निर्वाचनको विवादले पनि रोक्न सकेन सहमतिको निर्णयलाई

समाचार

नेकपा एमालेले आफ्नो १०औँ महाधिवेशन हिजो बिहान सम्पन्न गरेको छ । तीन दिनमा सम्पन्न गर्ने गरी गत मंसिर १० गतेबाट सुरु भएको महाधिवेशन पदाधिकारी तथा सदस्य चयनको मामिलामा विवाद भएर मतदान प्रक्रियामा जानु परेपछि यो महाधिवेशन लम्बिएर पाँच दिन पुगेको थियो । चितवनको भरतपुरमा आयोजना भएको यो महाधिवेशनबाट दोस्रो कार्यकालका लागि ठूलो अन्तरसहित केपी ओली अध्यक्षमा निर्वाचित भएका छन् । यसैगरी अध्यक्षमा उम्मेदवारी दिएर केपी ओलीसँग प्रतिश्पर्धा गर्ने भीम रावलको इच्छा पनि पूरा भएको छ । भीम रावलले उम्मेदवारी दिने हठ राखेकै कारणले गर्दा पदाधिकारीदेखि सबै सदस्यको चयन सहमतिबाट गर्ने नेकपा एमालेको अनौपचारिक निर्णय पनि सफल हुन सकेन । भीम रावलले अध्यक्षमा केपी ओलीसँग प्रतिष्पर्धा गर्ने भएपछि घनश्याम भुसालले पनि उपाध्यक्षमा उम्मेदवारी दिन पुगेका थिए । यसैगरी आफूलाई सदस्यमा मात्र सीमित राखेको भन्दै लालबाबु पण्डितले असन्तुष्टि व्यक्त गर्दै पार्टीको केन्द्रीय सदस्यमा नबस्ने घोषणासमेत गरेका छन् । केपी ओलीनिकट रहेका महेश बस्नेत र गोकुल बास्कोटाको सचिव हुने इच्छा पनि पूरा हुन सकेन ।
१०औँ महाधिवेशनबाट ठूलो मत अन्तरबाट केपी ओली दोहो¥याएर पार्टी अध्यक्षमा निर्वाचित भएका छन् । अब ओली नेतृत्वको नयाँ टोलीले नेकपा एमालेलाई विभिन्न तहको निर्वाचनको सफलतापूर्वक सामना गरेर पहिलो स्थानमा पु¥याउनु पर्ने चुनौती रहेको छ । सरकारमा रहेका दुई कम्युनिस्ट दल माओवादी केन्द्र र नेकपा समाजवादीले नेकपा एमालेलाई अब हुने निर्वाचनहरूमा राजनीतिक रूपले क्षति पु¥याउन र त्यसको फाइदा उठाउनका लागि सत्तारुढ गठबन्धन मिलेर र नेकपा एमालेलाई एक्ल्याएर चुनावमा उत्रने योजना बनाई राखेका छन् । दुई कम्युनिस्ट पार्टीले आफूलाई एक्ल्याउने गरी यस्तो योजना बनाई रहँदा भरतपुरमा सम्पन्न भएको १०औँ महाधिवेशनमा नेकपा एमालेले पुनः आफू सबभन्दा ठूलो दल हुने उद्घोष गरेको छ । स्थानीय निर्वाचन आउन लगभग तीन महिना मात्र बाँकी हुँदा र यसैगरी आम निर्वाचन आउन बढीमा एक वर्ष बाँकी हुँदा नेकपा एमालेले यो उद्घोष गरेको हो । स्थानीय र आम निर्वाचनसँगै एमाले लगायतका सबै राजनीतिक दलले राष्ट्रियसभामा रिक्त रहेको १९ स्थानमा हुने निर्वाचनको र यसैगरी प्रतिनिधिसभामा रिक्त रहेको चार स्थान र प्रदेशसभामा रिक्त रहेको १८ स्थानका लागि हुने उपनिर्वाचनको समेत सामना गर्नु पर्दछ । नेपाली कांग्रेसको नेतृत्वमा सरकारमा रहेका राजनीतिक दलहरूले अब हुने सबै तहका निर्वाचनमा आफूलाई एक्ल्याउने रणनीति बनाई रहँदा नेकपा एमालेले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र उनकी छोरी रेणु दाहालको गृह जिल्ला चितवनमा महाधिवेशन गरेर दाहालको राजनीतिमा क्षति पु¥याउने रणनीतिसमेत बनाएको थियो । यही कारणले गर्दा नेकपा एमालेले आफ्नो १०औँ महाधिवेशन भरतपुरमा गर्ने तयारी गरी रहँदा माओवादी केन्द्र अध्यक्ष दाहालले पनि आफ्ना सबै राजनीतिक गतिविधि चितवनमा नै केन्द्रित गरेका थिए ।
नेकपा एमालेले पार्टी विभाजित भएपछि र सरकारबाट बाहिरिएपछि गरेको यो महाधिवेशनको स्पष्ट सन्देश आफ्ना कार्यकर्तामा उत्साहको नयाँ लहर ल्याउनुसँगै सर्वसाधारण जनताको समर्थन र ध्यान आफूतिर आकर्षित गर्नु रहेको थियो । किनभने यो महाधिवेशनबाट केपी ओली दोहो¥याएर अध्यक्ष हुने टुंगो पहिले नै लागिसकेको थियो । त्यस कारण नेतृत्वको मामिलामा यो अधिवेशन सफल भयो कि असफल भयो भन्ने समीक्षा गर्नुको खास अर्थ रहँदैन । तर, चितवनको भरतपुरमा नेकपा एमालेले ठूलो संख्यामा सर्वसाधारण जनतालाई समेत सहभागी गराएर १०औँ महाधिवशनको उद्घाटन गर्नु र महाधिवेशन सम्पन्न गर्नुको राजनीतिक अर्थ भने रहन्छ । यही कारणले गर्दा नै नेकपा एमालेको यो महाधिवेशनप्रति माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा समाजवादीका अध्यक्ष माधव नेपालले सार्वजनिक कार्यक्रमहरूमा नै कडा टिप्पणी गर्ने गरेका थिए । यो महाधिवेशनबाट नेकपा एमाले नयाँ चरणमा प्रवेश गरेको छ । र, महाधिवेशनले चयन गरेको नयाँ नेतृत्वको लागि आम निर्वाचनदेखि स्थानीय निर्वाचन र उपनिर्वाचन समेत ठूलो चुनौतीको रूपमा खडा छन् । यही चुनौतीलाई सामना गर्नकै लागि दोहो¥याएर केपी ओलीले एमालेको नेतृत्वको बागडौर सम्हालेका छन् । त्यस कारण अबको दिनमा अध्यक्ष ओलीको कार्य क्षमताको परीक्षण चुनावी मैदानमा नै हुने निश्चित छ ।
पहिलेदेखि नै पार्टी अध्यक्ष केपी ओलीको कार्यशैलीप्रति असन्तुष्ट रहेका भीम रावल र घनश्याम भुसालले पार्टीले चुनावबाट होइन, सहमतिबाट नेतृत्व चयन गर्न गरेको समझदारीप्रति चुनौती दिँदै उम्मेदवारी दर्ता गरेपछि नेकपा एमालेले यो महाधिवेशनमार्फत पार्टी एक ढिक्का छ भन्ने सन्देश प्रवाह गर्ने मामिलामा असफल सावित भएको छ । ठूलो मतअन्तरबाट भीम रावल अध्यक्ष पदमा केपी ओलीसँग पराजित भएका भए पनि उनले नेकपा एमालेले दिन खोजेको पार्टी एकताको सन्देशमा भने अवरोध पु¥याउन सफल भएका छन् । ९औँ महाधिवेशनमा अत्याधिक मत ल्याएर उपाध्यक्ष पदमा निर्वाचित भएका भीम रावलको आगामी राजनीतिक जीवन नेकपा एमालेमा कसरी अगाडि बढ्छ भन्ने प्रश्न भने उनको उम्मेदवारीले खडा गरेको छ । किनभने अहिलेको अवस्थालाई ध्यानमा राखेर पार्टीमा एकता छ भन्ने सन्देश दिनकै लागि नेतृत्वको चयन निर्वाचनबाट होइन, सहमतिबाट गर्नु पर्छ भन्ने निर्णय नेकपा एमालेको नेतृत्वले गरेको थियो । तर, भीम रावलले अध्यक्षमा केपी ओलीसँग प्रतिष्पर्धा गर्ने हठ राखेपछि नेकपा एमालेको यो निर्णय असफल बन्न पुगेको थियो । यही कारणले गर्दा नै भीम रावलको उम्मेदवारीसँगै ठूलो संख्यामा एमालेका कार्यकर्ताहरू उनीप्रति रुष्ट बन्न पुगेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *