किन आए भारतीय प्रम मोदीका विशेष दूत ?

समाचार

प्रधानमन्त्रीमा नियुक्ति भएको एक महिना पुग्दा पनि आफूले नेतृत्व गरेको मन्त्रिपरिषदलाई पूर्णता दिन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नसकिराखेको अवस्थामा र सबभन्दा ठूलो राजनीतिक दल नेकपा एमालेमा विभाजन प्रक्रिया अगाडि बढिरहँदाको संवेदनशील अवस्थामा भारतको सत्तारुढ भारतीय जनता पार्टीको विदेश विभाग प्रमुख विजय चौथाइवाला सत्तारुढ नेपाली कांग्रेसको विदेश विभागको निम्तोमा गत आइतबार काठमाडौं आएका छन् । चार दिने नेपाल भ्रमणमा आएका भारतीय जनता पार्टीको विदेश विभाग प्रमुख चौथाइवाला नेपालका प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूसँग भेटवार्ता गरेर आज स्वदेश फर्कंदै छन् ।
गत आइतबार साँझ काठमाडौं आइपुगेका चौथाइवालाले गत सोमबार नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवासँग लामो भेटवार्ता गरेका थिए । कांग्रेस सभापति तथा नेपालका प्रधानमन्त्री देउवासँग भेटवार्ता गरेसँगै भारतीय जनता पार्टीको विदेश विभाग प्रमुख चौथाइवालाले बालकोटस्थित निवासमा नै पुगेर नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी ओलीसँग पनि भेटवार्ता गरेका छन् । यसैगरी भाजपाका विदेश विभाग प्रमुख चौथाइवालाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एमालेका असन्तुष्ट नेता माधव नेपालसँग पनि उनीहरूकै निवासमा गएर भेटवार्ता गरेका छन् । नेपालको राजनीति अस्थिरताको दौरबाट गुज्रिराखेको अहिलेको संघीन अवस्थामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका अत्यन्तनिकटका नेता चौथाइवालाले चार दिन लामो काठमाडौं भ्रमण गर्नुलाई काठमाडौंको राजनीतिक तथा कूटनीतिक क्षेत्रले अर्थपूर्ण रूपमा लिएको छ । गत असार २९ गते बनेको सानो मन्त्रिपरिषदले पूर्णता पाउन सकिनराखेको र नेपालको राजनीति अन्योलबाट गुज्रिराखेको अवस्थामा भाजपाको विदेश विभाग प्रमुख चौथाइवालाको यो भ्रमणलाई विगतमा भएको घटनाको आधारमा पनि महत्वको साथ हेरिएको छ । स्मरण रहोस् एक वर्ष अगाडि भारतीय गुप्तचर संस्था रअका प्रमुख सामन्तकुमार अग्रवाल र भारतीय विदेशमन्त्री एसजय शंकरले नेपाल भ्रमण गर्नु अगाडि भाजपाका विदेश विभाग प्रमुख चौथाइवालाले काठमाडौं भ्रमण गरेर तत्कालीन प्रधानमन्त्री ओलीलगायतका अन्य नेताहरूसँग भेटवार्ता गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *