हरुवा कांग्रेसी नेताहरुको आमनिर्वाचनमा जोड

राजनीति

काठमाडौं । नेपाली कांग्रेसमा चाँडो आमनिर्वाचन गर्न प्रधानमन्त्री शेरबहादुर देउवामाथि दवाव बढ्न थालेको छ । खास गरेर सम्पन्न आमनिर्वाचनमा दुई ठूला कम्युनिस्ट पार्टीको गठबन्धनको कारण पराजय भोगेका पार्टीका वरिष्ठ नेताहरुले नेपाली कांग्रेसका लागि अहिलेको समय अपूर्व अवसर रहेको भन्दै यथासिघ्र आम निर्वाचन गर्न प्रधानमन्त्री देउवामाथि दवाव बढाउन थालेका छन् । सम्पन्न आम निर्वाचनमा नेपाली कांग्रेसका वरिष्ठ हस्तीहरु रामचन्द्र पौडेल, अर्जुन नरसिंह केसी, रामशरण महत, शेखर कोइराला, कृष्ण सिटौला, गोपाल मान श्रेष्ठहरु पराजित हुनुको एउटा प्रमुख कारण दुई ठूला कम्युनिस्ट पार्टी नेकपा एमाले र माओवादी केन्द्रको गठबन्धन भएको निष्कर्ष निकाल्दै अहिले सम्पन्न आम निर्वाचनबाट सबभन्दा ठूलो दलको हैसियत बनाएको नेकपा एमाले विभाजित भएको र नेकपा एमाले र माओवादी केन्द्रका बीचमा शत्रुतापूर्ण सम्बन्ध रहेको उल्लेख गर्दै यो स्थितिको फाइदा नेपाली कांग्रेसले उठाउनु पर्छ भन्दै चाँडो आम निर्वाचनमा जानु पर्ने मत अहिले कांग्रेसमा बढ्न थालेको छ । खास गरेर काठमाडौं स्थित हु याङछीले सार्वजनिका रुपमा नै नेपालका दुई ठूला कम्युनिस्ट पार्टी नेकपा एमाले र माओवादी केन्द्र मिल्नु पर्ने विचार व्यक्त गरेपछि नेपाली कांग्रेसमा चाँडो आम निर्वाचनमा जानु पर्ने मत बढ्न थालेको छ ।


समयतालिका र निर्वाचन सम्बन्धी कानुन अनुसार आउँदो फागुन महिना भित्रमा स्थानीय निर्वाचन सम्पन्न भई सक्नु पर्ने छ । र, त्यसपछि आगामी मंसीर महिनासम्ममा प्रदेश हुँदै आम निर्वाचन समेत सम्पन्न हुनु पर्दछ । तर नेपाली कांग्रेसका कतिपय नेताहरु भने आगामी वैशाखमा नै आम निर्वाचन सम्पन्न गरेर त्यसपछि स्थानीय र प्रदेश निर्वाचन गर्नु पर्ने पक्षमा छन् । प्रधानमन्त्री तथा कांगे्रस सभापति शेरबहादुर देउवा समेत छिटो आम निर्वाचन गर्न सकारात्मक छन् भनिन्छ । र, आगामी मंसीर ९ गतेबाट हुने १४औँ महाधिवेशनबाट दोहो¥याएर पार्टी नेतृत्वमा आए आगामी वैशाखमा आम निर्वाचन गर्ने तिर प्रधानमन्त्री देउवा जान सक्ने बताइन्छ । स्मरण रहोस् प्रमुख प्रतिपक्ष नेकपा एमालेपनि छिटो छिटो आम निर्वाचनको पक्षमा रहेको छ । तर सत्तारुढ गठबन्धनका दुई कम्युनिस्ट पार्टी नेकपा माओवादी र नेकपा समाजवादी भने पार्टी संगठन विस्तारलाई ध्यानमा राखेर आम निर्वाचनलाई सकेसम्म पछि धकेल्ने पक्षमा छन् । यो मामिलामा प्रधानमन्त्री देउवा र गठबन्धनका अन्य दलका बीचमा सहमति बन्न नसके अर्को स्थिति आउने र प्रधानमन्त्री देउवा आम निर्वाचनतिर अगाडि बढ्ने सम्भावना रहेको पनि बताइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *