प्रचण्डका लागि पूर्वप्रधानसेनापति रुक्मांगत कटवाल फेरि गलपासो बन्ने संकेत !

समाचार

नेकपा माओवादी केन्दका अध्यक्ष प्रचण्डका लागि पूर्वप्रधानसेनापति रुक्मांगत कटवाल फेरि गलपासो बन्ने संकेत देखिएको छ । नेपाली राजनीतिमा कटवाल काण्ड चर्चित छ । यसलाई प्रधानसेनापति प्रकरण पनि भनिन्छ । २०६६ सालमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तत्कालीन प्रधानसेनापति रुक्मांगत कटवाललाई पदबाट हटाएर कुलबहादुर खड्कालाई प्रधानसेनापतिको नियुक्तिपत्र नै दिएका थिए । तर, तत्कालीन राष्ट्रपति डा. रामवरण यादवले निर्णय रोकेका कारण सेनापति कटवाल पदमै रहे । यो प्रकरणपछि प्रचण्डले प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए ।
प्रधानसेनापतिलाई हटाउन खोज्ने कदमलाई प्रचण्डले पछि गल्ती भने । उनले राजनीतिक रूपमा निकै ठूलो धक्का खान पुगे । यो घटनापछि प्रचण्ड माओवादीप्रति निकै अनुदार बने । उनले सेवानिवृत्त भएपछि पनि माओवादी र प्रचण्डविरुद्ध आफूलाई उभ्याइरहे ।
अहिले उनै रुक्मांगत कटवालले ‘हिन्दू राष्ट्र अभियान’को शंखघोष गर्न पुगेका छन् । उनले ३ भदौमा हिन्दू धर्मगुरु र संस्थाहरूलाई साक्षी राखेर संयोजकका रूपमा ‘हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियान’को शंखघोष गरेका छन् ।
कटवाल हिन्दू राष्ट्र अभियानमा लाग्नु अर्थपूर्ण छ । पूर्वप्रधानसेनापति कटवालले निडरको परिचय बनाएका हुन् । त्यसमाथि उनलाई माओवादीको कटु आलोचक मानिन्छ । प्रचण्डलाई उनले मुख्य प्रतिद्वन्द्वी देख्दै आएका छन् ।
नेपालमा एकात्मक राजनीतिक प्रणालीबाट संघीय राज्य प्रणालीको स्थापनामा प्रचण्डको मुख्य भूमिका थियो । राजसंस्था हटाएर गणतन्त्र स्थापना गर्न उनकै मुख्य योगदान छ । हिन्दूराष्ट्र हटाएर संविधानमा धर्मनिरपेक्ष राख्न उनैले प्रमुख भूमिका खेलेका थिए । त्यसैले हिन्दूराष्ट्र पक्षधरको सक्रियता बढ्दा उनले धर्मनिरपेक्षता जोगाउनु पर्ने खुलेरै बोलेका छन् । डा.बाबुराम भट्टराई र उपेन्द्र यादवले पनि धर्मनिरपेक्षताका पक्षमा खुलेर बोलेका छन् । शीर्ष नेताहरूमा शेरबहादुर देउवा, केपी शर्मा ओली, महन्थ ठाकुरले धर्मनिरपेक्षताको पक्ष वा विपक्षमा खुलेर बोलेका छैनन् ।
शीर्ष नेतामा प्रचण्डले मात्र धर्मनिरपेक्षताको रक्षाका लागि बोल्दै आएका छन् । यता हिन्दूराष्ट्रका पक्षधरहरू विस्तारै सक्रिय भइरहेका छन् । यसले अब प्रचण्डको मुख्य चुनौती हिन्दूराष्ट्रका पक्षधर हुने देखिएको छ । हिन्दूराष्ट्र अभियानका संयोजक बनेर प्रस्तुत भएका कटवाल नै यो मुद्दामा मुख्य चुनौती बन्न सक्छन् ।
राजनीतिक वृत्तमा अहिले कटवाल नै किन हिन्दूराष्ट्र अभियानमा अघि सरे भन्ने विश्लेषण भइरहेको छ । विगतमा पनि प्रचण्डलाई धक्का दिन सकेकोले उनैलाई हिन्दूराष्ट्रका अभियन्ताहरूले विश्वास गरेको देखिन्छ । हिन्दूराष्ट्रको विपक्षमा खुलेर प्रस्तुत हुनेमा प्रचण्ड र डा.बाबुराम भट्टराई मुख्य हुने निश्चित छ । अन्य दलका शीर्ष नेताहरूपछि मात्र खुल्ने वा खुल्दै नखुल्ने लाइनमा छन् । उनीहरूलाई खुल्न बाध्य पार्न अभियान नै सारिएको देखिन्छ ।
नेपाली राजनीतिमा धर्मको मुद्दा जोडतोडले उठिरहँदा यसलाई बेवास्ता गर्न नसकिनेमा धर्मनिरपेक्षताका पक्षधरहरू पनि देखिएका छन् । यसले अब धर्मको मुद्दाले टकराव हुने निश्चितप्रायः छ । कटवाल यसका लागि अभियानका संयोजक बनेका छन् । यो मुद्दामा प्रचण्ड र कटवाल फेरि आमने–सामने हुने देखिँदैछ । प्रचण्डका लागि फेरि कटवाल चुनौती बनेर आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *