कर्मचारी सरुवाको नाममा खेलोफड्को सुरु

प्रशासन

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट सचिव एकनारायण अर्याल श्रममा पुगेपछि त्यहाँ दिनेश थपलियाका नातेदार सुरेश अधिकारी सचिव बनेर पुगेका छन् । अहिले उनै सचिव अधिकारीले कर्मचारी प्रशासनमा बसेर विगतमा बद्नामी कमाएका उपसचिव रविन्द्रजंग थापालाई फेरि कर्मचारी प्रशासनमै तानेका छन् । थापा कमल थापाको सोर्समा नयाँदिल्लीको दूतावासमा ४ वर्ष काम गर्ने मौका पाएका थापा कहिल्यै उपत्यका बाहिर सरुवा नहुने, शक्तिकेन्द्रको आडमा सधैं काठमाडौंकै आकर्षक ठाउँमा बस्ने सुविधाभोगीमा पर्दछन् । उनी एकनारायण अर्याल सचिव हुँदा कर्मचारी प्रशासन (कप्र)को जिम्मेवारीबाट हटाइएकोमा अधिकारीले उनलाई पुन कप्रको जिम्मेवारी सुम्पिएका छन् ।
यस्तै, सचिव अधिकारीले रघुराम विष्टलाई कर्मचारी प्रशासनको हाकिम बनाएर लगेका छन् । विष्ट सहसचिवको जिम्मेवारीमा छन् । यसअघि अर्याल सचिव हुँदा रोकिएको कर्मचारी सरुवामा हुने मोलमोलाई धन्दा फेरि प्रारम्भ भएको कर्मचारीहरू सुनाउँछन् । जस्तो अधिकारी त्यहाँ गएको दुई सातामै ठूलो १६ जना सहसचिव र ५६ जना उपसचिवहरूको सरुवा भइसकेको छ । रूपनारायण खतिवडा, उपसचिव रविन्द्रजंग थापाहरूले खुलेआम कर्मचारी सरुवाको नाममा खेलो फड्को सुरु गरेको कर्मचारीहरूको आरोप छ । यसरी आरोप लगाउनुको एउटा कारण हो कर्मचारीको सरुवा नै रद्ध गरिदिनु । दुई साता अघि वैदेशिक रोजगार विभाग काठमाडौं कार्यालयका कर्मचारीको सरुवा सामान्यका उपसचिव रविन्द्रजंग थापाले रद्ध गरिदिएका हुन । थापाले ५ वर्षदेखि कार्यरत लक्ष्मी कार्की, ३ वर्षदेखि कार्यरत रामजीप्रसाद पोखरेल, नारायणप्रसाद पौडेल र राजन घिमिरेहरूको सरुवा बदर गरिदिएका हुन् । निजामती कर्मचारी वृत्तमा सबैभन्दा विकृति कतै छ भने त्यो हो सरुवा प्रणालीमा । कर्मचारी सरुवालाई व्यवस्थित, पारदर्शी र अनुमान योग्य बनाउने गफ धेरै शासकको मुखबाट सुनियो, तर व्यवहारमा भने अझैं लागू हुन सकेको छैन । चक्रीय सरुवा प्रणाली गफैँमा सीमित हुँदा कर्मचारी प्रशासनमा बस्ने हाकिम, आधिकारिक ट्रेड युनियनदेखि कर्मचारी संगठनका नेताहरूका लागि खेलो फड्को गर्ने माध्यमसमेत बनेको छ । मुलुक संघीयतामा गएपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बनेका हरेकजसो मन्त्रीले कर्मचारी सरुवा चक्रीय प्रणालीका आधारमा गर्ने अभिव्यक्ति सार्वजनिक गरिरहे । तर, यो चार वर्षसम्ममा मन्त्री फेरिने र तिनका मुखबाट कर्मचारी सरुवा चक्रीय प्रणालीमा गर्ने उद्घोष जारी छ ।
यही अभिव्यक्ति अहिले कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बढूले पनि सार्वजनिक गर्नुभएको छ । अस्ति शुक्रबार सर्वोच्च अदालतमा नेपाल निजामती कर्मचारी युनियनको आठौँ विभागीय अधिवेशन उद्घाटन समारोहमा बोल्दै मन्त्री बढूले निजामती कर्मचारीहरूको सरुवा, बढूवालाई पारदर्शी र निष्पक्ष बनाउन चक्रीय प्रणाली लागू गर्न छलफल भइरहेको बताउनुभएको थियो ।
मन्त्री बढूले सरुवालाई पूर्वानुमान योग्य हुनसक्ने गरी सबैले सबै ठाउँमा जाने चक्रीय प्रणालीको रूपमा विस्तार गर्न छलफल भइरहेको बताउनुभएको थियो । सोर्स, फोर्स लगाएर सुगममा बसेर पेन्सन पकाउने कुरा न्यायोचित नभएकोले कारबाहीमा परेका बाहेक अरुलाई एक समय पुगेपछि आफैँ यो पदमा पुग्छु भन्ने व्याच प्रमोसन गर्ने कुरामा छलफल भइरहेको मन्त्री बढूको उद्घोष थियो ।
यस अघि गत २० मंसिरमा मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठले पनि कर्मचारी सरुवा चक्रीय प्रणालीमा गर्ने उद्घोष गर्नुभएको थियो । यसअघि संघीय निजामती सेवा विधेयकमा समेत कर्मचारी सरुवा चक्रीय प्रणालीमा गर्ने उल्लेख गरिएको थियो । निजामती कर्मचारीहरूको सरुवा गर्दा निजामती कर्मचारीलाई सबै भौगोलिक क्षेत्रको अनुभव दिलाउने र पूर्वानुमान योग्य हुने गरी तोकिए बमोजिमको आधार र प्राथमिकता बमोजिम पारदर्शी रूपमा गरिने बुँदा विधेयकको दफा २२ मा उल्लेख गरिएको छ ।
चक्रीय सरुवा प्रणालीबारे गफ धेरै भए पनि निजामतीमा अहिलेसम्म चक्रीय सरुवा लागू हुन सकेको छैन । स्थानीय तहहरूको आधारमा नेपालको भूगोललाई चार वर्गमा विभाजन गरी कर्मचारीलाई चक्रीय रूपमा सरुवा गर्ने गरी विधेयकमा उल्लेख गरिएको भए पनि सो विधेयक नै अलपत्र परेको छ । अहिले पनि सरुवाको नाममा युनियनहरूकोमा धाउने, नेताले सोर्स–फोर्स लाउने, हाकिमहरूले खेल्न पाउने जस्ता विकृति रहँदै आएको छ । पहुँचवालाहरूले सिंहदरबार छोड्नु नपर्ने, निमुखा कर्मचारी दुगर्मबाट माथि आउन नपाउने अवस्था पनि निजामती सेवाभित्र विकृतिको रूपमा रहेको छ । सरुवामा चक्रीय प्रणाली लागू भएको खण्डमा मेरो सरुवा कहाँ हुन्छ भन्ने कुरा कर्मचारीलाई अग्रिम थाहा हुन्छ अर्थात कुनै कर्मचारी कर्णालीमा कार्यरत छ भने कहिले काठमाडौं आई पुग्छु भन्ने थाहा हुने प्रणाली हो यो । बढूले झैं मन्त्री श्रेष्ठले पनि कर्मचारीको सरुवालाई वैज्ञानिक र पारदर्शी बनाउन चक्रीय प्रणाली अवलम्बन गर्न लागिएको बताउनुभएको छ ।
यस अघि संघीय मामिला तथा सामान्य प्रशासन रेखा शर्मा, लालबाबु पण्डित, हृदयेश त्रिपाठी, गणेश पहाडीसम्मका हरेक मन्त्रीहरूले कर्मचारी सरुवा चक्रीय प्रणालीमा हुने उद्घोष गरे पनि यो अभिव्यक्ति सस्तो लोकप्रियताका लागि मात्र मन्त्रीहरूले अभिव्यक्त गर्ने गरेको रूपमा कर्मचारीहरूले टिप्पणी गर्न थालेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *