कांग्रेसको महाधिवेशन अब अर्को साल

राजनीति

निर्धारित समयमा नेपाली कांग्रेसको १४औँ महाधिवेशन हुने हो भने अबको १९ दिनपछि आगामी भदौ १६ गतेबाट कांग्रेस महाधिवेशन सुरु हुनुपर्दछ । तर, क्रियाशील सदस्यता वितरण र नवीकरण विवादको प्रमुख मुद्दा भएपछि यो मितिमा कांग्रेसको १४औँ महाधिवेशन सम्पन्न नहुने निश्चित भएको छ । यसभन्दा अगाडि पनि कांग्रेसले चारपटक महाधिवेशनको लागि मिति तय गरेर संशोधन गरिसकेको छ । सबभन्दा पहिले कांग्रेसले २०७७ साल फागुन ७ गतेबाट १४औँ महाधिवेशन गर्ने तय गरेको थियो । त्यसभन्दा अगाडि १३औँ महाधिवेशनको चार वर्षे कार्यकाल २०७६ साल फागुन २२ गते सम्पन्न भएलगत्तै १४औँ महाधिवेशन गर्ने तयारी पनि कांग्रेसको संस्थापना पक्षले गरेको थियो । तर, चार वर्षको महाधिवेशन काल सम्पन्न भएलगत्तै महाधिवेशन गर्नेतिर कांग्रेसले कुनै चासो राखेन र विधानले दिएको सुविधाको उपयोग गर्दै महाधिवेशनलाई एक वर्ष सारेर २०७७ साल फागुन ७ गतेबाट १४आँै महाधिवेशन गर्ने निर्णय केन्द्रीय कार्य समितिले गरेको थियो । तर, यो मितिमा पनि कांग्रेसले कोरोना महामारीलाई अगाडि सारेर महाधिवेशन गर्न नसकेपछि संविधानले दिएको थप ६ महिनाको समयको उपयोग गर्दै कांग्रेसले आगामी भदौ ९ गतेबाट १४ औँ महाधिवेशन गर्ने निर्णय गरेको थियो । तर, क्रियाशील सदस्यता वितरणसम्बन्धी विवाद समाप्त नभएको भन्दै कांग्रेस केन्द्रीय कार्य समितिले आगामी भदौ ९ गतेबाट नभएर भदौ १६ गतेबाट १४औँ महाधिवेशन गर्ने निर्णय गरेको थियो । तर, यो मितिमा पनि कांग्रेसको १४औँ महाधिवेशन नहुने निश्चित भइसकेको छ । सभापति देउवा र महामन्त्री डा.शशांक कोइराला अब पार्टीको १४औँ महाधिवेशन मंसिरको अन्त्यतिर गर्ने पक्षमा रहेका छन् । तर, संस्थापनइतरका नेता रामचन्द्र पौडेल आगामी भदौ १६ गतेबाट नै पार्टीको १४औँ महाधिवेशन हुनुपर्छ भन्ने अडानमा अहिले पनि कायमै रहेका छन् । उनले १४औँ महाधिवेशन आगामी भदौ १६ गतेबाट नै गर्नका लागि ९औँ महाधिवेशनमा उपयोग गरिएको मतदाता सूचीलाई उपयोग गरेर १४औँ महाधिवेशन गर्नु पर्ने प्रस्तावसमेत अगाडि सारेका छन् । यो प्रस्तावका सम्बन्धमा सभापति देउवा, महामन्त्री शशांक र नेता कृष्णप्रसाद सिटौलाले कुनै प्रतिक्रिया व्यक्त गरेका छैनन् । तर, १४औँ महाधिवेशन आगामी भदौ १६ गतेबाट नहुने भने निश्चित भइसकेको छ । तर, अब कांग्रेसको १४औँ महाधिवेशन कहिले हुन्छ भन्ने निश्चित भने हुन सक्ने स्थिति छैन । स्मरण रहोस् यो वर्षको अन्त्यसम्ममा स्थानीय चुनाव सम्पन्न भइसक्नु पर्दछ । र, त्यो अवस्थामा कांग्रेसका लागि पार्टी महाधिवेशन प्रमुख कि स्थानीय निर्वाचन प्रमुख भन्ने प्रश्नसमेत उठ्ने स्थिति छ । यो वर्षको अन्तिमसम्ममा स्थानीय निर्वाचन हुने अवस्थामा कांग्रेसले १४औँ महाधिवेशनको मिति २०७९ सालतिरका लागि समेत सार्ने स्थिति समेत बन्दै गएको देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *