कांग्रेसमा चल्न थाल्यो उम्मेदवारी दिने होड

राजनीति समाचार

आगामी मंसिर ९ गतेबाट अहिलेसम्म मिति सर्दै आएको १४औँ महाधिवेशन हुने निश्चित भएपछि नेपाली कांग्रेसका नेताहरूका बीचमा भावी नेतृत्वको लागि उम्मेदवारी दिने होडसमेत चल्न थालेको छ । अहिलेसम्म सभापति देउवाको दाहिने हातको भूमिका निर्वाह गरेका र १३औँ महाधिवेशनपछि सभापति देउवाबाट उपसभापतिमा मनोनित भएका विमलेन्द्र निधिले गत शुक्रबार थापागाउँ बानेश्वरस्थित एउटा पार्टी प्यालेसमा आफ्नो सम्पर्क कार्यालय खोल्दै आगामी महाधिवेशनमा आफूले सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन् । उपसभापति निधिले १४औँ महाधिवेशनमा नयाँ नेतृत्वको लागि सभापतिमा उम्मेदवारी दिने तीन दिनपछि गत सोमबार कांग्रेसका युवा नेता गगन थापाले पनि आगामी महाधिवेशनमा आफूले महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
घोषणा नगरे पनि १४औँ महाधिवेशनबाट सभापति भएर पार्टीको नेतृत्वमा पुग्नका लागि वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, पूर्व महामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्य डा.शेखर कोइराला यसैगरी वरिष्ठ नेता गोपालमान श्रेष्ठले समेत आफ्नो तर्फबाट आवश्यक तयारी अगाडि बढाइराखेका छन् । यसैगरी महामन्त्रीका लागि पार्टीका प्रवक्ता विश्वप्रकाश शर्मा, सहमहामन्त्री प्रकाशशरण महत, युवा नेता एन.पि. साउद, धनराज गुरुङ, चन्द्र भण्डारी, प्रदीप पौडेलले समेत महामन्त्रीमा उम्मेदवारी दिने तयारी गरेका छन् । तर, अहिलेसम्म भावी नेतृत्वको लागि प्यानल नै भने तयार भएको छैन । र, प्यानल तयार हुने क्रममा यी मध्येका कतिपय व्यक्ति उम्मेदवारी दिनबाट बाहिरिने स्थिति समेत रहेको छ । र, अहिले भने बलियो प्यानल बनाएर अगाडि बढ्ने कसरतसमेत कांग्रेस नेतृत्व तहमा भइराखेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *