सशस्त्रभित्र विद्रोहको आवाज

समाचार

काठमाडौं । सशस्त्र प्रहरीमा विगत लामो समयसम्म सरुवा हुन सकेको छैन । सोर्सफोर्सका आधारमा भित्रभित्रै सरुवा हुने गरेको पाइन्छ । सोर्सफोर्स नभएका सशस्त्र प्रहरीमा अहिलेसम्म सरुवाको सूचीमा परेका छैनन् । सशस्त्र प्रहरीमा व्यापक भ्रष्टाचार बढेको गुनासो छ । सशस्त्र प्रहरी बलभित्र रासन, लत्ताकपडा, ठेक्कापट्टाको कामदेखि जाडोमा लगाउने यूनिफर्म र सवारी खरिदसम्म आइजिपी शैलेन्द्र खनाल र लेखा शाखाका गणेश मल्लको हालिमुहाली चल्ने गरेको समाचार सूत्रले बताएको छ । सशस्त्र प्रहरी बलभित्र विभिन्न पोष्ट, गुल्म तथा व्यारेकमा हुने नहुने काम हुँदै आएको छ । आइजिपी खनाल र मल्लका कारण अहिले हलचोकस्थित सशस्त्र बल मुख्यालयमा हल्लीखल्ली मच्चिन थालेको छ । खनालले ऐन कानुनीको धज्जी उडाउँदै मनपरी काम गर्दै आएका छन् ।
खनालको आगामी चैतमा कार्यकाल सकिँदैछ । उनको कार्यकाल अगावै खनालले कसरी हुन्छ तीन पुस्तालाई कमाउने योजना बनाएको उच्च स्रोतले तामाकोशी सन्देशलाई बताएको छ । हालसम्म खनालका पछिल्ला दिनहरू केलाउँदा सशस्त्र प्रहरीका तत्कालीन आइजिपीभन्दा चारगुणा बढी उनका कतुर्तहरू बाहिर आएका छन् । बाठो भएको र संगठनको हितको लागि भन्दै संगठनलाई कुनै पनि माखो नमार्ने र खाली कहाँबाट कमाइ हुन्छ र मोजमस्ती गर्न पाइन्छ भन्दै गुल्म र ब्यारेकमा कार्यरत कर्मचारीलाई सताउने काम खनालले गर्दै आएको पीडितको भनाइ छ । अहिले सशस्त्र प्रहरी बलको लेखाशाखामा बसेर विगत लामो समयसम्म टिक्न सक्ने र सबैलाई मिलाउन सक्ने खुबी भएका गणेश मल्लले जति कुनै पनि लेखाका कर्मचारीले कमाउन नसकेको आरोप लाग्ने गरेको छ । आइजिपीको यो जोडीले सशस्त्र प्रहरी बलभित्र भाँडभैलो मच्चिन लागेको आरोप लाग्न थालेको छ । सशस्त्र प्रहरी बलका कर्मचारीबीच मनमुटाव हुन थालेको समाचार स्रोतले बताएको छ ।
एक÷एक वर्षमा परिवर्तन हुने कार्यालय प्रमुख र लेखापालहरू र उच्च तहका कर्मचारीहरू (आइजिपी, एआईजी तथा डीआईजी) एक आपसमा टकराव र आइजिपी खनालले मनोमानी गर्न नपाउने छाँटकाट देखेपछि १८ महिना बितिसक्दा पनि सवा हुन सकेको छैन भने नेपाल सरकारबाट दैनिक भ्रमण भत्ता र सरुवाको लागि निकास भएको रकम भने इन्स्पेक्टर गणेश मल्लले सबै खर्च भएको देखाएका छन् ।
सशस्त्रका प्रवक्ता डिआइजी राजु अर्याललाई हटाउँदै डिआइजी मन्दिप श्रेष्ठलाई नियुक्ति गरेका खनाल हाल निज श्रेष्ठलाई एआइजी बनाउन भन्दै दैनिक गृहमन्त्री खाँडसँग ३÷४ घन्टासम्म लबिङमा लागेको एक उच्च पदस्थ कर्मचारी बताउँछन् । खाली आफ्नो स्वार्थ पूर्तिका लागि मात्र दौडधुप गर्ने सशस्त्रका हाकिम साबहरू तल्लो दर्जाका कर्मचारी भन्ने सधैँ मारमा परेका छन् । वृत्ति–विकासलगायत १६ वर्षे पेन्सन पाउनुपर्छ भन्ने प्रहरी कर्मचारीहरूको गुनासो रहेको छ । आइजिपी खनाल आफ्ना नजिकका र राजनीतिक दबाब आयो भने मात्र सरुवा–बढुवा गर्छन् नत्र वर्षाैंसम्म खाली राख्ने गर्दछन् ।
सीमा रक्षाको लागि भन्दै गत आर्थिक वर्षमा सशस्त्रले भारतीय सीमामा कर्मचारीहरू खटाएको थियो । उक्त स्थानमा कर्मचारीको लागि बनाएको ब्यारेकहरू भने सित चुहिएर बस्न नसक्ने अवस्थामा रहेको झन् वर्षायाममा पानी पर्दा कसरी बस्ने होला भन्ने कर्मचारीहरूको चिन्ता रहेको छ । आइजिपीले भने ब्यारेक बनाएबापत मोटो रकम लिएका छन् । चैतमा आफू सेवाबाट अवकाश हुन लागेका आइजिपीले अब उक्त समस्या कहिले र कसरी समाधान गर्लान् ?
कर्मचारीले पाउने फ्रि–सेलका सामानहरूमा सधैँ प्रयोगमा आउने बुट फौजीले लगाउनेजस्तो नभई सेक्युरिटी गार्डले लगाउनेजस्तो कमसल बुट वितरण भएको छ । ४ वर्षे कार्यकालमा केही गर्न नसकेका आइजिपी खनालले कार्यालयका नाम र पोशाक भने कयौँपटक परिवर्तन गर्न भ्याएका छन् । हेडक्वार्टर लेखा, कल्याणकारी लेखा तथा अस्पताल लेखामा आइजिपीको रोजाइका लेखापाल पर्ने भएकाले ४ वर्षसम्म परिवर्तन भएका छैनन् । सुविधा नपाउने व्यक्तिहरूलाई पनि ड्राइभर तथा कर्मचारी दिएका छन् । सानातिना पत्रिकाहरूले समाचार लेख्दैमा के हुन्छ भन्दै गाली गर्दै हिँडेका छन् । कांग्रेसको सरकार आएपछि त झन् उनको हालीमुहाली चल्न थालेको छ । भावी आइजिपी राजु अर्याल पनि त्यही प्रवृत्तिका व्यक्ति रहेको सशस्त्र अधिकारीहरू बताउँछन् । तल्लो वर्गका कर्मचारीलाई मान्छे नै होइन भन्ने जस्तो व्यवहार अर्यालको रहेको सशस्त्रको तल्लो वर्गका कर्मचारीहरूले गुनासो गर्ने गरेका छन् । अर्याल १६ वर्षमा पेन्सन दिन हुन्न भन्ने सशस्त्र अधिकारीहरूमध्ये एक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *