निजामति कर्मचारी संगठनको दुवै पक्षका नेताहरु पक्राउ

प्रशासन

नेकपा एमाले निकटको नेपाल निजामति कर्मचारी संगठनको कार्यालयमा प्रहरीले हस्तक्षेप गरेको छ । सोमबार साँझ कर्मचारी संगठनका नेताहरू कार्यालयमै बसिरहेको समयमा प्रहरी प्रवेश गरी धरपकड गरेर सिंहदरबार प्रहरी वृत पुर्याएको छ ।

महानगरीय प्रहरी वृत सिंहदरबारमा रहेकी संगठनकी उपाध्यक्ष भवानी दाहालका अनुसार प्रहरीले विना कुनै कारण र विना सूचना पक्राउ गरी प्रहरी कार्यालयमा पुर्याएको हो । संगठनका अध्यक्ष केदार देवकोटा, वरिष्ठ उपाध्यक्ष लेखनाथ कोइरालासहित ६० भन्दा बढी कर्मचारीका नेताहरूलाइ प्रहरीले सिंहदरबार वृत पुर्याएको छ ।

अध्यक्ष केदार देवकोटासहितको संस्थापन पक्ष केन्द्रीय कार्यालयमा काम गरिरहेका बेला नेकपा एस निकट कर्मचारी नेताहरुको टोली आफूहरु आधिकारिक भएको भन्दै कार्यालय पुगेपछि विवाद भएको थियो ।सिंहदरवारको पश्चिम गेट अगाडि रहेको संगठनको कार्यालय भवनमा नाराबाजी र झडपको अवस्था भएपछि प्रहरी पुगेको हो । प्रहरीले दुवै पक्षका नेताहरुलाई पक्राउ गरेको छ ।

अध्यक्ष केदार देवकोटासहित संस्थापन पक्षका कर्मचारीलाई अनमानगरस्थित प्रहरी कार्यालयमा लगिएको छ भने नेकपा एस पक्षका अध्यक्ष रेवन्त गौतम, पूर्व अध्यक्ष मोहन घिमिरे, महासचिव शरण गुरुङ लगायतलाई महेन्द्र पुलिस क्लबमा लगिएको छ ।
उता पूर्व अध्यक्ष मोहन घिमिरेले भने आफूहरुलाई महेश बस्नेतका गुण्डा लगाएर कार्यालयमा प्रवेश गर्न नदिइएको र प्रहरीले पक्राउ गरेको बताए । उनले भोलि पनि कार्यालयमा जाने बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *