नयाँ नेतृत्वको लागि महाधिवेशनसँगै कांग्रेसमा भिडन्त देउवासँग को लड्ने टुंगो अझै लाग्न सकेन

राजनीति

काठमाडौं । आगामी शुक्रबारबाट सरकारको नेतृत्व गरी राखेको नेपाली कांग्रेसको १४औँ महाधिवेशन हुन गई राखेको छ । नेपाली कांग्रेसको इतिहासमा पहिलोपटक भावी कार्यदिशा तथा कार्यक्रम माथि छलफल नभई यो महाधिवेशन सिधैं नेतृत्व चयनमा प्रवेश गर्ने छ । आगामी चार वर्षका लागि सभापति भएर पार्टीलाई नेतृत्व दिन बहालवाला सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवासँगै संस्थापना इतर पक्षबाट रामचन्द्र पौडेल, शशांक कोइराला, प्रकाशमान सिंह, शेखर कोइराला अन्तिम तयारीमा जुटेका छन् । यसैगरी बहालवाला उपसभापति विमलेन्द्र निधि पनि सभापति हुने होडमा छन् । तर, केही समय अगाडिसम्म सभापतिमा उम्मेदवारी दिने भनेका कृष्ण सिटौला र गोपालमान श्रेष्ठ भने अहिले मौन बस्न थालेका मात्र छैनन् की कृष्ण सिटौलाले सभापति शेरबहादुर देउवासँग विभिन्न जिल्ला र प्रदेशको निर्वाचनमा गठबन्धनसमेत गरेका छन् । यही गठबन्धनको परिणाम कृष्ण सिटौलाले आफू पक्षका नेता उद्धव थापाले गुरु घिमिरेलाई दुई मत अन्तरले पछाडि पार्दै सभापतिमा निर्वाचित गर्न सफल भएका छन् ।
सभापति देउवा र कृष्ण सिटौलाको गठबन्धनले राम्रो परिणाम ल्याएराखेको स्थितिलाई ध्यानमा दिँदा सभापतिको निर्वाचनमा पनि कृष्ण सिटौलाले देउवालाई समर्थन गर्ने देखिएको छ । उता संस्थापना इतर पक्षले भने अहिलेसम्म सभापतिको टुंगो लगाउन सकेको छैन । यस सम्बन्धमा आज बस्ने सभापतिका आकांक्षी नेताहरूको बैठकले आफ्नो तर्फबाट सभापतिको उम्मेदवार टुंगो लगाउने भनिएको छ । तर, सभापतिका एकजना प्रत्यासी प्रकाशमान सिंहले हिजोबाट नै आफ्नो उम्मेदवारीलाई ध्यान दिएर सम्पर्क कार्यालय खोलिसकेका छन् । त्यस कारण संस्थापना इतर पक्षका सभापतिका प्रत्यासीका बीचमा छलफल भएपछि सहमति हुने सम्भावना भने अत्यन्त कम छ । र, संस्थापनइतर पक्षबाट रामचन्द्र पौडेलसँगै प्रकाशमान सिंह र शेखर कोइराला उम्मेदवार हुने सम्भावना बलियो बन्दै गएको छ । अहिलेसम्म सभापतिको उम्मेदवारको दाबी गर्दै आएका शशांक कोइरालाले भने दाजु शेखर कोइरालाको समर्थनमा उम्मेदवारको मैदानबाट पछाडि हट्ने सम्भावना बढ्दै गएको छ ।
तर, महाधिवेशन सुरु भएर निर्वाचनको प्रक्रिया अगाडि बढ्न केही दिन मात्र बाँकी हुँदा पनि कुनै पनि उम्मेदवारले आफ्नो तर्फको प्यानल भने चयन गर्न सकेका छैनन् । सम्भवतः उम्मेदवारी दर्तासँगै सभापतिका उम्मेदवारहरूले आफ्नो प्यानलको घोषणा गर्ने छन् । नेपाली कांग्रेसको राजनीतिमा गम्भीर चासो राख्दै आएको दिल्ली दरबार भने यो पटक नेतृत्व चयन प्रक्रियामा तटस्थ बसेजस्तो स्थिति देखिएको छ । किनभने अहिलेसम्म दिल्ली र लैनचौर दरबार कांग्रेसका कुनै उम्मेदवारको पक्षमा भने खोलेको स्थिति छैन । तथापि, सभापतिका आकांक्षी सबै कांग्रेसी नेताले भने दिल्ली दरबारलाई आफ्नो पक्षमा पार्ने प्रयास गरी राखेका छन् । यो मामिलामा सभापति शेरबहादुर देउवासँग विद्रोह गरेर उम्मेदवारी घोषणा गरेलगत्तै उपसभापति विमलेन्द्र निधि दरभंगा हुँदै दिल्ली पुगेका थिए । आफ्नो पक्षमा दिल्ली दरबारलाई प्रभावित पार्नका लागि काठमाडौंमा सभापतिको उम्मेदवारी घोषणा गरेर कांग्रेस उपसभापति निधि दरभंगा हुँदै दिल्ली पुगेका हुन् । विमलेन्द्र निधि दिल्ली पुगेको केही समयपछि नै कांग्रेस महामन्त्री शशांक कोइराला पनि मुम्बईमा उपचार गराई राखेका प्रदीप गिरी र दिल्लीमा उपचार गराई राखेका दावा लामालाई भेट्न भन्दै गोरखपुरबाट मुम्बई र दिल्ली पुगेका थिए । उपचार गराई राखेका पार्टीका दुई नेतालाई भेट्न भनेर कांग्रेस महामन्त्री कोइराला मुम्बई र दिल्ली पुगेका भए पनि यो भ्रमणको वास्तविक उद्देश्य भने सभापतिको निर्वाचनमा भारतको सत्तालाई आफ्नो पक्षमा पार्नु नै रहेको थियो । तथापि, अहिलेसम्म दिल्ली दरबार कुनै पनि सभातिका आकांक्षी कांग्रेसी नेताको पक्षमा खुलेको छैन ।
केही समय अगाडिसम्म सभापतिको उम्मेदवारी दिने भन्दै आएका र महाराजगंज चोकमा सम्पर्क कार्यालयसमेत स्थापना गरेका कृष्ण सिटौला भने अहिले पूर्ण रूपमा शेरबहादुर देउवाको पक्षमा सक्रिय हुन थालेका छन् र सभापति देउवापक्ष र सिटौलापक्षले मिलेर प्रदेश र जिल्ला समिति निर्वाचन समेत लडेको छ । यो स्थितिमा सभापतिको निर्वाचनमा पनि सिटौला उम्मेदवार नभएर देउवालाई समर्थन गर्ने स्थिति बन्दै गएको छ । उता संस्थापना इतर पक्षले अहिलेसम्म उम्मेदवारको टुंगो लगाउन नसकेको र सभापतिको उम्मेदवारमा सहमति हुने सम्भावना अत्यन्त कम भएकोले सभापतिको उम्मेदवारमा संस्थापना इतर पक्षबाट पौडेलसँगै शेखर कोइराला र प्रकाशमान सिंहको समेत उम्मेदवारी पर्न सक्ने सम्भावना देखिएको छ । तथापि, आफ्नो पक्षमा स्थिति अनुकूल नभएको आँकलन गरेर रामचन्द्र पौडेल भने उम्मेदवारीबाट पछाडि हट्ने सम्भावना पनि बलियो रहेको छ ।
सभापतिमा पार्टीका आधा दर्जन शीर्ष नेताहरू मैदानमा उत्रिरहँदा यही संख्यामा महामन्त्रीका आकांक्षीहरू पनि चुनावी मैदानमा उत्रन थालेको छ । महामन्त्रीमा विश्वप्रकाश शर्मा, गगन थापा, बहालवाला मन्त्रीहरू ज्ञानेन्द्रबहादुर कार्की, बालकृष्ण खाँडसँगै रमेश लेखक, एनपी साउदसमेत आकांक्षी रहेको स्थिति छ । यसैगरी उपसभापतिका लागि विजय गच्छदारसँगै पूर्व अर्थमन्त्री महेश आचार्य र बहालवाला परराष्ट्रमन्त्री नारायण खड्काले गृहकार्यलाई अगाडि बढाइसकेका छन् । अहिलेसम्म सभापति, उपसभापति तथा महामन्त्रीमा महिला र जनजाति आकांक्षी नदेखिएकोले सभापतिका बलिया उम्मेदवारले यी पदका लागि समेत आफ्नो प्यानलमा जनजाति र महिलालाई समेट्ने सम्भावना रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *