महाधिवेशनसँगै थापाको नेतृत्वलाई गम्भीर चुनौती

समाचार

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको एकताको महाधिवेशन आजबाट हुन गइराखेको छ । राप्रपाको यो महाधिवेशन नयाँ नेतृत्व चयन गर्दै यही मंसिर १७ गते समाप्त हुनेछ । प्रतिनिधिसभामा एक सांसद रहेको राप्रपाको यो महाधिवेशनले नेतृत्वमा कसलाई चयन गर्छ भन्ने उत्सुकता राजनीतिक क्षेत्रमा रहेको छ । पार्टी अध्यक्षका लागि बहालवाला अध्यक्ष कमल थापा र महामन्त्री राजेन्द्र लिङ्देनले उम्मेदवारी दिने घोषणा गरेका छन् । विगतका महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिने गरेका पशुपतिशम्शेर राणा र प्रकाशचन्द्र लोहनी भने उम्मेदवारी नदिई पार्टीको संरक्षकको हैसियतमा रहने भएका छन् । र, उनीहरूले अध्यक्षको निर्वाचनमा राजेन्द्र लिङ्देनलाई समर्थन गर्ने घोषणा गर्दै अर्का अध्यक्ष कमल थापालाई पनि पार्टीको संरक्षक भएर बस्न सुझाव दिएका छन् ।

तर, कमल थापाले भने अर्को एक कार्यकालका लागि अध्यक्ष भएर सक्रिय राजनीतिबाट बाहिरिने घोषणा गरेका छन् । विगत १९ वर्षदेखि राप्रपाको नेतृत्व संहाल्दै आएका कमल थापालाई यो पटक विजय प्राप्त गरेर अध्यक्ष हुनलाई कडा चुनौतीको सामना गर्नु पर्ने स्थिति रहेको छ । युवा पुस्ताका नेता राजेन्द्र लिङ्देनलाई कार्यकर्ता तहमा अर्का लोकप्रिय नेता नेपालगञ्ज उपमहानगरपालिकाका मेयर धवलशम्शेर राणाको समर्थन रहेको छ । यसैगरी अध्यक्षद्वय राणा र लोहनीले पनि यो पटक उम्मेदवार नदिएर लिङ्देनलाई समर्थन गर्ने घोषणा गरेपछि लिङ्देनको चुनावी अवस्था बलियो बन्न पुगेको छ । संवैधानिक राजतन्त्र र सनातन हिन्दू राष्ट्रको एजेण्डा बोकेको राप्रपाले सम्पन्न आम निर्वाचनमा भने अत्यन्त नराम्रो परिणाम भोग्नु परेको थियो । अध्यक्ष थापाले पार्टीका यी दुई प्रमुख एजेण्डालाई पश्चिमा शक्तिसमक्ष बन्दकी राखेको कारण पार्टीले यो हालत भोग्नु परेको ठम्याई कार्यकर्ताको रहेको छ । यो मामिलामा अन्य दुई अध्यक्ष राणा र लोहनी पनि चोखा छैनन् भन्ने टिप्पणी कार्यकर्ताको रहेको छ । यही कारणले गर्दा आजबाट सुरु हुने महाधिवेशनले थापालाई पन्छाएर लिङ्देनलाई नेतृत्वमा ल्याउने विश्लेषण राजनीतिक क्षेत्रले गरेको छ । संवैधानिक राजतन्त्र र सनातन हिन्दू राष्ट्रको एजेण्डालाई प्रमुखताका साथ बोकेकै कारणले गर्दा राप्रपाको भावी नेतृत्वप्रति छिमेकी मुलुक भारतसँगै पश्चिमा मुलुकको समेत चासो रहेको बताइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *