नवनिर्वाचित अध्यक्ष प्रचण्डका लागि देखिएका चुनौती

सम्पादकीय

सम्पादकीय

यही मंसिर ११ गतेबाट तीन दिनका लागि भनेर सुरु भएको नेकपा माओवादी केन्द्रको ८औँ महाधिवेशन आठ दिनसम्म सञ्चालन भएर मंसिर १८ गते पार्टी अध्यक्ष प्रचण्डले क्लस्टार तर्फका २३६ जना केन्द्रीय सदस्य चयन गरेको घोषणासँगै समाप्त भएको छ । निकट भविष्यमा नै विभिन्न तहका निर्वाचनहरू आउने स्थितिलाई ध्यानमा राखेर अध्यक्ष प्रचण्डले पार्टीलाई नयाँ गति दिने गरी यो महाधिवेशनमा राजनीतिक प्रतिवेदन पेस गर्छन् भन्ने अपेक्षा सबै सहभागी माओवादी कार्यकर्ताको रहेको थियो । अध्यक्ष प्रचण्डले उद्घाटन सत्र सम्पन्न भएलगत्तै बन्द सत्रमा पेस गरेको राजनीतिक प्रतिवेदनलाई सहभागी कार्यकर्ताले राम्रो र अहिलेको लागि उपयुक्त भनेर टिप्पणी गरेको भए पनि अध्यक्ष प्रचण्डलगायतका शीर्ष नेताहरूको कार्यशैलीको भने आलोचना गरेका थिए ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेतृत्व गरेको वर्तमान सरकारमा माओवादी केन्द्र प्रमुख घटकको रूपमा रहेको छ । खासमा यो सरकारको गठन सर्वोच्च अदालतको परमादेशबाट भएको भए पनि गठबन्धनको परिकल्पना र योजना भने माओवादी अध्यक्ष प्रचण्डको नै रहेको थियो । त्यस कारण यो गठबन्धन सरकारमा माओवादीसहित चार राजनीतिक दल सहभागी भएका भए पनि माओवादी केन्द्र र अध्यक्ष प्रचण्डको भूमिका भने यो सरकारमा महत्वपूर्ण रहेको छ । तर, सरकारमा महत्वपूर्ण भूमिका हुनुलाई नै माओवादी केन्द्रका लागि अहिलेको अवस्थामा नै पर्याप्त मान्ने अवस्था छैन । किनभने सम्पन्न ८औँ महाधिवेशनले चयन गरेको नयाँ नेतृत्वले नै स्थानीयदेखि प्रदेश र आम निर्वाचनमा समेत सहभागी भएर पार्टीलाई सन्तोष मान्ने स्थानमा पु¥याउनु पर्ने चुनौती समेत रहेको छ । यो चुनौतीमा खास गरेर खरो उत्रिनु पर्ने अवस्था ८औँ महाधिवेशनले पनि निर्विरोध रूपमा अध्यक्ष चयन गरेका प्रचण्डमाथि आई परेको छ । अहिलेको अवस्थामा माओवादी केन्द्र सरकारको प्रमुखघटक भएको भए पनि यो पार्टीका लागि अब हुन लागेको स्थानीय, प्रदेश तथा संघीय चुनाव अग्निपरीक्षाको रूपमा आउन सक्ने देखिएको छ । पहिलो संविधानसभा निर्वाचनमाा ठूलो सफलता प्राप्त गर्दै सबभन्दा ठूलो दल हुन सफल भएको माओवादी केन्द्र दोस्रो संविधानसभा निर्वाचन हुँदै २०७४ सालमा सम्पन्न भएको आम निर्वाचनमा भने यो पार्टीको सफलता र जनताको समर्थन खस्किएर गएको थियो । यसबाहेक २०७४ सालमा सम्पन्न भएको आम निर्वाचन माओवादी केन्द्रले नेकपा एमालेसँग मिलेर लड्नुपर्ने अवस्थासमेत आएको थियो ।

जनताको तहमा पार्टी संगठन कमजोर भएको वास्तविकतालाई ध्यानमा राखेर नै माओवादीका शीर्ष नेताहरूले आम निर्वाचन तथा स्थानीय निर्वाचन नेपाली कांग्रेसकै अगुवाइमा सत्तारुढ गठनबन्धन नै चुनावी मैदानमा उत्रनु पर्ने योजना अगाडि सारिराखेका छन् । अब हुने स्थानीय र संघीय चुनावमा आफ्नो सुरक्षित अवतरणका लागि अध्यक्ष प्रचण्डलगायतका माओवादी केन्द्रका अन्य नेताले यो योजना अगाडि सारेका हुन् । तर, अहिले सरकारको नेतृृत्व गरी राखेको नेपाली कांग्रेस गठबन्धनमार्फत नभएर एक्लै चुनावमा उत्रने निर्णयमा पुग्यो भने माओवादी केन्द्रलाई अध्यक्ष प्रचण्डले कसरी त्यो चुनावी समरमा प्रतिस्पर्धाका लागि उतार्ने हुने भन्ने प्रश्नले जवाफ पाउन सकेको छैन । तथापि, माओवादी केन्द्रका लागि प्रचण्डभन्दा अर्को विश्वासिलो र भरपर्दो नेता पनि भएको अवस्था छैन ।

यही कारणले गर्दा नै यी सबै चुनौती सामना गर्दै पार्टीलाई सम्मानजनक स्थानमा पु¥याउँछन् भन्ने विश्वास गरेर नै ८औँ महाधिवेशनबाट पनि अर्काे कार्यकालसम्मका लागि प्रचण्डको नेतृत्वलाई नै निर्वाध रूपमा स्वीकार्ने निर्णयमा माओवादी कार्यकर्ता पुगेका छन् । माओवादी कार्यकर्ताको यो अपेक्षा र अब आउन लागेको चुनौतीलाई अध्यक्षमा निरन्तरता पाएका प्रचण्डले कसरी सम्बोधन गर्छन् भन्ने प्रश्न भने प्रतिक्षाको विषय बन्न पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *