कर्मचारीमा थपलियाकै जोडबल

समाचार

काठमाडौं । पत्याउनुहुन्छ, अहिले पनि नेपालको कर्मचारी प्रशासन संयन्त्रमा दिनेश थपलियाकै जोडबल चल्छ । उनैले भनेझैंका कर्मचारीहरू मालदार ठाउँमा पुग्छन् । जस्तो सुरेश अधिकारी नाताले भाइ, उनलाई निर्वाचन आयोगको सचिव बनाएर लगेका थपलियाले आफ्नै जिल्लाबासी सूर्य गौतमलाई श्रम मन्त्रालयको सचिव बनाएका छन् । अहिले मालदार मानिएको सम्पत्ति शुद्धिकरण विभागमा प्रेम भट्टराईलाई लैजाने गरी गृहकार्य अघि बढेको छ । भट्टराई हाल भक्तपुरको प्रमुख जिल्ला अधिकारीको रूपमा कार्यरत छन् । उनलाई केही दिन भित्रैमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तानेर त्यहाँबाट सिधैँ सम्पत्ति शुद्धिकरण विभागको हाकिम बनाउने गरी प्रक्रिया अन्तिम चरणमा पुगेको छ । विगतमा अख्तियार दुरूपयोग अनुसन्धान आयोग र ललितपुर महानगरपालिकामा बस्दा गडबडी गरेको आरोप उनीमाथि लाग्दै आएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाको छोरालाई करारमा इञ्जिनियरमा जागिर खुवाउने प्रक्रियामा मुछिएका कारण भट्टराईले बदनामी कमाएका छन् । प्रमुख निर्वाचन आयुक्त थपलियाले आफ्ना छोरा सारांश थपलियालाई जेनतेन इन्जिनियर त बनाए, तर उनीसँग प्रतिस्पर्धा गरी पेसामा जम्ने क्षमता नभएपछि आफ्नो पावरको दुरूपयोग गरी ललितपुर महानगरपालिकामा इन्जिनियरमा भर्ती गर्न खोजेका थिए । सो प्रक्रियामा नियम, कानुन मिचेर सघाएको आरोप प्रेम भट्टराईमाथि लाग्दै आएको छ । थपलियाका छोरालाई जागिरमा राख्नका लागि उक्त विज्ञापन गराउन लगाएका थिए । थपलियाले आफ्नै जिल्ला संखुवासभा घर भएका तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमलाई प्रयोग गरी उनले विज्ञापन गर्न लगाएका थिए । भट्टराईले जसरी पनि थपलियाका छोरालाई पास गराउने आश्वासन दिए, तर वडाध्यक्षको विरोधका कारण सकेनन् । उनको सरुवा धनुषाको प्रमुख जिल्ला अधिकारीमा भइसकेपछि विष्णु कोइराला ललितपुर महानगरमा प्रशासकीय अधिकृको रूपमा तानियो । कोइराला सहसचिवमा बढुवा हुनासाथ उनी ललितपुर महानगरमा पदस्थापन भएका थिए । अहिले सोही प्रकरणमा जोडिएका भट्टराईलाई सम्पत्ति शुद्धिकरणमा लैजाने तयारी चल्दैछ ।
उता, अर्थमन्त्री जर्नादन शर्मा एकपछि अर्काे बद्नामी कमाउँदैछन् । कर्मचारीको सरुवा वा बढुवाजस्ता मामुली विषयमा समेत हात हाल्दा अघिल्लो पटक ऊर्जामन्त्री हुँदाको उनको चार्म क्रमशः ओरालो लाग्न थालेको छ । गत आइतबारमात्र शर्माले अर्थ मन्त्रालय मातहतको वित्तीय क्षेत्र तथा संस्थान समन्वय महाशाखाबाट दीर्घराज मैनालीलाई लखेटेर सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रमा पु¥याएका छन् । त्यहाँ रुकुमेली रमेश केसीलाई तानिएको छ । यसअघि शर्माले अर्थमन्त्री बनेसँगै ५८ वर्षे उमेर हदका कारण घर जान लागेका सचिव शिशिर ढुंगानालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयतिर खेदेर मधुकुमार मरासिनीलाई महालेखा नियन्त्रकको कार्यालयबाट अर्थ सचिव बनाएका थिए । जीवनभर एमाले हुँ भन्दै हिँडेका सचिव ढुंगाना अबको तीन महिनापछि उमेरहद लागेर घर जाँदैछन् । उनी ‘म खाँटी कांग्रेस हुँ हजुर’ भन्दै अचेल फष्ट लेडीसँग भेटघाट गर्ने गरेको स्रोतले जनाएको छ । अहिलेको मुख्यसचिव शंकरदास बैरागीलाई पूर्व मुख्यसचिव लोकदर्शन रेग्मीलाईझैं राजदूत बनाएर पठाउने र आफू मुख्यसचिव बन्ने असफल प्रयासमा ढुंगाना लागि परेका छन् ।
उता माओवादी कोटाबाट अर्थ सचिव बनाए मधुकुमार मरासिनीलाई । उनी निकै जुनियर कर्मचारी हुन् । अर्थका क्याडरका रूपमा चिनिएका र ओली सरकारबाट चेपिएका केवल भण्डारी र लक्ष्मण अर्यालहरू अर्थ सचिव बन्नुपर्ने लाइनमा थिए, तर जुनियरलाई अर्थ सचिव बनाइएसँगै राजश्व सचिव बन्ने कर्मचारी नै भेटिएन । जुनियर कर्मचारीलाई अर्थ सचिव बनाएसँगै राजश्व सचिव बन्ने कोही नभेट्टाएपछि त्यहाँ भर्खरै सचिव बनेका कृष्णहरि पुस्करलाई जिम्मेवारी दिइएको छ । राजश्वको बारेमा पुष्कर कुहिरोभित्रको कागको स्थितिमा छन् । अर्थमन्त्री शर्माले उपसचिव तहका कर्मचारीमात्र खटाउनु पर्ने एसियाली विकास बैंकको प्रतिनिधिमा अधिकृत भीमकान्त न्यौपानेलाई खटाएसँगै आलोचित भएका थिए । न्यौपाने अर्थमन्त्री शर्माको भाञ्जी ज्वाइ हुन् । अहिले अर्थमा रमेश, दिलिप, कृष्णबहादुर, सुवर्णप्रभा, ईश्वरी केसीलगायतका रुकुमका केसी परिवार हालेर आफ्नो सचिवालय भरेका छन् । यस्तै, अर्थ मन्त्रालयबाट सरुवा हुनेको हिटलिष्टमा धनीराम शर्मा, झक्क आचार्य, सुमन दाहाल, यमलाल भुषाल र श्याम भण्डारीहरूको सूची तयार भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *