मन्त्रालय फुटायो अनि शासन ग¥यो

समाचार

काठमाडौं । नेकपा एमाले विभाजित भएर नेकपा समाजवादी गठन भएपछि र संघीय सरकारबाट नेकपा एमाले सत्ताबाट बाहिरिएपछि मुलुकको राजनीतिक स्थितिमा ठूलो परिवर्तन भएको छ । संघीय सरकारबाट एमाले बाहिरिएर कांग्रेस सभापति शेरबहादुरको नेतृत्वमा संयुक्त सरकार गठन भएसँगै यसको असर प्रदेश सरकारहरूमा समेत परेको छ । यही कारणले गर्दा नेकपा एमाले विभाजित हुनुपूर्व चार प्रदेशमा सरकारको नेतृत्व गरी राखेको नेकपा एमाले अहिले सबभन्दा ठूलो दल भएर पनि प्रतिपक्षमा बस्नु परेको छ भने गठबन्धनका दलहरूले बहुमतका लागि सिला खोजेर यी प्रदेशहरूमा सरकार सञ्चालन गर्न थालेका छन् ।
तर, सरकार सञ्चालनका लागि आवश्यक पर्ने बहुमत जुटाउन कठीन भएको अवस्थामा गठबन्धनका दलका सबैजसो सांसदले मन्त्रीको बार्गेनिङ गर्न थालेपछि बहुमत जुटाउनका लागि मन्त्रालय फुटाएर सांसदलाई मन्त्री बनाउने चलन अहिले सबैजसो प्रदेशमा सुरु भएको छ । यही क्रममा आलोपालो सरकारको नेतृत्व गर्ने सहमतिअनुसार वाग्मती प्रदेशको मुख्यमन्त्री भएका नेकपा समाजवादीका नेता राजेन्द्रप्रसाद पाण्डेले आफ्नो सरकार टिकाउनका लागि आठ वटा मन्त्रालयलाई फुटाएर १४ वटा बनाउने निर्णय गरेका छन् । बाँकी कार्यकालको आधा समय कांग्रेस सांसद इन्द्र बानियाँलाई सरकारको नेतृत्व हस्तान्तरण गर्ने सहमति गरेका पाण्डेले केही महिनाको लागि पनि सरकार टिकाउनका लागि मन्त्रालयहरू फुटाएर राज्यमाथि ठूलो आर्थिक भार थोपर्ने कसरत गरी राखेका छन् । तर, यस सम्बन्धमा सत्तारुढ गठबन्धनका कुनै पनि दलले आपत्ति प्रकट गरेका छैनन् । यसैगरी नेकपा एमालेका मुख्यमन्त्री भीम आचार्यलाई विस्थापित गरेर १ नं. प्रदेशमा मुख्यमन्त्री भएका नेकपा समाजवादीका राजेन्द्र राईले पनि पाँच दलको गठबन्धन सरकारलाई टिकाउनका लागि मन्त्रालय फुटाउन कार्यदल नै गठन गरेका छन् । कार्यदलले सुझाव दिएअनुसार मन्त्रालय फुटाएपछि मात्र मन्त्रिपरिषदलाई विस्तार गर्ने योजनामा रहेका मुख्यमन्त्री राईले त्यही कारणले गर्दा अहिलेसम्म मन्त्रिपरिषद विस्तार गर्न सकेका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *