कांग्रेसका युवा नेता गुट बदल्दै उम्मेदवारी घोषणा गर्दै

राजनीति

आगामी मंसिर ९ गतेबाट हुने तय भएको १४औँ महाधिवेशनको मिति नजिकिँदै जाँदा नेपाली कांग्रेसका नेताहरूका बीचमा गुट बदल्ने क्रम पनि बढेर गएको छ । आफ्नो लागि पदाधिकारी पद सुरक्षित गर्नका लागि अहिलेका चर्चित र युवा नेताहरूले समेत गुट बदल्ने कार्यलाई अगाडि बढाइराखेका छन् । १३औँ महाधिवेशनमा कृष्ण सिटौला गुटबाट महामन्त्रीमा उम्मेदवार भएर पराजित भएका चर्चित नेता गगन थापा अहिले गुट परिवर्तन गरेर महामन्त्रीमा नै निर्वाचित हुने कसरत गरी राखेका छन् ।
गगन थापाले सिटौला गुटलाई परित्याग गरेर संस्थापना इतर पक्षमा प्रवेश गरेका छन् । अहिले रामचन्द्र पौडेलको नेतृत्वमा रहेको संस्थापन इतर पक्षमा प्रवेश गरेलगत्तै थापाले महामन्त्रीमा उम्मेदवारी दिने घोषणा पनि सार्वजनिक गरिसकेका छन् । तर, अहिलेसम्म पौडेलको नेतृत्वमा रहेको संस्थापन इतर पक्षबाट सभापतिमा को उम्मेदवार हुन्छ भन्ने निश्चित भइसकेको छैन । संस्थापन इतर पक्षबाट शेरबहादुर देउवालाई चुनौती दिँदै सभापतिमा निर्वाचित हुनका लागि पौडेलका अतिरिक्त महामन्त्री डा.शशांक कोइराला, पूर्व महामन्त्री प्रकाशमान सिंह तथा केन्द्रीय सदस्य डा.शेखर कोइरालाले आफ्नो दौडधुपलाई तीव्र पारेका छन् । सभापतिको उम्मेदवार नै टुंगो लागि नसकेको स्थितिमा यही समूहबाट महामन्त्रीमा गगन थापाले उम्मेदवारी दिन गरेको घोषणालाई हतारमा गरेको निर्णयको रूपमा लिएको छ । यसैगरी १३औँ महाधिवेशनदेखि नै सभापति देउवासँग निकट रहेका र पार्टी प्रवक्ताको जिम्मेवारीसमेत पाएका विश्वप्रकाश शर्मा अहिले विमलेन्द्र निधि समूहबाट महामन्त्रीमा उम्मेदवारी दिने कसरत गरिराखेका छन् । केही समय अगाडिसम्म शर्मासँगै निधि पनि सभापति देउवाको अत्यन्तनिकट रहेर उनको सहयोगीको भूमिका निर्वाह गरेका थिए । देउवाले सभापति आफूलाई नछाड्ने देखेपछि निधि गुट बदल गरेर सभापतिमा उम्मेदवारी दिनका लागि सम्पर्क कार्यालयसमेत खोलेर निर्वाचनको तयारी गरिराखेका छन् । यसैगरी पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीका स्वर्गीय नेता बिपी कोइरालाको १०८औँ जन्मदिनको अवसर पारेर आफू महामन्त्रीमा उम्मेदवार हुने घोषणा गर्दै उनले सभापति देउवाको साथ छाडेर उपसभापति निधिसँग चुनावी सहकार्य गर्न पुगेका छन् । अहिले सहमहामन्त्रीको भूमिकामा रहेका प्रकाशशरण महतले भने अहिलेसम्म आफू उपसभापतिमा उठ्ने कि महामन्त्रीमा उठ्ने भन्ने सम्बन्धमा निर्णय गरी नसकेको बताइराखेका छन् । समाचार सूत्रका अनुसार महत सभापति देउवाकै प्यानलबाट आगामी महाधिवेशनमा उम्मेदवारी दिने पक्षमा छन् र सभापति देउवाले उपसभापति तथा महामन्त्रीमध्ये जुन पदमा उठ्न सुझाव दिन्छन् त्यही पदमा उठ्ने सोच सहमहान्त्री महतको रहेको छ । यसैगरी मन्त्रिपरिषद गठनको पहिलो चरणमा सभापति देउवाले कानुनमन्त्री बनाएका र यसैगरी देउवाले नै गृहमन्त्री बनाएका ज्ञानेन्द्रबहादुर कार्की र बालकुष्ण खाँडको लक्ष्य पनि आगामी महाधिवेशनबाट महामन्त्री हुने रहेको छ । तर, सभापति देउवाले कानुन र गृहमन्त्रालयको जिम्मेवारीको अवसर दिइसकेको हुनाले यी दुई नेतालाई फेरि दोहो¥याएर सभापति देउवाले महामन्त्रीको लागि आफ्नो प्यानलमा राख्ने सम्भावना अत्यन्त कम छ । यसैगरी सुजाता कोइरालाले पनि उपसभापतिको दाबी गरिराखेकी छन् । तर, सुजाता कोइरालालाई आगामी मन्त्रिपरिषदको विस्तारमा समावेश गरेर उनको व्यवस्थापन हुने बताइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *