मन्त्री आलेको एकपछि अर्को फण्डा सार्वजनिक

समाचार

काठमाडौं । पर्यटनमन्त्री प्रेम आलेका एक पछि अर्काे फण्डाहरू बाहिरिरहेका छन् । पहिलो पटक वनमन्त्री हुँदादेखि नै विवादमा मुछिएका आलेले धमाधम मातहतका निकायलाई भर्ती केन्द्र बनाउन थालेका छन् । उनले कतै झलनाथ खनालका नातेदार त कतै उनै झलनाथ खनालका समयमा अर्थ राज्यमन्त्री बनाइएका ल्यारक्याल लामालाई च्याप्न थालेपछि पर्यटन मन्त्रालयमा तरंग मच्चिएको छ । आलेले नेपाल वायु सेवा निगम, नागरिक उड्डयन प्राधिकरण, पर्यटन बोर्ड, तारागाउँ विकास समितिमा आफू निकटस्थ भर्ती गर्ने प्रक्रिया अगाडि बढाएका छन् । प्रेम आलेले कमिसनको प्रलोभन देखाएर नाजायज काम गर्न लगाए पनि इमान्दार सचिवका छबि बनाएका यादव कोइरालालाई नाजायज काम गर्न नमान्दा उनी अहिले सरुवा मिलाएर शिक्षा मन्त्रालयमा पुगेका छन् । आलेले पर्यटन बोर्डको टेण्डरमा अनुचित ढंगले हस्तक्षेप गरेपछि सचिव कोइराला चिढिएका थिए । यसमा कोइरालाले साथ दिएनन् । किनभने कानुन र विधि बाहिर कोइराला जान चाहेनन् । यादवको ठाउँमा अहिले बद्नाम र खेलो–फड्कोमा माहिर सचिव महेश्वर न्यौपानेलाई लगिएको छ । न्यौपाने यसअघि पनि पर्यटनमै बसेर खेलोफड्को मच्चाएका सचिव हुन । आलेले बद्नामी कमाएका र यौनकाण्डमा डामिएका युवराज अधिकारीलाई अहिले नेपाल वायु सेवा निगमको कार्यकारीसहितको अध्यक्ष मात्र बनाएनन् उनले केही महिनाभित्रै अवकाश पाउन लागेका राजकुमार क्षेत्रीलाई उनले नागरिक उड्डयन प्राधिकरणको महाप्रबन्धक बनाए । आलेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका कार्यालय प्रमुख प्रतापबाबु तिवारीलाई अनेक तरिका अपनाइ त्यहाँबाट हटाए । उनको ठाउँमा भोला गुरागाईलाई ल्याएका छन् । यस्तै झलनाथ खनाल प्रधानमन्त्री भएको बेला राज्यमन्त्री बनेका र निकै विवादास्पद छवि बनाएका ल्यारक्याल लामालाई पर्यटनमन्त्री आलेले लुम्बिनी विकास कोषमा ल्याउने तयारी गर्दैछन् ।
उता आगामी महिना घर जान लागेका शिशिर ढुंगाना मुख्यसचिव शंकर दास बैरागीलाई हटाएर मुख्य सचिव बन्ने कसरतमा जुटेका छन् । डेढ महिनापछि अवकासमा जानुअघि मुख्य सचिव बन्ने प्रयासमा उनले राजनीतिक भेटघाट तीब्र बनाएका हुन् । उनले यस अघि ओली सरकारले लोकदर्शन रेग्मीलाई राजदूत बनाएर पठाए झैं अहिलेका मुख्यसचिव बैरागीलाई पनि कुनै देशको राजदूत बनाएर पठाउने र आफू मुख्यसचिव बन्ने गरी दौड तीव्र पारेका हुन् । प्रशासन सेवाका सचिवमध्ये ढुंगाना अहिले वरिष्ठताका आधारमा दोस्रो नम्बरमा छन् । उनी २०७३ माघ २० मा सचिवमा बढुवा भएका हुन् । वरिष्ठताका आधारमा रक्षा मन्त्रालयमा रहेका सचिव वेगेन्द्रराज शर्मा पौड्याल अहिले पहिलो नम्बरमा छन् । उनले यही पुस १४ गते अवकास पाउँदैछन् । पौड्याल भने मुख्य सचिव बन्ने कसरतमा नरहेको बताइन्छ ।
ढुंगानाले अहिले प्रचण्ड, माधव नेपाल, देउवासहितका प्रमुख राजनीतिक दलहरूकोमा देउसी तीव्र पारेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *