आन्तरिक पर्यटन प्रवद्र्धनमा जोड दिनुपर्छ

अन्तरवार्ता

सरकारले आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनका लागि निजी क्षेत्रको सहकार्यमा अगाडि बढ्ने भनेर बारम्बार बताउने गरेको छ । के सरकारले भनेजस्तै गरी पर्यटनसँगै जोडिएका गन्तव्यको प्रचार तथा नयाँ गन्तव्यको विकास भइरहेको छ त ? कोभिड–१९ का कारण पर्यटन क्षेत्र सबैभन्दा बढी प्रभावित भएको छ । यस्तो अवस्थामा नेपालको पर्यटनलाई बचाइराख्न कस्ता कार्यक्रम अगाडि सारिएको छ ? यही सेरोफेरोमा नेपाल पर्यटन बोर्डको उपाध्यक्षमा चन्द्र रिजाल चयन भएका छन । नेपाल पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजालसँग कुराकानी गरेका छौँ । उनलाई बोर्ड बैठकले २०७७ फागुन १८ गते उपाध्यक्षमा नियुक्त गरेको हो । बोर्डमा निजी क्षेत्रबाट प्रतिनिधित्व गर्ने व्यवसायीबाट उपाध्यक्ष तोक्ने व्यवस्था भए पनि अहिले तेस्रोपटक मात्र बोर्डले उपाध्यक्ष पाएको छ । पर्यटन बोर्ड ऐनले निजी क्षेत्रका प्रतिनिधिमध्येबाट एक जना उपाध्यक्ष तोक्नुपर्ने भनेको छ । तर, बोर्ड स्थापना भएयता सात वटा कार्यकालमा अहिले तेस्रोपटक मात्रै निजी क्षेत्रबाट उपाध्यक्ष तोकिएको हो । धादिङका रिजाल टानका पूर्व अध्यक्ष हुन् । रिजाल सकारात्मक सोच राख्ने लगनशील, मिलनसार व्यक्ति हुन् । थोरै बोल्ने, तर बोलेको कुरा पूरा गर्ने उनको बानी छ । रिजालले हानको पूर्व केन्द्रीय सदस्य भई जिम्मेवारी बहन गर्दा मजदुर समस्या समाधान गर्न गठित पर्यटन उद्योग (२०६६–२०६८) को मुख्य भूमिकासमेत निभाइसकेका छन् । त्यस्तै उनी नेपाल ¥याफिटङ एण्ड क्यानोनिङ एशोसिएसनको पूर्व उपाध्यक्ष, होटल डिप्लोम्याट प्रा.लि.को प्रबन्ध निर्देशकलगायत विभिन्न व्यवसायिक तथा सामाजिक संस्थामा आबद्ध छन् । काम गर्नका लागी दुई वर्षको समय पनि धेरै हुने बताउने रिजाल भूकम्प पछिको पुनर्निर्माणमा राज्य र जनतालाई सँगसँगै लैजाने अभियानमा छन् । उनै रिजालसँग गरिएको कुराकानीको अंशः
० कोभिडका कारण सबैभन्दा बढी प्रभावित नेपालको पर्यटन क्षेत्रमा विस्तारै गतिविधि सुरु हुन थालेका छन् । अब यस क्षेत्रलाई कसरी पहिलेकै अवस्थामा फर्काउन सकिन्छ ? बोर्डले कस्ता कार्यक्रम अगाडि बढाउँदै छ ?
अहिले पर्यटन क्षेत्र शिथिल भएको छ । यसलाई हामीले दुई वटा पाटोबाट हेरेका छौँ । पहिलो आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्दै पर्यटन क्षेत्रलाई अगाडि बढाउनु पर्नेछ । त्यसैअनुसार अगाडि बढने तयारी भएको छ । आन्तरिक पर्यटन प्रवद्र्धन नगर्ने हो भने पर्यटन क्षेत्र दिगो हुन नसक्ने अवस्था छ । यहीकारण पर्यटन बोर्डले सोहीअनुसार कार्यक्रम ल्याएको छ । पर्यटन उद्योगलाई कसरी बचाइराख्ने भन्ने विषय नै अहिलेको प्राथमिकता हो । फेरि पहिलेकै ठाउँमा कसरी पुग्ने भने विषय पनि छ । त्यसका लागि पनि अन्तर्राष्ट्रिय पर्यटक आउनुपर्छ । तर, उनीहरू अहिले नै आइहाल्छन भन्ने अवस्था छैन । तर, हामीले केही बढी उदार नीति लिएका छौँ ।
यसबीचमा हामीले तराईलक्षित कार्यक्रम गरेर ‘जाउँ है पोखरा’ अभियान पनि सञ्चालन गरेका थियौँ । पूर्व–पश्चिम साइकल यात्रा गरेर आन्तरिक पर्यटन प्रवद्र्धनका काम गरेका छौँ । आन्तरिक पर्यटन प्रवद्र्धनका लागि हामीले सुरुमा ‘रिभाइभल कमिटी’ बनाएका थियौँ । यस्तै, सीमाका पर्यटकलाई तान्न पनि सात वटा सहरको पहिचान गरेर प्रवद्र्धधन गर्ने र आफूसँग जोडिएको भारतको प्रदेशका सहरमा गएर प्रचार–प्रसार गर्ने कार्यक्रम पनि अगाडि बढाएका छौँ ।
० १३ वर्षसम्म खाली रहेको नेपाल पर्यटन बोर्डको उपाध्यक्ष हुनुभएको छ, के–के विषय प्राथमिकतामा राख्नु भएको छ ?
मेरो प्राथमिकताभन्दा पनि नेपाल पर्यटन बोर्डको कुर्सीमा बसिसकेपछि यसको आफ्नै किसिममा नीति र नियमहरू छन् । पर्यटन बोर्डका आफ्नै उद्देश्य छन् । बोर्डको जन्म नै निजी क्षेत्रलाई सहयोग गर्नका लागि भएको हो । यसमा पहिलो मेरो काम भनेको निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्नु हो । चीनमा देखिएको कोरोना भाइरसको प्रभाव नेपालको पर्यटन क्षेत्रमा परेको छ । आजको दिनमा होटलहरू खाली छन् । कोरोनाले विश्वभरिका पर्यटकको यात्रा प्रभावित भएको छ । बुकिङहरू क्यान्सिल भएको स्थिति छ । यस्तो समयमा कसरी ‘फाइट’ गर्ने । कसरी निराकरण गर्ने । कसरी निजी क्षेत्रलाई यो चुनौतीबाट बाहिर निकाल्ने भन्ने नै मूल उद्देश्य हो ।
० तपाईंको आफ्नो कार्य योजना चाहिँ के छ ?
केही गरौँ भनेर नै आएको हुँ । मेरो कार्य योजना भनेको जुन नेपाल पर्यटन बोर्डले गर्ने भनेको छ, त्यही हो । त्यसलाई नै प्रवर्द्धन गर्ने हो । मेरो बुझाइ भनेको यसअघि प्रवद्र्धनको काम कमजोर हिसाबले गरिएको थियो भन्ने हो । डिजिटलाइज् रूपमा छैन भने त्यसलाई डिजिटिलाइज बनाउने हो । अहिले मार्केट फेरिएको छ । पहिलेको मार्केटिङ कागजमा छापेर बोकेर बाँड्दै हिँडिन्थ्यो । देश विदेशमा प्रवद्र्धनका लागि गइन्थ्यो । अहिले जमाना फेरिएको छ । अहिले इमेल, फेसबुक, ट्विटर, युट्युबको जमाना छ । मार्केटिङ डिजिटल भइसकेको छ, हामी भने छाप्ने काममा नै जोड दिई रहेको अवस्थामा छौँ । यसलाई डिजिटलाइज गर्न खोजेका छौँ । जसरी नि डिजिटलाइज गरेरै लैजाने छौँ । भइरहेकै कामहरूलाई पनि थप प्रभावकारी रूपमा अगाडि लैजाने मेरो योजना छ । जस्तो कि अहिले कोरोना भाइरसको संक्रमण छ । कोरोनाकै कारण अहिले सरकारले नै घुमफिरमा सावधानी अपनाउन भनेको अवस्था छ । त्यसैले संसारभरि नै उत्साहित भएर यात्रामा निस्कनेहरू कमै देखिन्छन् । यसले संसारभरि प्रभाव पारेको अवस्था छ । त्यस्तै हामीले चीनबाट पर्यटक कम आएको खण्डमा अर्को बजार कहाँ हुन सक्छ भनेर पनि छलफल अघि बढाएका छौँ । केही देशहरूको पहिचान पनि भएको छ । ती देशहरू पहिला पनि थिए तर त्यति फोकसमा थिएनन् । ती देशहरूमा प्रवद्र्धनको तयारीमा छौँ । राष्ट्रिय निकुञ्जको सुरक्षा नेपाली सेनाले गरेको छ । १४ वटा राष्ट्रिय निकुञ्ज छन् । यसमा विकासको लागि नेपाली सेनासँग सहकार्य गर्ने पहल भइरहेको छ । हामी छिट्टै नै निर्णय गरी अगाडि जाने छौँ । म र मेरो टिम अहिले प्रचारमुखीभन्दा पनि अलि परिणाममुखी काम गरौँ न भनेर लागि रहेका छौँ ।
० सरकारले एक सय नयाँ पर्यटकीय गन्तब्यहरू घोषणा गरेको छ । तर, ती गन्तब्यमा भौतिक संरचना त के त्यहाँ पुग्न बाटोको पनि सुविधा छैन । यो लज्जास्पद भएन र ?
भौतिक संरचना बन्नलाई समय लाग्छ । यो सय वटा गन्तव्य हो भनेर तोकिदिएको मात्र हो । त्यसमा प्रदेश सरकार बस्नु प¥यो । उनीहरूसँग पर्यटन क्षेत्रका विज्ञ हुनुप¥यो । हामी पनि सहयोग र समन्वय गरिरहेका छौँ । अहिले हामीले नयाँ रणनीतिका साथ अगाडि बढाइरहेका छौँ । प्रत्येक प्रदेश सरकारसँग बसेर काम गरिहेका छौँ । म आफै प्रदेश सरकारसँग बसेर उनीहरूसँग योजना बनाउने गुरुयोजना बनाएर काम गरिरहेका छौँ । हामी पनि बजेट छुट्याउँछौँ ।
० नेपालमा एक पर्यटक एक गाइड सम्भव छ कि छैन ?
त्यो सम्भव नै छैन । बरु एउटा समूह पर्यटक र एक गाइड सम्भव छ । एउटा कम्पनीमा १५ जना पर्यटकको समूह आयो भने त्यहाँ १५ जना नै गाइड लगाउन सम्भव छैन । गाइड बिना जान नपाउन सकिने गर्न सकिन्छ, तर एक गाइड एक पर्यटक हाम्रो लागि असम्भव हो । गाइड अनिवार्य चाहिँ गर्नु पर्छ ।
० सरकारले धेरै पर्यटकीय गन्तब्यहरू घोषणा गर्छ, तर पर्यटकहरू अन्नपूर्ण, मनास्लु र सगरमाथामा मात्र सिमित हुन्छन् । यो अवस्था किन ?
पर्यटकहरू जहाँ गाइड भयो त्यहीँ जान्छन् । जहाँ बढी लगानी हुन्छ त्यहीँ पर्यटक बढ्ने हो । सुदूर कर्णालीमा पदमार्ग बनाउने, तर त्यहाँ गाइड र भौतिक संरचना नभएपछि त्यहाँ पर्यटक कसरी जान्छन् ? पदमार्गहरू दिगो हुने खालको हुनु पर्छ । त्यो गर्यो भने त्यतैका गाइडहरू बनाउनुप¥यो । पर्यटकीयस्थलकै गाइडलाई तालिम दिनुप¥यो ।
० विनाश भइसकेका रुटहरूको विकल्प खोज्ने र नयाँ रुटहरू स्थापना तथा निर्माण गर्नतर्फ तपाईंहरूको ध्यान कत्तिको गएको छ ?
हामी यो काम गरिरहेका छौँ । स्थानीय र प्रदेश सरकारसँग सहकार्य गरेर अगाडि बढिरहेका छौँ । उनीहरूको समन्वयमा उनीहरूले कस्तो प्रदेश चाहेका हुन् त्यहीअनुसारको सहयोग पनि गर्छौँ । हामीले पर्यटकका लागि कुनै काम नै गरेका छैनौँ । हामीले विमानस्थलबाट आएकालाई मात्र पर्यटक मानेका छौँ । सबै पर्यटकलाई समान व्यवहार गर्नुपर्छ । हामीले भारतबाट आउनेलाई पर्यटक नै मानेका छैनौँ ।
अब तपाईं आफ्नो कार्यकालमा यो अवस्थालाई कसरी सुधार गर्नुहुन्छ त, के कस्ता योजना बनाउँदै हुनुहुन्छ ?
म यता बसेर पर्यटन प्रवद्र्धन गर्ने भन्ने हो । प्रदेश सरकारको बढी लगानी पर्यटनतर्फ जाओस् भन्ने मेरो चाहना हो । एक हजार मिटर माथिका पहाड तथा हिमालहरूमा सकेसम्म हिल स्टेशन बनाउनेतर्फ ध्यान दिन्छु । भारततर्फको बोर्डर–बोर्डरमा क्यासिनो राख्ने मेरो योजना छ । २० लाख पर्यटक भित्र्याउन गा¥हो पनि छैन । वान वे ट्रेकिङ रुट बनाउँछौँ । वान वे बनायो भने रुटमा हुने मान्छेको भीड पनि कम हुन्छ । एक ठाउँबाट गयो भने अर्को ठाउँबाट फर्किने सुविधा हुन्छ । मैले गुरुयोजना तयार पार्छु । त्यहीअनुसार अगाडि बढ्छौँ । मेरो फोकस सातै प्रदेशको गुरुयोजना बनाउने हुन्छ । मेरो नेपाल कस्तो हुनुपर्छ भन्ने बाटोचाहिँ म देखाउन सक्छु । यसका लागि स्थानीय जनप्रतिनिधि र प्रदेश सरकारसँग समन्वय गरेर अगाडि बढ्छु ।
० नेपालको पर्यटन क्षेत्र कस्तो होस् भन्ने चाहना हो तपाईंको ?
म जे गर्छु राम्रोको लागि गर्छु । विकास सँगसँगै विनाश हुने खलको कामलाई रोक्छु । हामीले कुनै पनि काम गछौँ भने त्यसलाई दिगो खालको बनाउनुपर्छ । यसबाट हुने आम्दानीमा पनि सबैको समान किसिमले नै वितरण होस् भन्ने चाहना छ । यहाँ भारी बोक्ने भरियाको खल्तीमा पैसा नै नजाने समस्या छ । अरूको पनि हालत यस्तै छ । दुःख गरेअनुसारको पारिश्रमिक पाओस् भन्ने चाहना छ । काम गर्ने मानिसको सुरक्षा र स्वास्थ्यको कुरा छ । बिमाको व्यवस्था होस्, होटेलहरूले सरसफाइमा ध्यान दिउन् र राम्रो खाना खुवाउन । प्राकृतिक सम्पदाको संरक्षण होस् । जनचेतना जगाउनु पर्ने पनि त्यही हो । कसैलाई असर नपार्ने दिगो पर्यटन विकास र विस्तार गर्नेतर्फ मैले सोचेको छु ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *