एकजना भ्रष्टको पछि लाग्दा २७ अधिकृत फन्दामा

समाचार

काठमाडौं । एउटा भ्रष्टको पछि लाग्दा एकै पटक २७ जना उच्च अधिकारीहरू फन्दामा पर्दैछन् । लहरो तान्दा पहरो थर्कने भनिए झैं एउटा ठूलो भ्रष्टाचारको प्रकरणमा अमेरिकाका लागि नेपाली राजदूत डा.युवराज खतिवडा, वर्तमान गभर्नर महाप्रसाद अधिकारी, राष्ट्र बैंकका कर्मचारी अर्थात कार्यकारी निर्देशक भीष्मराज ढुंगानासमेत अप्ठ्यारोमा पर्दैछन् । यो प्रंसग हो, भिएलएनको । यो एउटा सफ्टवेयर हो, जो मलेसियाले किनेर आफ्नो दूतावास रहेका सबै मुलुकमा भिसा प्रोसेसिङका लागि प्रयोग गरेको थियो । यही बीचमा एक जना म्यानपावर व्यवसायी दलाल राम श्रेष्ठले रातारात सोही कम्पनीको नामसँग मिल्ने गरी नेपालमै कम्पनी दर्ता गर्न भ्याए भिएलएन नेपाल । उनको कम्पनी घरेलु तथा साना उद्योग विभागमा दर्ता भएको देखिन्छ र त्यसको कार्यालय पुल्चोकमा रहेको कर्मचारी सञ्चयकोषको भवनमा एउटा कोठा भाडामा लिएर सञ्चालन गरेका थिए । एकसमय उनी प्रहरीको फन्दामा पनि परेका हुन् अवैध रकम उठाएको आरोपमा ।
उनले अर्थ मन्त्रालयदेखि श्रमको अधिकारीहरूलाई प्रयोग गरेर छाप र लेटरप्याड दुरूपयोग गरेको प्रारम्भिक अनुसन्धानको सिलसिलामा खुलेको छ । मलेसियासँगको सम्झौताअनुसार नेपालमा भिसा प्रोसेसिङ गर्दा प्रतिव्यक्ति चार हजार सात सय ५० रूपैयाँ उठाउने गरेको, त्यसरी उठाइएको रकममध्ये ७ सय ५० रूपैयाँ मलेसियन दूतावासलाई दिने गरेको र बाँकी रकम भिएलएन मलेसियालाई पठाउनुपर्नेमा आफैँले राखेको भन्ने उजुरी परेको थियो । त्यसरी उठाइएको पैसा मात्रै ६ अर्ब ५० करोड बराबर रहेको थियो । हो, यही प्रकरणमा डामिएका हुन् युवराजदेखि महाप्रसादसम्म । उनीहरूकै मिलेमतोमा मलेसिया पठाउनु पर्ने रकम उता नपठाई अन्यन्त्र पठाइएको । मलेसिया पठाउनुपर्ने अर्बाै रकम हङकङ पठाउने नेपाल राष्ट्र बैंकको निर्णय र आवश्यक सिफारिस नेपाल राष्ट्र बैंकले लुकाएर राखेको फेला परेसँगै यो प्रकरण उदांगिएको हो । झण्डै ६ अर्ब ५० करोडको यो प्रकरणमा डा.युवराज खतिवडा, वर्तमान गभर्नर महाप्रसाद अधिकारी, राष्ट्र बैंकका कर्मचारी अर्थात् कार्यकारी निर्देशक भीष्मराज ढुंगानासहितका २७ जनामाथि अनुसन्धानको सिलसिला प्रारम्भ भएको छ । यो प्रकरणमा नेपाल राष्ट्र बैंकका तत्कालीन गभर्नर डा. युवराज खतिवडा तत्कालीन डेपुटी गभर्नर एवं वर्तमान गभर्नर महाप्रसाद अधिकारी हाल धितोपत्र बोर्डको अध्यक्ष रहेका राष्ट्र बैंकको तत्कालीन विदेशी मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक भीष्मराज ढुंगाना, राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका तत्कालीन कार्यकारी निर्देशक भाष्करमणि ज्ञवालीलगायत राष्ट्र बैंकका २७ जना कर्मचारीलाई कारबाही हुन लागेको छ ।
अहिले यो प्रकरणमा भित्रभित्रै गुपचुप ढंगले छानबिन चल्दैछ र छानबिन प्रभावित पार्ने र शक्तिकेन्द्रतिर धाउन खेल चल्दैछ ।
अनुसन्धानको क्रममा नेपालबाट मलेसिया रकम पठाउनुपर्नेमा नयाँ प्रबन्धपत्र र अर्थ मन्त्रालयको नक्कली सिफारिसमा भिएलएन हङकङ भन्ने थपेर गडबड गरिएको भेटिएको छ । भिएलएन नेपालले मलेसिया पठाउनुपर्ने झण्डै छ अर्ब ५० करोड रूपैयाँ हङकङ पठाएर राजस्व छल्ने काण्डमा राष्ट्र बैंकका मात्र २७ जना अधिकारी संलग्न रहेको भटिएसँगै अहिले अर्थ मन्त्रालयले कारबाही प्रक्रिया अन्तिम चरणमा पु¥याएको बुझिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *