चुनावी अग्निपरीक्षा माओवादीको कार्य समितिका लागि गम्भीर चुनौती कसरी बन्ला माओवादी पहिलो पार्टी ?

राजनीति

गत आइतबारबाट सुरु भएको नेकपा एकीकृत माओवादीको ८औँ महाधिवेशन हिजो सम्पन्न हुनुपर्ने समयतालिका रहेको थियो । तर, तय कार्यक्रम सम्पन्न नभएपछि यो महाधिवेशन लम्बिएको छ । आज पार्टी अध्यक्ष प्रचण्डले गत आइतबार बसेको पूर्ण बैठकमा पेस गरेको राजनीतिक प्रतिवेदनमाथि विभिन्न समूहबाट आएको सुझावको अध्यक्ष प्रचण्डले जवाफ दिएपछि माओवादी केन्द्रको यो ८औँ महाधिवेशन नयाँ नेतृत्व चयनको प्रक्रियामा प्रवेश गर्ने छ र नयाँ नेतृत्व चयनका लागि आवश्यक प्रक्रिया सम्पन्न गरेसँगै माओवादी केन्द्रको ८औँ महाधिवेशन सम्पन्न हुनेछ ।
महाधिवेशन सुरु हुनु एक दिन अगाडिसम्म राष्ट्रिय कार्यकर्ता सम्मेलन गर्ने भनिएकोमा अन्तिम समयमा स्थायी समितिको बैठकले कार्यकर्ता सम्मेलनलाई ८आँै महाधिवेशनमा रूपान्तरण गरेको थियो । गठबन्धन सरकारमा सामेल भएको माओवादी केन्द्रले अब आउने संसदीय अभ्यासअन्तर्गत हुन लागेको स्थानीयदेखि प्रदेश र संघीय निर्वाचनको चुनौतीलाई सामना गर्ने गरी नयाँ कार्य समिति गठन गर्नु पर्ने स्थिति छ भने अध्यक्ष प्रचण्डले पनि पार्टीले भोगिराखेको चुनौतीलाई सम्बोधन गर्ने गरी राजनीतिक प्रतिवेदन पेस गरेका थिए । अध्यक्ष प्रचण्डले आफ्नो राजनीतिक प्रतिवेदनमार्फत वामपन्थी शक्ति र प्रजातान्त्रिक शक्ति मिलेर समाजवादतिर प्रस्थान गर्नु पर्ने सुझाव राखेका छन् र अध्यक्ष प्रचण्डले आफ्नो प्रतिवेदनमा पार्टीमा यौन, अनैतिकता र पैसाप्रतिको आशक्ति बढेको निष्कर्षसमेत निकालेका छन् । अध्यक्ष प्रचण्डले यही विकृति बढेको कारण नेकपा माओवादीप्रति जनताको आकर्षण घट्न थालेको ठम्याइसमेत गरेका छन् ।
अब यस्ता गल्ती, कमजोरीलाई सच्याएर आइपर्ने चुनौतीको सामना गर्न सक्षम हुने गरी अगाडि बढ्नु पर्ने ठहर अध्यक्ष प्रचण्डले आफ्नो राजनीतिक प्रतिवेदनमार्फत गरेका छन् । अध्यक्ष प्रचण्डले संस्थापना पक्षको तर्फबाट यो राजनीतिक प्रतिवेदन पेस गर्दा स्थायी समिति सदस्य राम कार्कीले पनि अलग राजनीतिक प्रतिवेदन पेस गरेका छन् । नेकपा माओवादी केन्द्र स्थापना भएदेखि नै पार्टीको निरन्तर रूपमा नेतृत्व गर्दै आएका अध्यक्ष प्रचण्ड यो ८औँ महाधिवेशनबाट पनि दोहोरिएर अध्यक्ष हुने निश्चित देखिएको छ । उनको प्रतिस्पर्धामा समेत माओवादी केन्द्रभित्र कोही आउने स्थिति छैन । अध्यक्षमा प्रचण्ड सर्वसम्मतिबाट चयन हुने स्थिति भए पनि अन्य पदाधिकारीहरूमा भने चर्को प्रतिस्पर्धा हुने अवस्था रहेको छ । यो महाधिवेशनले १५ पदाधिकारीसहित २९९ संख्याको केन्द्रीय कार्य समिति चयन गर्ने छ । तर, अहिलेसम्म केन्द्रीय कार्य समितिको चयन निर्वाचन प्रक्रियाबाट हुने की सर्वसम्मतिको प्रक्रियाबाट भन्ने स्पष्ट भएको छैन । पार्टी अध्यक्षमा प्रचण्ड निर्विरोध हुने अवस्था भए पनि पार्टी विधानअनुसार एक वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, १ महासचिव, २ उपमहासचिव, ३ सचिव र एकजना कोषाध्यक्षको चयन हुनुपर्दछ । अध्यक्षको मामिलामा कुनै पनि माओवादी नेताले प्रचण्डलाई चुनौती दिने र प्रतिस्पर्धा गर्ने स्थिति नभए पनि अन्य पदहरूका लागि भने चर्को प्रतिस्पर्धा हुने अवस्था रहेको छ । वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ र कृष्णबहादुर महरा प्रमुख प्रतिस्पर्धी रहेका छन् । तर, पार्टी मर्यादाक्रममा अध्यक्ष पछिको वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ अथवा कृष्णबहादुर महरा हुनु हुँदैन भन्ने पक्षमा माओवादीका अधिकांश कार्यकर्ता रहेका छन् । नारायणकाजी श्रेष्ठ १० वर्ष लामो सशस्त्र विद्रोहमा सामेल नभएको र कृष्णबहादुर महरा यौन काण्डमा मुछिएर प्रतिनिधिसभाको एक जना कर्मचारीसँग नाम जोडिएपछि सभामुखबाट राजीनामा गर्नु पर्ने अवस्था आएको उल्लेख गर्दै अध्यक्ष दाहालले पेस गरेको राजनीतिक प्रतिवेदनमा समेत पार्टीमा यौन अनैतिकता र पैसाप्रति आशक्ति बढेको उल्लेख गरेको अवस्थामा पनि महरा वरिष्ठ उपाध्यक्षमा स्वीकार्य नहुने मत आइराखेको छ । तथापि, यो स्थितिमा वरिष्ठ उपाध्यक्षका सम्बन्धमा अध्यक्ष प्रचण्डले अहिलेसम्म स्पष्ट निर्णय गर्न सकेका छैनन् । तर, ६ जना उपाध्यक्षमा महरासँगै वर्षमान पुन, देव गुरुङ, मातृका यादव, लिलामणि पोखरेल र गिरीराजमणि पोखरेल समेटिने सम्भावना बलियो रहेको बताइन्छ । यसैगरी महामन्त्रीमा जनार्दन शर्मा र पम्फा भुसालका बीचमा प्रतिस्पर्धा रहेको स्थिति छ । समाचारसूत्रका अनुसार पम्फा भुसाललाई कोषाध्यक्षमा अथवा उपाध्यक्षमा व्यवस्थापन गरेर अध्यक्ष प्रचण्डले जनार्दन शर्मालाई महासचिवमा ल्याउँछन् भन्ने अनुमान पनि गरिएको छ । यसैगरी देव गुरुङको दाबी पनि महासचिवमा रहेको छ । पार्टी विधानअनुसार २ जना उपमहासचिवमा हरिबोल गजुरेल, शक्ति बस्नेत, चक्रमणि खनाल, देवेन्द्र पौडेल, गजेन्द्र साह मध्येबाट चयन हुने सम्भावना रहेको बताइन्छ । पार्टीका ठूला नेताहरूले पदाधिकारीमा दाबी गरी राखेको भए पनि यस सम्बन्धमा अन्तिम निर्णय भने अध्यक्ष प्रचण्डले गर्ने बताइन्छ । यसैगरी पार्टीका केन्द्रीय सदस्यहरू चयनमा पनि प्रमुख भूमिका अध्यक्ष प्रचण्डको नै हुने बताइन्छ । अध्यक्ष प्रचण्डदेखि पार्टीका वरिष्ठ नेताहरू कृष्णबहादुर महरा, जनार्दन शर्माले सार्वजनिक रूपमा नै पार्टीलाई अब पहिलो स्थानमा पु¥याउने दाबी गरिरहँदा नेकपा माओवादी केन्द्रले महाधिवेशनमार्फत नयाँ कार्य समिति चयन गर्दैछ । यो कार्य समितिले अब वैशाखमा हुने स्थानीय निर्वाचनसँगै मंसिरमा हुने प्रदेश र संघीय निर्वाचनमा पार्टीलाई पहिलो स्थानमा पु¥याउनु पर्दछ । नयाँ कार्य समितिका लागि यो सबभन्दा ठूलो चुनौती हो ।
पहिलो संविधानसभा निर्वाचनमा जनताको ठूलो समर्थन प्राप्त गरेर पहिलो स्थानमा आएको माओवादी केन्द्र दोस्रो संविधानसभा निर्वाचनमा खस्किएर तेस्रो स्थानमा पुगेको थियो । यसैगरी २०७४ सालमा सम्पन्न भएको आम निर्वाचनमा माओवादी केन्द्र स्थानीय निर्वाचन नेपाली कांग्रेससँग र आम निर्वाचन नेकपा एमालेसँग मिलेर लड्नु पर्ने अवस्थामा पुगेको थियो । अहिले पनि माओवादी केन्द्रका शीर्ष नेताहरू सबै तहका निर्वाचनहरू सत्तारुढ गठबन्धनमा रहेका पाँच दल नै मिलेर लड्नु पर्ने अडान राखिराखेका छन् । प्रतिगमनको खतरा कायम रहेको भन्दै गठबन्धनमा रहेका दलहरू मिलेर चुनाव पनि लड्नु पर्ने तर्क माओवादी केन्द्रका नेताहरूबाट आउने गरेको भए पनि निरन्तर रूपमा खस्किराखेको जनाधारलाई ध्यानमा राखेर माओवादी नेताहरूले गठबन्धनमार्फत चुनाव लड्ने योजना अगाडि सारेका हुन् भन्ने बुझाई राजनीतिक क्षेत्रको रहेको छ । यो कारणले गर्दा पनि ८औँ महाधिवेशनले प्रचण्डको नेतृत्वमा चयन गरेको नयाँ कार्य समितिका लागि विशेष चुनौती अब हुने विभिन्न तहका निर्वाचन बन्न पुगेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *