आँखा र कान खुलै राखौँ ः दाहाल

राजनीति

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ गठबन्धनलाई तोड्ने षड्यन्त्र भइरहेको बताउँदै अझै पनि आँखा र कान खुल्लै राख्नुपर्ने बताएका छन् । सोमबार राजधानीमा नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती केन्द्रीय समितिले चाडपर्वहरूको उपलक्ष्यमा शुभकामना आदानप्रदान तथा संगठनको मुखपत्र ‘पराग’ पुस्तकको पाँचौ विशेषांक विमोचन कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले वर्तमान सत्तारुढ गठबन्धन तोड्नका लागि अनेकौँ षडयन्त्रहरू भइरहेको बताएका हुन् ।
तीनै तहको निर्वाचन एकै चोटी गर्दा राज्यलाई कम भार पर्ने र जनतालाई दुःख पनि कम हुने विषयमा छलफल भएको उनको भनाइ छ । अध्यक्ष प्रचण्डले तीनै तहको निर्वाचन एकैपटक गर्न सकिन्छ कि भनेर छलफल चलिरहेको पनि बताए । तिनै तहको चुनाव एकैपटक गर्न सके चलखेल र षड्यन्त्र हुन नपाउने भन्दै उनले राज्यलाई आर्थिक बोझ पनि कम हुने बताए । उनले भने, ‘सकियो भने सबभन्दा राम्रो राज्यलाई कम भार पर्ने, जनतालाई कम दुःख हुने भनेको तीनै तहको निर्वाचन एकैचोटी गर्ने । प्रदेशअनुसार चरण–चरण गरेर तीन चरण गर्ने । गन्ने काउन्टिङ चाहिँ एकैचोटी गर्ने ग¥यो भने त्यो धेरै चलखेल, षड्यन्त्र पनि हुन नपाउने, धेरै आर्थिक बोझ पनि राज्यको कम हुने, राजनीतिक दलहरूलाई पनि सजिलो हुने हो कि भन्ने एउटा विचार छ । अर्को, तीनवटैको गर्दा प्राविधिक गाह्रो पर्छ कि भन्ने तर्क छ र पहिला संघको निर्वाचन गर्ने अनि त्यसपछि स्थानीय तहको गर्ने कि भन्ने विचार पनि छ । यी दुईवटा विचारको बीचमा छलफल चलिराखेको छ ।’
यससँगै निर्वाचनमा षड्यन्त्र र चलखेल पनि कम हुनेलगायत आर्थिक बोझ कम भई राजनीतिक दलहरूलाई पनि सहज हुने विषयमा छलफल भइरहेको उनले बताए । यस विषयमा ‘यहाहरूले पनि सुझाव प्रदान दिनुभयो भने राम्रै हुनेछ,’ अध्यक्ष प्रचण्डले बताए । देशमा उपलब्ध संघीय गणतान्त्रिक व्यवस्थालाई सुदृढ गर्न धेरै चुनौतीहरू आइपरेको बताउँदै उनले आगामी दिनमा ऐन निर्माण गर्दै थाती रहेका कामहरु अगाडि बढाउनुपर्ने बताए । यस विषयमा कर्मचारीतन्त्रभित्र पनि विभिन्न समस्या देखिएको र पार्टीलाई सखापै पार्नुपर्ने प्रवृत्ति पनि हाबी भएको उनको भनाइ छ । तर, ९० प्रतिशतभन्दा बढी अत्याधिक कर्मचारी पनि परिवर्तन र प्रगतिको पक्षमा रहेको धारणा उनले व्यक्त गरे ।
यसैगरी, कार्यक्रममा विमोचित पुस्तक ‘पराग’ ले राजनीतिक दलहरूलाई चुनौती सामना गर्न मद्दत पु¥याउने विश्वास उनले पोखे । वैदेशिक शक्तिहरू गठबन्धन कमजोर पार्ने उपायको खोजीमा लागिरहेको पनि उनले दाबी गरे । उनले भने, ‘षड्यन्त्र सकियो, अब हामी पूरै विजयी भइसक्यौँ भन्न सक्ने स्थिति अझैं पनि छैन । यो गठबन्धन तोड्नको लागि अनेक षड्यन्त्र र हतकन्डाहरू अपनाइराखिएकै छ । फेरि पनि प्रतिक्रियावादी गठबन्धन बनाउने कसरत चलिराखेकै छ । गठबन्धनभित्र अलि–अलि कमजोर को छ वैचारिक, राजनीतिक रूपले । या अन्य राजनीतिक स्वार्थको हिसाबले त्यसको खोजी भई नै राख्या छ । यहाँभित्र अर्को त्यस्तो निरंकुश प्रवृत्तिको कोही मान्छे भेटिन्छ कि र त्यसलाई प्रयोग गर्न सकिन्छ कि भन्ने कसरत भई नै राख्या छ । त्यस कारण कर्मचारी साथीहरू तपार्इं हामी सबैले अहिले पनि आँखा खुल्लै राख्नुपर्ने, कान खुल्लै राख्नुपर्ने, कहाँ कति बेला कसले के गर्छ भन्ने कुरालाई हेक्का राख्नैपर्ने स्थिति छ ।’
(सोमबार नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीले दसैँ, तिहार, छठ तथा नेपाल संवत् ११४२ को अवसरमा आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा अध्यक्ष प्रचण्डले बोलेका अंश)

Leave a Reply

Your email address will not be published. Required fields are marked *