१ सय ४० युवा ‘ठग्ने’ विजयलाई प्रदेश सरकारको २ लाख पुरस्कार !

समाचार

समृद्धिको नारा पुरस्कार बाँडेर पूरा हुन्छ ?
कालिकोट, अर्थात नेपालको कान्छो जिल्ला । विकटताको नमुना । त्यही विकटतालाई चिरेर संसारमै आफ्नो नाम कीर्तिमानी बनाउनु चानचुने होइन । त्यही सफलता (जुन भनिएको छ तर विवादित) विजय शाहीले प्राप्त गरे । उनी उमेरले युवा छन् । २० वर्षकै उमेरमा उनले पाएको सफलता लोभलाग्दो छ । त्यो पनि गिनिज बुकमा नाम लेखाएर पाएको रेकर्ड सानो थिएन । तर, यो सबै सत्य हो भनेर पत्याउने ठाउँ भने छैन । उनले पाएको पुरस्कार र अवार्डमा पनि अनुसन्धान आवश्यक छ ।
झण्डै दुई वर्ष यता विजय शाहीले युट्युबरको सहायतामा सबै किसिमका चर्चा पाए । उनलाई चर्चामा ल्याउने पहिलो काम भाग्य न्यौपानेले गरेका हुन् । भाग्य न्यौपानेको साथपछि विजय शाही कालिकोटबाट एकाएक अन्तराष्ट्रिय चर्चाका पात्र बने । प्राय विदेशमा रहेका नेपालीले पनि उनलाई साथ सहयोग गरेका थिए । मोटा तथा ठूला किताबका अक्षर–अक्षर कन्ठस्थ पार्ने विवादित कीर्तिमान विजय शाहीले राखेको चर्चा थियो । तर, रिर्पोर्टस क्लबमा पुण्य गौतम (युट्युबबाटै चर्चामा आएका तर विवादित व्यक्ति) ले सोधेको एउटै प्रश्नबाट विजयको रेकर्ड धरापमा परेको थियो । जसरी उनी एकाएक चर्चामा आए । धेरैजसो मिडियामा । कतिसम्म भने राष्ट्रिय मानिने प्राइम टेलिभिजनमा पनि । ऋषि धमालाकै अगाडि पनि उनले मोटा–मोटा किताब कण्ठस्थ पारेको भान पार्थे । तर, सत्य धेरैबेर टिकेन । एउटा सत्य के हो भने, कुनै पनि मानिसले संसारमा भएका सारा कुरा सम्झिन सक्छ । त्यसलाई कण्ठस्थ पार्न सक्दैन । कण्ठस्थ पारे पनि त्यसलाई दिमागमा लेख्न सक्दैन । लेखेको कुरा पढ्न सक्दैन । किताबमा लेखिएका कुरा पढ्नु नौलो होइन । बाँकी भट्याउने कुरा भट्याउनका लागि मात्रै हो ।

तर, त्यही कुरालाई उचाल्ने र पछार्ने नेपाली बानीका कारण विजय शाही चर्चामा आए । उनको चर्चा चुलियो । उनको चर्चासँगै सुरु भयो विवाद र बहस । तर, उनले विवाद छाडेनन् । तीन घन्टा पद्यासन गर्ने, अंग्रेजी र नेपाली ‘फर्मुला’मार्फत आफूजस्तै सीप सिकाउने भन्दै कर्णालीका एक सय ४० भन्दा बढी युवाबाट सात लाखभन्दा बढी ठगी गर्ने कालिकोटका विजय शाहीलाई कर्णाली प्रदेश सरकारले पुरस्कार दिएको खुलेको छ । कर्णाली प्रदेश सरकारले ‘मेमोरी किङ’ भएको बताउँदै मन्त्रिपरिषदको बैठकमा निर्णय गरेर नै २ लाख रुपैयाँ पुरस्कार दिएको थियो । पछिल्लो समयमा बढेको आलोचनापछि आफ्नै मृत्युको अफवाह फैलाएका शाहीलाई कर्णाली प्रदेश सरकारले २०७७ साल फागुन ५ गते सोमबार बसेको बैठकले २ लाख रुपैयाँ पुरस्कार दिने निर्णय गरेको थियो । सो पुरस्कार उनले फागुनमै लगिसकेका छन् । उतिबेला विजय शाहीको हाई–हाई थियो । सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका प्रमुख स्वकीय सचिव खेम सिंह विजयका नातेदार पनि भएका कारण उनलाई पुरस्कार पाउन सजिलो भएको थियो,’ मुख्यमन्त्री कार्यालय स्रोत भन्छ, ‘विभिन्न मिडियामा आएका समाचारले पनि मुख्यमन्त्री शाहीको ध्यान तानेको हो ।’ पुरस्कार दिने उक्त निर्णयमा भनिएको छ, ‘३ फेब्रुअरी २०२० मा ‘च्याम्पियन्स बुक अफ वल्र्ड रेकर्डस्’अन्तर्गत ‘च्याम्पियन अफ हुमन एचिभमेन्ट मेमोरी’मा रेकर्ड कायम गर्ने महावै गाउँपालिका वडा नम्बर ५ कालिकोट निवासी विजय शाहीलाई पुरस्कार रकम २ लाख उपलब्ध गराउने ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *