पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको सपना हो रेल र पानी जहाज ल्याउने । अघिल्लो प्रधानमन्त्री केपी ओलीको पहिलो लक्ष्य रेललाई हालका प्रधानमन्त्री देउवाले कत्तिको प्राथमिकतामा राख्नु भएको छ, बजेट, जनशक्तिको अवस्था, रेल ल्याउनु उद्धेश्यहरू, रेल सञ्चालनका लागि के–कस्ता काम भइरहेका छन्, कहाँसम्म चल्दछ, खर्च उठाउन सक्छ कि सक्दैन आदि सेरोफेरोमा हामीले नेपाल रेल विभागका महानिर्देशक दीपककुमार भट्टराईसँग गरेको कुराकानीको अंशः
० अघिल्लो प्रधानमन्त्री केपी ओलीको पहिलो लक्ष्य नै रेल थियो अहिलेको प्रधानमन्त्री देउवाले यो विषयलाई कत्तिको प्राथमिकतामा राख्नु भएको छ ?
रेल प्राथमिकतामा पहिला पनि थियो अहिले पनि छ । कामहरू पनि भइरहेको छ । बजेटको कमी जहिले पनि हुन्छ ।
० बजेटको कमी छ भन्नुभयो, के छ अहिले बजेटको अवस्था ?
नेपालमा २ प्रकारबाट रेल सञ्चालनको तयारी गरिएको छ । दुई देशबीच चल्ने रेल जुन भारत सरकारको लगानी रहेको छ भने आन्तरिकमा नेपाल सरकारको लगानी रहेको छ । नेपाल सरकारको बाट हामीले काम गरिरहेका छौँ । नेपाल सरकारले पूर्व–पश्चिम रेलमा खर्च गर्दछ । अहिले निजगढदेखि बर्दिवाससम्म भइरहेको छ । अहिले ७० किलोमिटरमा ५० किलोमिटर सकिएको छ । २ सवा दुई अर्बको हाराहारीमा बजेट छ ।
० कर्मचारीको अवस्था के छ ?
पहिलो काम त कर्मचारी व्यवस्थापन गर्नु थियो मन्त्रिपरिषदबाट करारमा कर्मचारी नियुक्त गर्ने निर्णय गरायौँ । तर, लोकसेवा आयोगले यत्रो संख्यामा करारमा कर्मचारी राख्न ठीक नहुने भन्दै स्थायी कर्मचारी राख्न भनेपछि त्यो काम रोकियो । कर्मचारीहरूको पदपूर्तिका लागि विभिन्न अभ्यास गरियो । त्यसअनुसार ठीक रेल सञ्चालनकै लागि योग्य नभए पनि प्रशासनिक कर्मचारी ल्याउने र प्राविधिक भारतबाट ल्याएर तालिम दिएर राख्ने भनेका छौँ । तर, निजामतिले पुग्दैन । रेल विभाग भनेको पूर्वाधार निर्माणसँग सम्बन्धित कार्यहरू हो । अहिले ३५ जना कर्मचारीहरू छौँ विभागको हिसाबले । रेल विभागअन्तर्गत आयोजना छ, रेल, मेट्रोरेल तथा मनोरेल विकास आयोजना । यसअन्तर्गत दुई ओटा कार्यालयहरू पनि छन् लालबन्दी र दमकमा । सबै क्षेत्रलाई समेटेर हेर्दा ९६ जना सरकारी कर्मचारीहरू छौँ ।
० रेल क्षेत्रका उद्धेश्य र परिकल्पनाहरू के–के हुन् ?
प्रभावकारी एवं सक्षम तवरमा रेल सञ्जालको विकास, विस्तार र व्यवस्थापन गर्ने । सामाजिक, आर्थिक र प्रशासनिक सम्बन्धलाई सुदृढ र सक्षम बनाउन महत्वपूर्ण व्यापारिक, औद्योगिक, धार्मिक, पर्यटकीय क्षेत्रहरू एवं राजधानीलाई छिमेकी मुलुक उत्तर र दक्षिणका सम्भाव्य स्थानहरूसमेतलाई रेल सेवाले जोड्ने । सुरक्षित, भरपर्दो, विश्वसनीय एवं न्यूनतम भाडा दररेटमा सर्वसाधारणलाई रेल सेवा उपलब्ध गराउने । साथै माल सामान ढुवानी किफायती र भरपर्दो बनाउने । अन्य पूर्वाधार विकासलाई सहयोग गर्न एवं सुविधामूलक सेवाहरूको प्रभावकारी ओसार–पसारलाई सहज बनाउन तथा आर्थिक वृद्धिलाई सुदृढ गर्न रेल सञ्चालनको विकास तथा विस्तार गर्ने । रेल सञ्जाल निर्माण, विस्तार, सञ्चालन, व्यवस्थापन गर्न निजी संस्थाहरूको सहभागिता जुटाउने, प्रोत्साहन गर्ने । अन्तराष्ट्रिय रेल सञ्जालसँग आवद्ध गर्ने र अन्तराष्ट्रिय बजार÷व्यापार प्रवद्र्धन गर्ने उदेश्यहरू हुन् । भने, रेल्वे क्षेत्रको समग्र लक्ष्य भनेको सुरक्षित, भरपर्दो एवं ल्याकतअनुसार सार्वजनिक रेल सेवाको निर्माण र विस्तार अन्तराष्ट्रिय जगतसम्म गरी सञ्चालन र व्यवस्थापन समयसापेक्ष एवं समुचित ढंगमा गरी सेवालाई विश्वस्तरीय बनाई देशको सामाजिक, आर्थिक विकास समग्रतामा वृद्धि गर्नु हो । उपरोक्त परिकल्पनालाई कम खर्च मा एवं सक्षमताका साथ रेल्वे सेवाको पूर्वाधार विकास, विस्तार एवं व्यवस्थापनसहित हासिल गर्नु पर्दछ । देशको समग्र (सामाजिक–आर्थिक) विकासमा बृहत्तर पहुँच र वृद्धिसहितको दिगो विकासका लागि रेल सेवाको उचित व्यवस्थापन नै रेल्वे क्षेत्रको परिकल्पना हो । रेल्वे सञ्जाललाई निर्माण, विस्तार एवं व्यवस्थापन गर्दै क्रमश ः अगाडि बढ्नु एवं दिगो र सक्षम सेवा प्रदान गर्नु, पूर्व–पश्चिम एवं महत्वपूर्ण औद्योगिक, व्यापारिक, पर्यटकीय सहरहरूलाई रेलको राष्ट्रिय सञ्जालमा आवद्ध गराउनु एवं भारत र चीन (तिब्बत) समेतका संभाव्य नाकाबाट रेल सेवाले जोडी अन्तराष्ट्रिय व्यापारलगायत कृषि, पर्यटन, जलस्रोत, उद्योग, व्यापार र प्राकृतिक स्रोत विकासका क्षेत्रमा रेल सेवाले सुविधा पु¥याउनु एवं सेवामा वृद्धि गर्नु रेल सञ्जालसँग विकासको परिकल्पना हो ।
० रेल सञ्चालनका लागि अहिलेसम्म के–के काम सकिएका छन् ?
रेल सञ्चालन गर्ने भनियो । १ वर्ष ३ महिना अगाडि नै आयो । तर, दुई ओटा मोडालिटिमा चलाउनु पर्ने थियो । एउटा रेल नेपाल सरकारले भारत सरकारले जिटुजी माध्यमबाट खरिद गर्ने र उनीहरूको कम्पनीले सुरुदेखि सञ्चालन गर्ने । दोस्रोमा जिटुजीमा रेल खरिद गर्ने र नेपालले आफ्नो कर्मचारीहरू राखेर सञ्चालन गर्ने यो दुई ओटा मोडालिटी रहेको थियो । त्यसमध्ये नेपाल सरकारले दोस्रो अपनायो । सुरुमा रेल खरिद गरियो र आफैँले आफ्नो झण्डा भएको रेल चलाउनलाई कर्मचारी नियुक्त गर्ने र चलाउने भएको छ । रेल चलाउन हामीसँग कानुनको अभाव थियो, दुई देशबीच रेल चलाउने थियो, त्यसको लागि सहमति भएर दुई देशले सहमति भएर सही गर्नु पर्ने थियो, नेपाल रेलवे कम्पनीले जनशक्ति पनि व्यवस्था गरिसकेको थिएन । यी कुराहरू अहिले पार गरेका छौँ ।
० रेल कहाँसम्म चल्छ ?
क्रस बोर्डर रेलअन्तर्गत जयनगरदेखि जनकपुर हुँदै प्युठासम्म चल्ने हो । जुन ३५ किलोमिटर रहेको छ । यसको हस्तान्तरण भारत सरकाले हामीलाई गरिसकेको छ । यसमा सम्पूर्ण कामहरू सकिएको छ । त्यस्तै १७ किलोमिटर पनि काम सकिएको जानकारी गराएको छ भारत सरकारले । उद्घाटनको चरणमा जयनगरबाट ४÷५ किलोमिटर पश्चिमतर्फ रेल सञ्चालन गर्छौँ । यही आर्थिक वर्षमा महोत्तरीको विजयापुरासम्म चलाउछौँ । विजयापुराबाट बर्दिवाससम्मको संरचना भने बन्न बाँकी छ ।
० दुईवटै रेल सञ्चालन हुन्छ ?
सुरुमा एउटा रेल सञ्चालन हुन्छ र १० दिनपछि त्यो नियमित सर्भिसिङमा जान्छ । त्यसपछि अर्को रेल चलाउँछौँ । यसरी प्रत्येक १० दिनको रोटेसनमा एक÷एक गरेर दुईटा रेल चल्छ ।
० सञ्चालन खर्च कति लाग्छ ?
करसहित रू. १ अर्बमा दुईवटा रेल खरिद भएको हो । अब यसमा लाग्ने भनेको मुख्यतः सञ्चालन खर्च नै हो । सुरुवात भएकाले बढी खर्च लाग्छ । वार्षिक रेल सञ्चालन खर्च २० देखि २५ करोडसम्म लाग्छ । भारतबाट प्राविधिक आउने भएकाले उनीहरूलाई दिइने तलब खर्च बढी छ, नेपाली निजामति कर्मचारीसँग तुलना गरेर हुँदैन । रेलमा सञ्चालन खर्चै बढी छ, यो हात्ती पाले जस्तै हो ।
भारतीय प्राविधिकलाई जति चाँडो विस्थापित गर्यो खर्च त्यति नै कम हुन्छ । प्राविधिक, सर्भिसिङ, ट्रयाक, सिग्नललगायतको काम पनि गर्नुपर्ने भएकाले सुरुवातमा अझ बढी खर्च लाग्छ ।
० रेल चलाएर सञ्चालन खर्च उठाउन सकिन्छ त ?
रेलै चलाएर लगानी उठाउन सकिन्न । यसमा अप्रत्यक्ष रुपमा अन्य व्यवसाय गरेर रेल चलाउने हो । जस्तो मसँग जनकपुरमा १५ बिगाहा जग्गा छ । अब रेल चलेपछि यात्रुहरूको आवतजावत हुन्छ । त्यो जग्गामा म रेस्टुरेन्ट खोलेर नाफा कमाउन सक्छु । यसरी अन्य व्यवसाय गरेर यसबाट फाइदा लिने हो । रेलै चलाएर भाडा उठाउँछु भन्ने हुँदैन । रेल चल्न थालेपछि यसबाट प्रत्यक्ष–अप्रत्यक्ष रूपमा फाइदा लिने हो ।
० अहिले खरिद गरिएको रेल पेसेन्जर रेल हो, रेलै चलाएर लगानीसम्म उठाउन सकिने देखिएन । व्यवसाय प्रयोजनका लागि कार्गो रेल सञ्चालनको योजना के छ ?
कार्गो रेल सञ्चालनका लागि सोचिरहेका छौँ । सामान निर्यातभन्दा पनि भारतीय सामान आयात गर्नेगरी कार्गो चलाउन सके नेपालमा सामान सस्तो हुनसक्छ । अहिले सामान आयात गर्दा खर्चै बढी लाग्छ । सेटअप राम्रो भएर पेसेन्जर रेल सञ्चालनमा आइसकेपछि कार्गो रेल थप्न पर्छ भन्ने सोच बनाएका छौँ ।
० रेल चलाउनअघि भारतीय पक्षसँगको सम्झौताका लागि के भइरहेको छ ?
अन्तरदेशीय रेल भएकाले भारतीय पक्षसँग सम्झौता भइसकेको छ । एसओपी स्टान्डर्ड मन्त्रिपरिषद्ले पास गरिसकेकोमा भारतमा पनि पठाइएको छ र दुवै पक्षबीच छलफल भएर स्वीकृति भइसकेको छ । केहीगरी कुनै अप्रिय घटना भयो भने जुन देशभित्र उक्त घटना घटेको छ त्यही देशको कानुन मान्य हुने गरी सहमति भएको छ । रेल सञ्चालनका विषयमा हामी र भारतीय पक्षबीच पूरा गर्नुपर्ने सम्झौतागत कुराहरूदेखि लिएर कानुनी, व्यवहारिक र कार्यगत समझदारीलाई एकदमै सकारात्मक र समन्वयात्मक ढंगले पूरा गरिरहेका छौँ । रेल सञ्चालनले दुई देशबीचको सम्बन्धको उचाइँलाई समेत थप चुल्याउन र दुई छिमेकी देशबीचको निकटतालाई मजबुत बनाउन महत्वपूर्ण भूमिका खेल्छ ।
० रेल सञ्चालनका लागि भारतीय पक्षको भूमिका चाहिँ कस्तो छ ?
रेल सञ्चालनका लागि भारतीय पक्ष अझै गम्भीर भएर लागिरहेको छ । भारतले सबै काम चाँडो सक्न हामीहरूलाई भनिरहेको छ । हामी विभिन्न प्रक्रियामा घुमिरहन्छौँ, हामीहरूभन्दा उहाँहरू बढी व्यग्रतापूर्वक लागिरहनुभएको छ । नेपालस्थित भारतीय दूतावाससँग पनि मेरो नियमितजस्तो कुराकानी भइरहेको हुन्छ । रेल सञ्चालनका विषयमा उहाँहरूबाट धेरै राम्रो समन्वय र सहयोग मिलिरहेको छ । हाम्रोमा धेरै नै प्रक्रियागत झञ्झटहरू छन्, यस्ले गर्दा पनि काम गर्ने कुराको गतिमा सुस्तता देखिने गर्छ । तर, हामी जुन हिसाबले लागि रहेका छौँ र भारतबाट समेत हरेक हिसाबले साथ, सहयोग, समन्वय र सहकार्यको वातावरण बनिरहेको छ यसले गर्दा नेपालमा हामीले आफ्नै रेल दौडाउने हाम्रो सपना चाँडै पूरा हुँदैछ ।
० अन्तिममा रेलको पर्खाइमा बसेका नागरिकहरूलाई के भन्नुहुन्छ ?
यो नयाँ होइन, पहिले पनि रेल चल्थ्यो भनेर आलोचना हुने गरेको छ । नेपाललाई रेल पनि चाहिन्छ र ? किन चाहियो भनेर विभिन्न दुस्प्रचार पनि गरिएको छ । पहिले रेल चल्ने भए पनि त्यो विस्थापित भएर हामीले नयाँ आधुनिक रेल ल्याएका छौँ । रेललाई विस्तार गरेर पूर्वपश्चिम रेल चलाउने योजना बनाएका छौँ । यो सुरुवात हो । अहिले जति सानो दूरीमा चलाए पनि भोलिको ‘रेल युग’को निर्धारक हो यो । भारत र चीनलाई रेलमार्गले जोड्ने योजनाअनुसार काम भइरहेको छ । अहिलेको रेल चलेपछि भारतीय पर्यटक बढ्छन्, आयात निर्यातमा सहज हुन्छ । त्यसैले यो भोलिको रेलको संरचनाहरूका लागि पनि सुरुवात हो । यो प्रधानमन्त्री केपी शर्मा ओलीले देखेको समृद्ध नेपाल सुखी नेपालीबारेको सपनाको एउटा साकार रूप पनि हो ।