मुलुकको राजनीति चन्द्रागिरीमा बन्दी

राजनीति

काठमाडौं । राजनीतिक दल सम्बन्धी कानुन संशोधन गर्न सरकारले ल्याएको अध्यादेशलाई गत २०७८ साल भदौ २ गते राष्ट्रपति कार्यालयले प्रमाणीकरण गरेलगत्तै नेकपा एमालेका नेता माधव नेपाल र जनता समाजवादीको प्रथम अध्यक्षबाट घटुवा भएर साधारण सदस्यमा झरेका महन्थ ठाकुरले आफूहरूको नेतृत्वमा नयाँ पार्टी गठन गर्न निर्वाचन आयोगमा निवेदन दिन पुगेका थिए । खास गरेर वर्तमान सरकार गठनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका नेता माधव नेपाललाई नेकपा एमालेबाट बाहिरिएर नयाँ पार्टी गठन गर्न सजिलो होस् भनेर गत भदौ १ गते संसद अधिवेशन अन्त्य गरेको भोलिपल्टै बसेको मन्त्रिपरिषदको बैठकले राजनीतिक दल सम्बन्धी कानुन संशोधन गर्ने अध्यादेश सम्बन्धी निर्णय गरेको थियो । राष्ट्रपति कार्यालयबाट यो अध्यादेश प्रमाणीकरण भएलगत्तै त्यही दिन नै नेता नेपाल र नेता ठाकुर आफ्नो नेतृत्वमा नयाँ पार्टी गठन गर्न भन्दै निर्वाचन आयोग पुगेका थिए । अध्यादेशमार्फत राजनीतिक दल सम्बन्धी कानुन संशोधन भएपछि राजनीतिक दल विभाजन गर्नका लागि २० प्रतिशत केन्द्रीय सदस्य अथवा सांसद संख्या भए पर्याप्त हुने प्रावधानको व्यवस्था गरिएको छ । यसभन्दा अगाडि राजनीतिक दल विभाजनका लागि ४० प्रतिशत केन्द्रीय सदस्य र ४० प्रतिशत नै सांसद आवश्यक पर्ने कानुनी व्यवस्था रहेको थियो । यो व्यवस्थाअनुसार ४० प्रतिशत केन्द्रीय सदस्य र सांसदको व्यवस्था गर्न नसकेपछि माधव नेपाल नेकपा एमालेमा नै अध्यक्ष केपी ओलीसँग विवाद गरेर बसिराखेका थिए भने महन्थ ठाकुर पार्टीको साधारण सदस्यको अपमानजनक स्थितिलाई पनि स्वीकार्न बाध्य रहेका थिए ।
नयाँ राजनीतिक दल गठन गर्न सामान्यतया ४५ दिन समय आवश्यक पर्ने भए पनि छोटो बाटोबाट निर्वाचन आयोगले माधव नेपालको अध्यक्षतामा र महन्थ ठाकुरको अध्यक्षतामा नयाँ पार्टी गठन गर्ने प्रक्रिया अगाडि बढाएको छ र यसका लागि आज केन्द्रीय सदस्य अथवा सांसदको सनाखत गरेपछि उनीहरूले नेतृत्व गरेको पार्टी दर्ता हुने बताइन्छ । आफूले नेतृत्व गर्ने नयाँ पार्टीका पक्षधर सांसद तथा प्रस्तावित पार्टीमा उल्लेख भएका केन्द्रीय कार्य समितिका सदस्यहरू दायाँ–बायाँ नलागुन् भनेर माधव नेपालले गत दुई दिनदेखि चन्द्रागिरिस्थित रिसोर्टमा सय वटा कोठा बुक गरेर राखिएको छ । विगतमा अध्यक्ष अ‍ोली र नेता नेपालका बीचमा विवाद उत्कर्षमा पुग्दा नेपालको पक्षमा सक्रिय रहेका पूर्व उपाध्यक्षहरू अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली तथा भीम रावलसँगै पूर्व उपमहासचिव घनश्याम भुषाल तथा सचिवहरू योगेश भट्टराई, भीम आचार्य, गोकर्ण विष्ट तथा स्थायी समिति सदस्यहरू सुरेन्द्र पाण्डे र रघुजी पन्त नेपालको गुट परित्याग गरेर पार्टी संस्थापना पक्षमा पुगेका छन् र हिजो बसेको स्थायी समिति बैठकमा उनीहरू सहभागी भएका थिए । र, उनीहरू आज चन्द्रागिरिबाट सिधैँ निर्वाचन आयोगमा पुगेर सनाखत दिने कार्यक्रम रहेको बताइन्छ । आफू पक्षका सांसद तथा केन्द्रीय सदस्य नेकपा एमालेमा नै जाने सम्भावना देखेर नेता नेपालले यो बाटो अपनाएको हो भनिन्छ । र, यसरी चन्द्रागिरिमा खातिरदारीका साथ राखिएका नेताहरूलाई व्यस्त राख्न पार्टीको तर्फबाट विभिन्न कार्यक्रमको समेत आयोजना गरिएको छ ।
निर्वाचन आयोगले सनाखत गरेर नेपाल र ठाकुरको नेतृत्वको दल दर्ता गरेलगत्तै प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद विस्तार गर्ने योजना बनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *