शशांक र शेखरको सहमति किन भाँडियो अन्तिम समयमा ?

राजनीति

काठमाडौं । प्रमुख प्रतिपक्ष नेकपा एमालेको १०औँँ महाधिवेशन सम्पन्न भएको १२ दिनपछि सरकारको नेतृत्व गरी राखेको नेपाली कांग्रेसको १४औँँ महाधिवेशन यही मंसिर २४ गतेबाट हुन गई राखेको छ । सरकारको नेतृत्व गरी राखेको नेपाली कांग्रेसको यो महाधिवेशनमा सबभन्दा बढी उत्सुकताको पक्ष भनेको यो महाधिवेशनले नेपाली कांग्रेसको नेतृत्वमा कसलाई ल्याउँछ भन्ने रहेको छ । र, पार्टीले नै यो महाधिवेशनलाई नेतृत्व चयनमा मात्र सीमित राखेकाले पार्टीको भावी कार्यदिशा र नीतिमाथि छलफल गरेर निर्णय गर्नका लागि भने अर्को विधान महाधिवेशन बोलाउने निर्णयसमेत भएको छ ।
सभापति भएर पार्टीलाई चार वर्षसम्म नेतृत्व दिनका लागि बहालवाला सभापति शेरबहादुर देउवासँगै महामन्त्री शशांक कोइराला, पूर्व महामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्य शेखर कोइराला यसैगरी उपसभापति विमलेन्द्र निधि र रामचन्द्र पौडेल प्रमुख दाबेदार देखिएका छन् । तर, महाधिवेशनको मिति नजिकिँदै जाँदा अहिले सभापतिको चुनावमा मैदानमा उत्रिएका नेताहरू छाटिने सम्भावना पनि त्यति नै बलियो छ । कोइराला परिवारबाट दुई जना उम्मेदवार हुँदा त्यसको फाइदा शेरबहादुर देउवालाई पुग्ने निष्कर्ष निकाल्दै गत साताको मंगलबार साँझ महामन्त्री शशांक र केन्द्रीय सदस्य शेखर कोइरालाबीचमा भएको लामो छलफलपछि यो पटक सभापतिमा शेखर कोइरालालाई उठाउने सहमति भएको थियो । र, यो सहमतिअनुसार गत साताको बुधबार बिहान पत्रकार सम्मेलन गरेर शेखर कोइरालालाई उम्मेदवार घोषणा गर्ने र शेखरको उम्मेदवारीलाई शशांक र सुजाता कोइरालाले समर्थन गर्ने कार्यक्रमसमेत तय भएको थियो । यो सहमतिअनुसार पत्रकार सम्मेलन गरेर शेखर कोइरालालाई औँपचारिक रूपमा सभापतिको उम्मेदवार घोषणा गर्न भनेर महामन्त्री शशांक कोइराला बसुन्धरास्थित शेखर कोइरालाको निवासमा पुगेका थिए र उनी शशांक निवास पुगेपछि पत्रकारसँगै सुजाता कोइरालालाई बोलाउने काम भएको थियो । तर, यही बीचमा आकस्मिकरूपमा प्रधानमन्त्री देउवाले बोलाएको भन्दै महामन्त्री शशांक कोइराला बाहिरिएर एकैचोटी संखुवासभा कांग्रेसका सभापति दीपक खड्कासँग हेलिकप्टरमा संखुवासभा पुगेको समाचार आएपछि शेखर कोइरालालाई शशांक र सुजाताको समर्थनमा सभापतिमा उठाउने सहमति भाँडिन पुगेको छ । पत्रकार सम्मेलन गरेर शेखरलाई उम्मेदवार घोषणा गर्ने अन्तिम समयमा त्यो सहमति किन भाँडियो भन्ने प्रश्नले अहिलेसम्म जवाफ पाएको छैन । र, शशांक कोइरालाले पनि यस सम्बन्धमा केही नबोली सभापतिमा हुने आफ्नो उम्मेदवारीको तयारी गरी राखेका छन् । तथापि, कांग्रेसको नेतृत्व कोइराला परिवारमा नै फिर्ता ल्याउनका लागि शशांकले शेखर कोइरालालाई समर्थन गर्ने सम्भावना भने टरिसकेको छैन ।
उता १३औँं महाधिवेशनमा सभापतिमा पराजित भएदेखि नै रामचन्द्र पौडेलले संस्थापना इतरपक्षको नेतृत्व गर्दै आएका थिए । र, यो साढे पाँच वर्ष रामचन्द्र पौडेलले शेरबहादुर देउवालाई विस्थापित गरेर सभपातिमा निर्वाचित हुने योजनामा नै बिताउने गरेका थिए । तर, १४औँं महाधिवेशनको मिति नजिकिँदै जाँदा नेपाली कांग्रेसको संस्थापना इतरपक्षको एक्लो उम्मेदवार हुने रामचन्द्र पौडेलको सम्भावना समाप्त हुन थालेको छ । यही कारणले गर्दा रामचन्द्र पौडेलले महाधिवेशन नभएसम्म एक वर्षका लागि आफूलाई सभापति बनाउनु पर्ने प्रस्ताव अगाडि सार्न थालेका छन् ।
प्रधानमन्त्री देउवाले सरकारको काम कारबाहीको अनुगमन गर्न भनेर सत्तारुढ दलहरूका दुई÷दुई जना प्रतिनिधि राखेर संयन्त्र गठन गर्दै उक्त संयन्त्रको संयोजक पौडेललाई बनाएपछि संस्थापना इतरपक्षबाट सभापतिको उम्मेदवार हुने सम्भावना रामचन्द्र पौडेलको लगभग समाप्त भएको छ । यसैगरी महामन्त्रीमा गगन थापा, विश्वप्रकाश शर्मा, मिनेन्द्र रिजाल अहिले चर्चामा छन् भने उपसभापतिको उम्मेदवारमा विजय गच्छदार, नारायणबहादुर खड्का, गोपालमान श्रेष्ठ चर्चामा रहेका छन् । तर, अहिलेसम्म कुनै पनि बलिया उम्मेदवारले आफ्नो प्यानल भने बनाई सकेका छैनन् । सहायक महामन्त्री प्रकाशशरण महत, शेरबहादुर देउवाको प्यानलबाट महामन्त्रीमा उम्मेदवारी दिने पक्षमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *