पार्टीभित्र देउवा पेलेरै जाने पक्षमा

राजनीति

सम्पन्न महाधिवेशनमा चालिस प्रतिशत मत ल्याएर पराजित भएका भए पनि नेपाली कांग्रेसका नेता शेखर कोइराला र उनीनिकटका नेताहरूले अब पार्टीमा गुट सञ्चालन नगर्ने र संस्थापना पक्षसँग भाग खोजेर विवाद पनि नगर्ने प्रतिक्रिया दिएका थिए । शेखर कोइराला नेतृत्वको संस्थापना इतर पक्षले पार्टीमा गुट समाप्त गर्नका लागि यस्तो प्रतिक्रिया दिएको र संस्थापना पक्षसँग भाग नखोज्ने प्रतिवद्धता व्यक्त गरेलगत्तै संस्थापना पक्षभित्र नै खेल्न थालेका रामचन्द्र पौडेलले गुटलाई ब्युत्याउँने र निरन्तरता दिने कसरत सुरु गरेका छन् । यही कसरतअनुसार नेपाली कांग्रेसले आफ्नो भागमा परेको राष्ट्रियसभाका ६ जना सदस्यको उम्मेदवार चयन गर्ने मामिलामा नयाँ नेतृत्वको लागि सम्पन्न भएको आम निर्वाचन बाहिस्कार गरेका रामचन्द्र पौडेलले गुटलाई ब्युत्याउँने गरी खेलेर आफ्नो स्वार्थ पूरा गर्ने काम समेत गरेका छन् ।
आगामी माघ १२ गते राष्ट्रियसभामा रिक्त भएका १९ सदस्यको निर्वाचनका सम्बन्धमा सत्तारुढ गठबन्धनका दलहरूले भागबण्डा गर्दै नेपाली कांग्रेसको भागमा ६ जना नेकपा एकीकृत समाजवादी र माओवादीको भागमा पाँच–पाँच जना र यसैगरी जनता समाजवादीको भागमा २ र राष्ट्रिय जनमोर्चाको भागमा एक जना उम्मेदवारी दिने सहमति भएको थियो । यो सहमतिअनुसार ६ जना उम्मेदवार बनाउन पाउने सहमति गरेको नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार चयन गर्ने जिम्मेवारीमा रहेका रामचन्द्र पौडेलले १ नं. प्रदेशमा गोपाल कुमार बस्नेत, वाग्मती प्रदेशमा कृष्णप्रसाद पौडेल, गण्डकी प्रदेशमा कमला पन्त, यसैगरी कर्णाली प्रदेशमा दुर्गाकुमार गुरुङ र लुम्बिनी प्रदेशमा धु्रवराज शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको थियो र यही निर्णयअनुसार नेपाली कांग्रेसको तर्फबाट यी नेताहरूले राष्ट्रियसभामा रिक्त रहेको सदस्यका लागि उम्मेदवारी दर्ता गरेका छन् । नेता रामचन्द्र पौडेलले आफ्नो पार्टीको भागमा परेका ६ जना उम्मेदवारी दिने स्थितिमा उनले आफूनिकटका २ जना कमला पन्तलाई गण्डकी प्रदेशबाट र नारायण मिश्रलाई सुदूरपश्चिम प्रदेशबाट उम्मेदवार बनाएका छन् । बाहिरबाट हेर्दा यी दुई जना उम्मेदवार संस्थापना इतर पक्षका देखिए पनि यथार्थमा पन्त र मिश्र रामचन्द्र पौडेलका गोजीका नेताहरू हुन् ।
१४औँ महाधिवेशनको क्रममा नेतृत्वको लागि भएको निर्वाचन बहिस्कार गरेर शेरबहादुर देउवालाई सहयोग पु¥याएका पौडेलले यसरी संस्थापना इतर पक्षको नाममा राष्ट्रियसभाका २ जना सदस्यको उम्मेदवारी आफ्नो पोल्टामा पारिरहँदा दोस्रो कार्यकालका लागि सभापतिमा निर्वाचित भएका शेरबहादुर देउवाले पनि संस्थापना इतर पक्षलाई पेलेरै अगाडि बढ्ने सन्देश दिने गरी आफ्नो कामलाई अगाडि बढाएका छन् । निकतम् प्रतिद्वन्द्वीलाई वरियता क्रममा दोस्रो स्थानमा राख्ने कांग्रेसको परम्परालाई ताड्दै सभापति देउवाले आफ्नो दोस्रो कार्यकाल सुरु गरेसँगै वरियताक्रम निर्धारण गर्दा आफ्ना निकतम प्रतिद्वन्द्वी शेखर कोइरालालाई २०औँ स्थानमा पु¥याएर उनलाई र उनको पक्षलाई पेलेरै अगाडि बढ्ने संकेत दिएका छन् । निर्वाचित पदाधिकारीपछि पूर्व पदाधिकारी र त्यसपछि मात्र निकतम् प्रतिद्वन्द्वीलाई वरियता क्रममा राख्ने मापदण्ड कांग्रेसमा अवलम्बन गरिँदै आएको भन्ने भनाइ सभापति देउवाको पक्षबाट आएको भए पनि १४औँ महाधिवेशनमा उम्मेदवारीसमेत नदिएका पौडेललाई आफूपछिको निकतम नेताको रूपमा वरियताक्रममा राखेका छन् । यसैगरी शेखर कोइराला पक्षबाट उपसभापतिमा उम्मेदवार भएर पराजित भएका चन्द्र भण्डारी र महामन्त्रीका लागि उम्मेदवार भएर पराजित भएका मिनेन्द्र रिजाललाई संस्थापना इतर पक्षकै भएकै कारण केन्द्रीय कार्य समितिमा समेट्ने काम सभापति देउवाले गरेनन् । यसैगरी २०४८ सालमा गिरिजाप्रसाद कोइरालको नेतृत्वमा पहिलो मन्त्रिपरिषदमा आफू गृहमन्त्री हुँदा अर्थमन्त्रीको जिम्मेवारी सम्हालेका महेश आचार्यलाई पनि उनले कार्य समितिमा समेट्ने काम गरेका छैनन् । सम्पन्न महाधिवेशनमा महेश आचार्य स्वतन्त्र रूपमा उपसभापतिको उम्मेदवार भएका थिए । यसरी सभापति देउवा विगतमा पार्टी भित्र प्रतिपक्षको भूमिका निर्वाह गरेर पौडेलसँगै कृष्ण सिटौलालाई समेत आफ्नो पक्षमा पारेपछि अबका दिनमा भने शेखर कोइराला नेतृत्वको संस्थापना इतर पक्षलाई पेलेरै जाने रणनीतिमा लागेको देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *