एमाले नेताद्वय आचार्य र पाण्डेको अर्थपूर्ण दिल्ली भ्रमण

समाचार

काठमाडौं । नेकपा एमालेको माधव नेपाल पक्षका नेता भनेर राजनीतिक क्षेत्रमा परिचय बनाएका सुरेन्द्र पाण्डे र भीम आचार्य अहिले भारतको राजधानी दिल्लीमा पलेँटी कसेर बसिराखेका छन् । उनीहरू दिल्लीको एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरेपछि आराम गरिराखेका एमाले नेता झलनाथ खनाललाई भेट्न गएका हुन् भन्ने औपचारिक भनाइ रहेको छ । तर, गत शनिबार नै दिल्ली पुगेका आचार्य र पाण्डे अझैँ पनि काठमाडौं फर्कने तरखर नगरेको कारण यस सम्बन्धमा विभिन्न प्रकारका अड्कल काठमाडौंको राजनीतिक गल्लीमा हुन थालेको छ ।
काठमाडौंस्थित नर्भिक अस्पतालमा उपचार गराइराखेका एमाले नेता झलनाथ खनाल थप उपचारका लागि दिल्ली प्रस्थान गर्नु अगाडि पार्टी एकतालाई महत्व दिएर एउटा वक्तव्य सार्वजनिक गरेका थिए । नेकपा एमालेका अध्यक्ष केपी अ‍ोली र नेता माधव नेपालका बीचको विवाद उत्कर्षमा पुगिरहँदा नेपाल पक्षका वरिष्ठ नेता झलनाथ खनालले पार्टी एकतालाई प्रमुखता दिएर वक्तव्य प्रकाशित गर्नु र उक्त वक्तव्यको मस्यौदा केपी अ‍ोलीका कटुआलोचक नेपाल पक्षका वरिष्ठ नेता भीम रावलले तयार पार्नुलाई अर्थपूर्ण रूपमा हेरिएको थियो । यसैगरी अहिले नातामा झलनाथ खनालको साढुभाइ रहेका सुरेन्द्र पाण्डे र भान्जेज्वाइँ रहेका भीम आचार्य खनालको स्वास्थ्य स्थिति बुझ्न भनेर दिल्ली जानुलाई पनि अहिले अर्थपूर्ण मानिएको छ । किनभने पछिल्ला दिनमा नेता नेपालनिकट रहेका पाण्डे र आचार्यले नेता नेपालसँग दूरी बनाएर अध्यक्ष केपी ओलीनिकट हुन थालेको अवस्था थियो । यसरी नेता नेपालसँग निश्चित दूरी बनाउन थालेका नेता पाण्डे र आचार्य दिल्ली पुगेर वरिष्ठ नेता खनालसँग भेटघाटसँगै राजनीतिक वार्तासमेत गर्नुलाई खास गरेर काठमाडौंमा एमालेको माधव नेपाल पक्षले उत्सुकताका साथ हेरिराखेको छन् । र, अहिले काठमाडौंमा अध्यक्ष ओली र नेता नेपालका बीचमा उत्पन्न भएको विवाद पार्टी विभाजनको संघार तिर गई रहेको अवस्थामा यी दुई नेता दिल्लीमा पुग्नु र मिर्गौला प्रत्यारोपणपछि स्वास्थ्य अवस्था ठीक भएपछि पनि नेता खनालले स्वदेश फर्कनेतिर तर्खर नगर्नुलाई विशेष अर्थको रूपमा राजनीतिक क्षेत्रले लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *