भौतिक यातायात मन्त्रालयमा गुट मौलाउँदै

समाचार

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादव मन्त्री भएपछि मन्त्रालय तीन गुटमा विभाजित भएको छ । भौतिक मन्त्री रेणु यादवको एउटा गुट छ भने भौतिक पूर्वाधार तथा यातायात सचिव रविन्द्र श्रेष्ठको अर्काे गुट खडा भएको छ । यस्तै सडक विभागमा अर्काे गुट मौलाएको छ । महानिर्देशक अर्जुन थापाले अर्काे गुट चलाएको आरोप छ । केपी ओली सरकारको पालामा सञ्चारमन्त्री गोकुल बाँस्कोटा र प्रधानमन्त्री पत्नी राधिका शाक्यको आशिर्वादमा भौतिक यातायात सचिव रविन्द्र श्रेष्ठले सेटिङ मिलाउँदै आएका थिए । सचिव श्रेष्ठले ठेक्का पट्टादेखि कर्मचारीको सरुवा–बढुवा गर्ने डिई, सुईको खेलोफड्को गर्ने काम गर्दै आएका थिए ।
रविन्द्र सचिवमा बढुवा भएपछि केशव शर्मा डिजी भएका थिए । केशव राम्रो काम गरे पनि उनलाई डिजीबाट हटाएर वसन्त नेम्वाङले अर्जुन थापालाई डिजी बनाए । अर्जुन थापालाई डिजी बनाउन ठेकेदारले ५ देखि ७ करोड खर्च गरेको आरोप लागेको छ । गठबन्धन सरकार बनेपछि भौतिक मन्त्रालय उपेन्द्र यादवको भागमा परेपछि भौतिक पूर्वाधार तथा यातायातमन्त्री बनेकी रेणुकमारी यादवले सडक विभागदेखि अन्य आयोजनाका प्रमुखहरू फेरबदल गरेकी छन् । सडक विभागअन्तर्गत विभिन्न आयोजना प्रमुखसमेत परिवर्तन भएका छन् । केन्द्रमा मात्र नभएर सातवटै प्रदेशमा फेरबदल गरिएको छ । अहिले भौतिक पूर्वाधार तथा यातायात मन्त्रीले एउटा गुटको कर्मचारी परिचालन गरेकी छन्, भने सचिव रविन्द्र श्रेष्ठले मन्त्रालयमा अर्काे गुट चलाएको आरोप छ । सडक विभागका महानिर्देशक अर्जुन थापा डिजीबाट हट्ने हो कि भन्दै मन्त्रालयमा चाकडी गर्न थालेका छन् । यसरी गुट चलाउँदा विकासको काम अलपत्र परेको छ । मन्त्री यादव कामभन्दा पैसा कताबाट आउँछ भन्नेमा लागेकी छन् । यस्तै भौतिक सचिवले आफ्नो ‘फेभर’को डिई, सुईलाई काखी च्यापेका छन् । उता सडक विभागका महानिर्देशक अर्जुन थापा चाहिँ आफूले ५ देखि ७ करोड खर्च गरेर डिजी बनेको सो पैसा नउठ्ने हो कि भन्दै भौतारिएर हिँडेको अवस्था छ । कहिले सडक विभागमा फाइलको चाङ लाग्ने गरेको छ । सो फाइलमा महानिर्देशकले सही गर्नुपर्ने, तर महानिर्देशक भने मन्त्रालयमा मिटिङ भन्दै हिँड्ने गरेको समाचार सूत्रले बताएको छ । यस्तै ठेकेदार राजकिशोर गुप्ताले २ नम्बर प्रदेशमा पेटी ठेक्का लिँदै आएका थिए । सो ठेक्कामा आफू टाट परेपछि मन्त्री रेणु यादवसँग मिलेमतो गरी भौतिक मन्त्रालयका कर्मचारी सरुवा गर्नमा व्यस्त रहेको अवस्था छ ।
यस्तै, बनेपा–धुलिखेल सडक आयोजनामा रविन्द्र लाल दासको ठाउँमा प्रेम प्रकाश खत्रीलाई ल्याएको छ । दासलाई भने कोरिडोरमा थन्क्याएको छ । यसरी भौतिक यातायात मन्त्रालयमा मन्त्री रेणुले मनलाग्दी गरेको आरोप छ । यस्तै मध्यपहाडी (पुष्पलाल लोकमार्ग) आयोजना पूर्व खण्डमा फागुन महिनामा सरुवा भएका अर्जुन अर्याललाई हटाएर सो ठाउँमा सुईमा बढुवा भएका हरिकुमार पोखरेल कामु भएर आयोजनामा आएका छन् । उनी डिभिजन सडक कास्कीमा बस्दा आफ्नो क्वाटरको भान्सा कोठामा ९ लाख रुपैयाँ भ्रष्टाचार गरी लुकाइराखेको अवस्थामा अख्तियारले रंगेहात पक्राउ गरेको थियो । तिनै व्यक्तिले मुद्दामा पैसा खाएर भ्रष्टाचार मुद्दाबाट सफाइ पाएको आरोप छ । उनी सुईमा बढुवा भएका छन् । उनीसँगै वरिष्ठताको आधारमा पूर्वकुमार राई पनि सुईमा बढुवा भएका छन् । यी २ जनामध्ये सुईहरूले कुनै उजुरी नपरेको खण्डमा ३५ दिनभित्र पदबहाली गर्नेछन् । उता सडक विभागअन्तर्गत मदन भण्डारी राजमार्ग आयोजनाबाट पुल महाशाखामा सरुवा भएका उमेश विन्दु श्रेष्ठलाई पुल महाशाखा प्रमुख बनाएपछि ठेकेदारसित कमिसन मागेर हैरान पारेपछि ठेक्का लागेको पुलहरू निर्माण प्रक्रियामा अवरोध बन्न पुगेको आरोप छ । यस्तै मदन भण्डारी राजमार्गमा अशोक तिवारी आएका छन् । अशोक तिवारीविरुद्ध पनि विभिन्न सडक डिभिजनमा बसेर अकुत सम्पत्ति कमाएको आरोपमा अख्तियारमा मुद्दा विचाराधीन अवस्थामा रहेको समाचार सूत्रले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *