लागि १४औँ महाधिवेशन प्राथमिकतामा पर्न जाने देखिँदैन । यो घटनाक्रमलाई हेर्दा कांग्रेसको १४औँ महाधिवेशन कम्तिमा दुई वर्ष पछाडि धकेलिने र शेरबहादुर देउवाको नेतृत्वले निरन्तरता पाउने स्थिति बन्दै गएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *