एमाले व्यक्तिपूजक हो ?

समाचार

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले असोज १५ देखि १७ गतेसम्म ललितपुरमा प्रथम विधान महाधिवेशन सम्पन्न गरेको छ । गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा एमालेका ६ हजारभन्दा धेरै कार्यकर्ताले तीनदिनसम्म बसेर शीर्ष नेताहरुद्वारा प्रस्तुत राजनीतिक, सांगठानिक र विधान संशोधनसम्बन्धी प्रस्तावमा छलफल गरे । महाधिवेशनमा अध्यक्ष ओली आफैंले राजनीतिक प्रस्ताव पेस गरेका थिए । भने महासचिव ईश्वर पोखरेलले सांगठानिक र उपमहासचिव विष्णु पौडेलले विधान संशोधनसम्बन्धी प्रस्ताव पेस गरेका थिए ।
एमालेले पहिलोपटक विधान महाधिवेशनको आयोजना गरेको हो । यसअघि यसरी छुट्टै विधान महाधिवेशन गर्ने चलन अन्य कुनै राजनीतिक दलमा समेत थिएन । नेतृत्व चयनसमेत गर्ने महाधिवेशनमा प्रतिनिधिहरुको ध्यान राजनीतिक र समसामयिक छलफलमा नजाने बरु नेतृत्व चयनका विषयमा मात्र केन्द्रित हुने भएकाले छुट्टै विधान महाधिवेशन आयोजना गरिएको एमालेले जनाएको छ । जे होस् एमालेले नेपालको राजनीतिमा विधान र नेतृत्व चयनको फरक–फरक महाधिवेशन गरेर नयाँ अभ्यास थालेको छ । यसको औचित्य र प्रभावकारिताका विषयमा भने आगामी दिनमा थप छलफल हुँदै जालान् ।
सरसर्ती रूपमा विधान र नेतृत्व चयनको छुट्टाछुट्टै महाधिवेशन गर्दा पार्टीको वैचारिक र राजनीतिक विषयमा संघन छलफल हुने कुराको औचित्य भने पुष्टि नै होला । किनभने यसअघि एमालेसहित अन्य दलको महाधिवेशन कसलाई नेतृत्वमा स्थापित गर्ने भन्नेमा नै बढी केन्द्रित भएको देखिन्थ्यो । महाधिवेशनको बन्दसत्र कर्मकाण्डीजस्ता देखिन्थे । बन्दसत्रमा राजनीतिक र सांगठानिक प्रतिवेदन प्रस्तुत भइरहँदा प्रतिनिधिहरु कसलाई हराउने र जिताउने भन्नेमा नै केन्द्रित भइरहेका हुन्थे । महाधिवेशनको चर्चासँगै अब नेतृत्वमा कसलाई स्थापित गराउने भन्ने प्रतिनिधिहरुबीच छलफल सुरु भइसकेको हुन्थ्यो । पार्टीको वैचारिक र राजनीतिक विषयवस्तुमा नेता तथा कार्यकर्ताहरुको खास चासो र चिन्ता देखिदैनथ्यो । त्यसका आधारमा हेर्ने हो भने छुट्टै विधान महाधिवेशन एउटा फरक प्रयोग हो । एमालेले थालेको यो फरक अभ्यासलाई आगामी दिनमा अन्य दलले प्रयोगमा नल्याउलान् भन्न सकिन्न ।
एमाले नेपालको राजनीतिमा विभिन्न प्रयोग गर्दै आइरहेको छ । विश्वभर कम्युनिस्ट पार्टी महासचिव पद्धतिमा सञ्चालन भइरहेका छन् । शक्तिशाली महासचिवले नै पार्टीलाई नेतृत्व गर्ने लेनिनवादी संगठन भएको कम्युनिस्ट पार्टी भए पनि एमालेले फरक अभ्यास थाल्यो । प्रजातन्त्र पुनस्र्थापनापछि तल्कालीन वाम मोर्चामा रहेका नेकपा माले र नेकपा एकता केन्द्रबीच एकीकरण भएपछि बनेको नेकपा एमालेको अध्यक्ष मनमोहन अधिकारी बने । यो जिम्मेवारी कम्युनिस्ट पार्टीमा नौलो प्रयोग थियो । यद्यपि उक्त पद सेरेमानियल थियो । वयोवृद्ध नेता अधिकारीलाई एकताका बेला सम्मानजक व्यवस्थापन गर्नका लागि सिर्जना गरिएको पदमात्र थियो । बरु तत्कालीन महासचिव मदन भण्डारी नै शक्तिशाली महासचिव बने । उनी पार्टीका कार्यकारी प्रमुख थिए । उनले प्रतिपादन गरेको ‘जनताको बहुदलीय जनवाद’ आजपर्यन्त एमालेको मार्गदर्शक सिद्धान्त हो ।
तत्कालीन नेताहरु अधिकारी र भण्डारीको मृत्युपछि एमालेले महासचिव पद्धति मै पार्टीलाई सञ्चालन ग¥यो । भण्डारीको निधनपछि पार्टीको कार्यकारी प्रमुखको हैसियतमा माधवकुमार नेपालले लामोसमय नेतृत्व गरे । तर, एमालले आठौं महाधिवेशनबाट बहुपदीय प्रणालीमा नेतृत्व विकास ग¥यो । पार्टीलाई बहुपदीय प्रणालीमा लैजान प्रस्तावकर्ता अध्यक्ष ओली नै हुन् । एमालेले पार्टीलाई वरिष्ठ नेतासहित बहुपदीय प्रणालीमा लगेपछि हाल नेपालमा क्रियाशील अधिकांश राजनीतिक दलहरुले बहुपदीय प्रणालीमा अंगालेका छन् । त्यसका आधारमा एमालेको छुट्टै महाधिवेशन गर्ने प्रयोग अन्य दलका लागि पनि अणुकरणीय हुनसक्छ ।
एमालेको विधान महाधिवेशनले १६ बुँदे समसामयिक प्रस्ताव पारित गरेको छ । प्रस्तावमा मुख्यतः एमालेले विधान महाधिवेशनमार्फत अनेकौं प्रतिकूलताका बीचमा पनि करिब साढे तीन वर्ष सरकारको नेतृत्व गरेर राजनीतिक द्वन्द्वहरुलाई अन्त्य गर्ने, संविधान र संघीयता कार्यान्वयन गर्ने, राष्ट्रियतालाई सुदृढ र राष्ट्रिय स्वाभिमानलाई उचो पार्ने, रणनीतिक महत्वका पूर्वाधारलगायत विकास निर्माणलाई तीव्रता दिने र सामाजिक न्यायलाई सुनिश्चित गर्ने जस्ता महत्वपूर्ण भूमिका निर्वाह गरेकोमा केपी शर्मा ओलीको नेतृत्वको पूर्ववर्ती सरकारलाई हार्दिक धन्यवाद ज्ञापन गर्दै अदालतको परमादेशद्वारा सरकारबाट बाहिरिनु परे पनि जनादेशका माध्यमबाट पुनः राज्यको नेतृत्वमा पुनरागमन गर्दै समृद्धि र रुपान्तरणको अभियानलाई निरन्तरता दिने संकल्प गरेको छ ।
त्यस्तै, एमालेलाई विभाजन गरी छाड्ने दूषित मनशायका साथ ल्याइएको अध्यादेश, संविधानको अपव्याख्या र संवैधानिक अङ्गहरुका कतिपय मर्यादाबाहिरका काम र निर्णयका समेतका आधारमा नेकपा (एमाले) लाई विभाजन गराइएको घटनाप्रति क्षोभ प्रकट गर्दै भ्रमवस विभाजनको पक्षमा लागेका पार्टी कार्यकर्ताहरुलाई पुनः पार्टीमा फर्केर नेकपा (एमाले) लाई सुदृढ गर्ने र एकताबद्ध एमालेका नेतृत्वमा समृद्ध नेपाल, सुखी नेपालीको अभियानलाई सफल पार्ने अभियानमा योगदान दिन अपिल गरेको छ ।
विधान महाधिवेशनले आसन्न स्थानीय तह निर्वाचनको तयारीमा लाग्न, आफ्ना पालिकाहरुमा पार्टीको विजय सुनिश्चित गर्न र यसका लागि आवश्यक संगठनात्मक व्यवस्थापनलाई तत्काल तीव्रता दिन सबै कमिटीलाई आह्वान पनि गरेको छ ।
शक्ति प्रदर्शनको अवसर
वर्तमान सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गरेपछि एमाले औपचारिक रुपमा विभाजित भएको छ । तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपालको नेतृत्वमा नेकपा एकीकृत समाजवादी गठन गरिएको छ । सरकारले एमाले विभाजनलाई सहज बनाउनकै लागि महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको २० वा संसदीय दलका २० प्रतिशत सांसदले पार्टी विभाजन गर्नसक्ने खुकुलो प्रावधान राखिएको थियो । सोहीअनुसार एमालेका नवौँ महाधिवेशनबाट निर्वाचित २०१ मध्ये ५५ केन्द्रीय सदस्यले पार्टी विभाजन गरेका छन् । यद्यपि नेपालसँगै रहेका अधिकांश प्रभावशाली नेताहरु संस्थापन पक्षमै रहेका छन् ।
एमालेको विधिवत विभाजनपछि भएको यो पार्टीको पहिलो भेला हो । अन्य विभिन्न आमसभा वा कार्यकर्ता भेला भएपनि आन्तरिक पार्टी जीवनका बारेमा छलफल गर्ने पहिलो कार्यक्रमलाई एमालेले शक्ति प्रदर्शनकै रुपमा लिएको देखियो । मूलतः विधान महाधिवेशनमा देशभरबाट ६ हजारभन्दा धेरै प्रतिनिधि बटुल्दा र व्यवस्थापनमा खटिने कार्यकर्तासहित हेर्दा एउटा ‘कुम्भ मेला’जस्तै देखिएको थियो । जसले कार्यकर्तामा पनि आसाको सञ्चार भएको छ । खासगरी एमालेले विधान महाधिवेशनलाई फुटले खास फरक नपरेको रुपमा प्रस्तुत गर्न खोजेको थियो । त्यसमा केहीहदसम्म सफल देखिएको छ भने, सत्तारुढ गठबन्धनले आफूविरुद्ध गरिरहेको घेराबन्दीलाई पनि गतिलो जवाफ दिन चाहने एमालेको उद्धेश्य केहीहदसम्म पूरा भएको मान्न सकिन्छ । किनभने हालसम्म अन्य कुनै पनि राजनीतिक दलले यति धेरै नेताहरुको उपस्थितिमा यति व्यवस्थित कार्यक्रम गर्न सकेको देखिँदैन ।
विपक्षीमाथि प्रहार गर्ने अवसर
एमाले अध्यक्ष ओलीले वर्तमान संसदलाई दुई पटकसम्म विघटन गरेपछि नेपालको राजनीतिमा नयाँ धु्रविकरण सुरु भएको थियो । यो धु्रविकरण एमाले एकातर्फ र बाँकी पार्टी अर्कोतर्फ जस्तो देखिदैछ । हाल सत्तामा रहेका पाँच दलले यो गठबन्धनलाई कसमेकम आगामी निर्वाचनसम्म कायम राख्ने अभिव्यक्ति दिइरहँदा यो गठबन्धनलाई तोड्नु एमालेको पहिलो कामजस्तै देखिएको थियो । यो गठबन्धन आगामी निर्वाचनसम्मै कायम रहेको अवस्थामा आगामी निर्वाचनमा एमालेको अवस्था सोचेभन्दा नाजुक हुने कुराको सहजै अनुमान गर्न सकिन्छ । त्यसैले एमाले गठबन्धनमा अविश्वास पैदा गरेर यसलाई भत्काउन चाहन्छ र नयाँ प्रकारको समीकरण बनाउन चाहन्छ । नयाँ समीकरण नबन्दा पनि कमसेकम सबै दल एकल निर्वाचनमा जाँदा लाभ लिनसकिने प्रति एमाले जानकार छ । त्यसैले एमालेले यो महाधिवेशनलाई विपक्षी दलप्रति प्रहार र गठबन्धनमा अश्विास उत्पन्न गराउने अवसरका रुपमा लिएको छ ।
सोही रणनीति अनुसार अध्यक्ष ओलीले विपक्षी नेताहरुप्रति तिखो कटाक्ष गरेका छन् । मूलतः उनी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एसका अध्यक्ष माधवकुमार नेपालप्रति बढी आक्रोशित देखिए । उनले दाहाल नेपाललाई ‘अवसरवादी, बेइमान र धोकेबाज’का रुपमा चित्रण गरे ।
महाधिवेशनका अमिल्दा दृश्य ः
उमेर हदको नयाँ व्याख्या
नेकपा एमालेले अघिल्लो महाधिवेशनबाटै पार्टीमा उमेर हद कायम गरेको थियो । अर्थात ७० वर्षपछि पार्टीको सक्रिय राजनीतिबाट विदा लिनुपर्ने प्रावधान पारित गरिएको थियो । सोहीअनुसार अघिल्लो महाधिवेशनमा भरतमोहन अधिकारी, सिद्धीलाल सिंहलगायतका नेताहरु पार्टीमा उम्मेदवार बन्नबाट बन्चित भएका थिए । तर, यो पटकको महाधिवेशनले उमेरहदको नयाँ व्याख्या गरेको छ । जसलाई ओली अनुकूल व्याख्या पनि भनिएको छ ।
विधानतः पार्टीमा ७० बर्षको उमेर हदका सम्बन्धमा स्पष्ट पार्दै एमालेले पार्टीको कार्यकारी पदमा ७० बर्ष पूरा नभएसम्म उम्मेदवार हुन पाउने र कार्यकाल पूरा नहुँदै उमेर हद पूरा भएका कारण जिम्मेवारीबाट हट्न नपर्ने स्पष्ट पारेको छ । सोही अनुसार आगामी मंसिरको महाधिवशेनबाट ओली फेरि अध्यक्ष हुने र उनले पूरा कार्यकाल पार्टी सञ्चालन गर्ने स्पष्ट मार्गचित्र तयार पारिएको छ ।
यो विधानले एउटै व्यक्ति कुनै एउटा पदमा दुई कार्यकालभन्दा बढी पटक उम्मेदबार हुन नपाइने स्पष्ट व्यवस्था पनि गरेको छ ।
ओलीको देवत्वकरण
तत्कालीन नेकपाबाटै सुरु भएको अन्तरसंघर्षका समयमा आफूपक्षका नेता कार्यकर्ताले अध्यक्ष ओलीलाई सर्वाधिक महत्व दिन थालेका थिए । समर्थकहरुले ओलीलाई ‘बा’ भन्ने गरेको विषयमा अर्का नेता माधवकुमार नेपालले नराम्रोसँग चित्त दुखाएका थिए । त्यही समयदेखि सुरु भएको ओलीको देवत्करणको शृंखला यो महाधिवेशनमा पनि देखियो । महाधिवेशनस्थलमा ओलीको प्रतिमा राख्ने क्रम केही पहिलेदेखि नै सुरु भएको थियो । सोही क्रम यसमा पनि जारी रह्यो, अधिकांश नेता कार्यकर्ताले ओलीको प्रतिमासँग फोटो खिचाए ।
यो पटक उनको देवत्वकरण यतिमा मात्र सकिएन । महाधिवेशन हलमा वितरण गरिएको पानीको वोतलमा समेत ओलीको तस्विर छापिएको थियो । भलै, ओली स्वयंले भने सम्बोधनका क्रममा कम्युनस्टि पार्टी र एमाले व्यक्ति पूजक नभएको प्रष्टिकरण दिँदै आदर्श, सिद्धान्त, नीति, विधि, पद्दति र राजनीतिक कार्यक्रमका आधारमा संगठित हुनुपर्ने निर्देशन दिए । यो महाधिवेशनपछि एमालेका नेता कार्यकर्ता ओली पूजक हुन कि होइनन् भन्ने बहसलाई थप सतहमा ल्याइदिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *