कर्मचारी संगठन फुटको संघारमा

प्रशासन

काठमाडौं । निजामती कर्मचारीहरूको सबैभन्दा ठूलो संगठन नेपाल निजामती कर्मचारी संगठन फुटको मुखमा पुगेको छ । पार्टी विभाजनको असर संगठनमा समेत देखिन लागेपछि सो संगठनका महासचिव रेवन्त गौतमले संगठनलाई जोगाउन र एकढिक्का बनाइराख्न अपिल गरेका छन् ।
केपी ओली पक्षधर मानिएका अध्यक्ष केदारप्रसाद देवकोटाले संगठनको विधानलाई समेत कुल्चदै आगामी असोज २ गते केन्द्रीय कार्यसमिति र राष्ट्रिय भेला डाकेका छन् ।
नेपाल निजामती कर्मचारी संगठनको विधानअनुसार, संगठनको सचिवालयको बैठक बसी एजेण्डा पास तथा तय गर्ने र सो एजेण्डासहित केन्द्रीय कार्यसमितिको बैठक अध्यक्षको सहमतिमा महासचिवले आह्वान गर्नुपर्ने भए पनि विधानलाई कुल्चँदै महासचिवलाई थाहै नदिई केन्द्रीय कमिटीको बैठक डाकिएको प्रति महासचिव गौतमले विज्ञप्ति नै निकालेर आपत्ति जनाएका छन् ।
गौतमद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘संगठनका अध्यक्षको यो गतिविधि र हर्कत कुन्ठित राजनीतिक अभिलाषाबाट प्रेरित छ ।’
तत्कालको महत्वपूर्ण विषयलाई पन्छाएर ०७८ असोज २ मा केन्द्रीय कार्यसमिति र राष्ट्रिय भेला डाकिएको विषयप्रति गम्भीर आपत्ति प्रकट गर्दै विज्ञप्तिमा भनिएको छ, ‘संघीयता पछि महत्वपूर्ण मानिएको कर्मचारीको मुल कानुन, संघीय निजामती सेवा ऐन तीन वर्षदेखि अलपत्र परेको, समायोजित कर्मचारीहरूको सेवा शर्त र हितको विषयमा बोल्नुपर्ने समयमा महत्वपूर्ण विषयलाई पन्छाएर अनिर्णित र असान्दर्भिक एजेण्डा बोकेर वैधानिक बाटोलाई बेवास्ता गरिएको प्रति आपत्ति प्रकट गरिएको छ ।’ यो यही संगठन हो, जो ०५४ सालमा एमाले फुटेर माले बनेको समयमा समेत एक ढिक्का रहेको थियो । अहिले पार्टी फुटको नाममा संगठन पनि फुटाउनु उचित कदम नहुने महासचिव गौतमको भनाई छ । भोली ढिलो वा चाँडो पार्टी एक हुन्छ । पार्टी एक ढिक्का हुँदा हामी पनि फेरि एकै ठाउँमा उभिनु छ भने अहिले किन विभाजन रोज्ने ? गौतमले प्रश्न गरेका छन् । महासचिव गौतमले संगठनका धेरै संगठक र साथीहरू एकताकै पक्षमा भए पनि अध्यक्षले जबर्जस्त विभाजनतिर लैजान खोजेको आरोप लगाएका छन् ।
उनले भने, ‘निजामती कर्मचारी संगठन विशुद्ध पेसाकर्मीहरूको संगठन हो । यो युवा संघ, अखिलजस्तो संगठन नभएको र माथि नेताहरू फुट्ने वित्तिकै पेसाकर्मीहरूको संगठन पनि फुट्नै पर्दछ भन्ने नभएको, लाखौँ पेसाकर्मीहरूको छायाँ संगठनलाई जोगाउन र एकढिक्का बनाइराख्न उनले कर्मचारी, पेसाकर्मी, बुद्धिजीविदेखि नेताहरू समक्ष अपिल गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *