विभिषणको भूमिका खेलेकी सुजातालाई मन्त्रीको प्रस्ताव

राजनीति

१४औँ महाधिवेशनको क्रममा नयाँ नेतृत्वको लागि भएको निर्वाचनमा विभिषणको भूमिका निर्वाह गरेर आफ्नो दाजु शेखर कोइरालालाई पराजित गर्न महत्वपूर्ण भूमिका निवाृह गरेकी नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालालाई प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उच्च सम्मान गर्ने भएका छन् । १४औँ महाधिवेशनको क्रममा नयाँ नेतृत्वको लागि भएको निर्वाचनमा महामन्त्रीमा पराजित भएपछि डा. मिनेन्द्र रिजालले रक्षामन्त्रीबाट पनि नैतिकताको आधारमा राजीनामा गरेका थिए । पराजित भएपछि राजीनामा गरेर रिक्त रहेको रक्षामन्त्रीमा प्रधानमन्त्री देउवाले सुजाता कोइरालालाई ल्याउने तय गरेका छन् । यस सम्बन्धमा पुरस्कारस्वरूप रक्षामन्त्री दिने उद्घोष सभापति तथा प्रधानमन्त्री देउवाले गरेपछि प्रफुल्ल भएकी सुजाता कोइरालाले आफू यसभन्दा अगाडि उपप्रधानमन्त्री भइसकेको हेक्का राख्न अनुरोध गर्दैै आफूलाई उपप्रधानमन्त्री बनाउन आग्रह गरेकी छन् । प्रधानमन्त्री देउवाले सुजाता कोइरालालाई मन्त्री बनाउने आश्वासन दिएको भए पनि यो आश्वासन कहिले लागू हुन्छ भन्ने चाहिँ निश्चित छैन । अहिले वर्तमान सरकारमा उद्योग वाणिज्य आपूर्ति मन्त्रालयसँगै रक्षा मन्त्रालय रिक्त रहेको छ । यसैगरी पार्टीतर्फ प्रवक्ता पनि चयन भएको छैन । पार्टी प्रवक्ताका लागि रमेश लेखक र एनपी साउद प्रमुख दाबेदार देखिएका छन् । प्रधानमन्त्री देउवाले केही समय अगाडि पार्टी विधानले दिएको अधिकार उपयोग गर्दै केन्द्रीय सदस्य मनोनित गर्दा दुई पक्षबाट शशांक कोइराला बाहेक कसैलाई पनि मनोनयन गरेका छैनन् । पार्टीका विधानअनुसार सभापतिका निकतम् प्रतिद्वन्द्वीलाई केन्द्रीय सदस्यमा मनोनयन गर्नु पर्ने नियमअनुसार प्रधानमन्त्री तथा पार्टी सभापति देउवाले संस्थापना इतर पक्षबाट शेखर कोइरालालाई मात्र केन्द्रीय सदस्यमा मनोनयन गरेका छन् । प्रधानमन्त्री देउवाले मनोनयनका सम्बन्धमा गरेको यो कदमप्रति नेपाली कांग्रेसमा चर्को आलोचना र टिकाटिप्पणी भई राखेको छ । यो आलोचना र टिकाटिप्पणीलाई सम्बोधन गर्न सभापति देउवाले कार्यदल गठन गरेर भूलसुधार गर्ने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *