कांग्रेसको महाधिवेशन अब स्थानीय निर्वाचनपछि की पुसपछि ?

राजनीति

नेपाली कांग्रेसको १४औँ महाधिवेशनको लागि तय भएको मिति आउन अब एक महिना पनि समय बाँकी छैन । यस हिसाबले नेपाली कांग्रेसको १४औँ महाधिवेशनको मितिको उल्टो गन्ती सुरु भई सकेको छ । तर, अन्तिमपटक पार्टीको १४औँ महाधिवेशन आगामी ९ गतेबाट तय भएको भए पनि कांग्रेसका सभापति शेरबहादुर देउवासँगै संस्थापनइतर पक्षका शीर्ष नेता रामचन्द्र पौडेलसमेत महाधिवेशनलाई अरु डेढ÷दुई महिना पछाडि सार्ने कसरतमा पुगेका छन् । कतिपय जिल्लाको अधिवेशन सम्पन्न भई नसकेको तथा क्रियाशील सदस्यता सम्बन्धी विवाद पनि समाधान भई नसकेको कारणलाई अगाडि सार्दै १४औँ महाधिवेशनलाई एकपटक फेरि पछाडि सार्ने कसरत कांग्रेस नेतृत्वमा हुन थालेको हो ।
तर, यथार्थमा भने आफू दोहो¥याएर सभापतिमा निर्वाचित हुने सुनिश्चित नभएसम्म प्रधानमन्त्री देउवा पार्टीको १४औँ महाधिवेशन गर्ने पक्षमा छैनन् । यसैगरी रामचन्द्र पौडेल पनि संस्थापना इतर पक्षले सहमतिबाट सभापतिको उम्मेदवारमा आफूलाई अगाडि नसारेसम्म महाधिवेशनलाई पछाडि धकेल्ने पक्षमा छन् । यही कारणले गर्दा नै सभापति देउवा र संस्थापनइतर पक्षका नेता रामचन्द्र पौडेलको स्वार्थ मिलेको कारण कांगे्रसको १४औँ महाधिवेशन आगामी पुसको अन्त्य वा माघको सुरुसम्मका लागि सार्ने कसरत भई राखेको छ । यसैबीचमा निर्वाचन आयोगले स्थानीय निर्वाचन आगामी चैत ५ गते गर्न सरकारलाई सुझाव गरेपछि कांग्रेसको संस्थापन पक्षका नेता देउवा र इतर पक्षका नेता पौडेल अब पार्टीको महाधिवेशन स्थानीय निर्वाचनपछि मात्र गर्नुपर्छ भनेर अगाडि आउने स्थिति बनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *