कमलको एक्लो हुर्र्रे–हुर्र

राजनीति

काठमाडौं । पार्टीको महाधिवेशनमा युवा जमातले ठाउँ लिँदा संसदीयकालको मुसा प्रवृत्तिका कमल थापाको पराजयले राप्रपाभित्र अहिले पनि लडाइँ चलिरहेको छ । राजाको नाममा हिन्दू धर्मको लिगेसीबाट एकपटक संविधानसभामा स्थान पाएका कमल थापासँग पशुपतिशम्शेर र डा.प्रकाशचन्द्र लोहनीसमेत टाढिएका थिए । पार्टी फुटाउन पनि गीता छोएर एकता गरिएको छ । नफुटाए आफू नेता बन्ने अवस्था छैन । त्यसैले कमल थापाले राष्ट्रिय एकता दिवस अर्थात् पृथ्वी जयन्तीको अवसर पारेर आफ्नो टिमको भेला गर्ने भएका छन् । थापासँगै बुद्धिमान तामाङ पनि विवादमा छन् ।
बुद्धिमान तामाङ, कमल खेमाबाट उपाध्यक्ष भएका हुन् । डा.प्रकाशचन्द्र लोहनी र पशुपतिशम्शेरले युवा टिमलाई साथ दिएकै कारण राजेन्द्र लिङ्देन र धवल शमशेर जबराको टोलीले चुनाव जित्दा कमल थापा रन्थनिँदै पूर्व राजा ज्ञानेन्द्रसँग रिसाएर ज्ञानेन्द्रविरुद्ध ऐलान गर्दैछन् । थापाले ज्ञानेन्द्रसँग पैसा लिएर चुनावमा पनि रमिता देखाएका थिए । क्रिश्चियन मिसनरीको ९ करोड पैसा लिएर आफ्ना सांसदलाई बाँडेका थापा अहिले तिनै सांसदको विश्वास गर्न छाडेका छन् । पूर्वसांसदहरू यसपटक राजेन्द्र र धवलसँग मिलेका छन् ।
दरबारका सचिवहरू डा.फणि पाठक, डा.सागर तिमिल्सिनाको मात्र होइन, प्रमुख सचिव पशुपतिभक्त महर्जनसमेत कमल थापाको विरोधको निशाना बनेका छन् । जबकि राप्रपाले हिन्दूधर्मको नाममा चलाएको मेची–काली रथयात्रामा पूर्वराजाकै खर्चले ठाउँ पाएको थियो । अहिले राप्रपाको एजेण्डा राजा र हिन्दूधर्म भएको छ । धर्मका नाममा क्रिश्चियनको पैसा खाने काम त कमलले गरेकै हुन् । उनले नारायणहिटी संग्रहालयको जग्गा व्यापारीलाई सुम्पेर पैसा खाने एमाले नेताहरूलाई राष्ट्रवादी देखेर त्यो मन नपराउनेहरूकै असहयोगले कमल पराजित भएका छन् । कमल आफ्नो टिममा प्रदेशस्तरीय भेला गर्ने भन्दैछन् । पार्टीमा उनी आमन्त्रित केन्द्रीय सदस्य हुन्छन् । आमन्त्रित केन्द्रीय सदस्यको आह्वानमा हुने भेला कस्तो होला ? डा. प्रकाशचन्द्र लोहनीले पार्टीमा एकता कायम गर्न नेतृत्वलाई सहयोग गरेका छन् । पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले भने राप्रपामा मुसा चम्मेको अवस्थामा रहेको बताइन्छ । पशुपतिशम्शेर राजा भुल्ने रोगले ग्रस्त हुँदा थापाकै उक्साहटमा लाग्ने अवस्था छैन ।
जिल्लागत रूपमा गतसाता केन्द्रीय सदस्यमा मनोनित गरिएको छ । राजेन्द्र र धवलशम्शेरको टिमले चलाएको राप्रपा कमल थापाको जस्तो स्वार्थमा लम्कने र थन्कने अवस्थामा नपुग्ने देखिन्छ । धवल र राजेन्द्र पहिले राप्रपाका महामन्त्री पदमा थिए । थापालाई आफूसँग डा.प्रकाशचन्द्र लोहनी र पशपति शमशेर नमिले राजेन्द्र र धवलको साइज नपुग्ने बताएका थिए । तर, अहिले तिनको हालत सडकमा पुगेको अवस्था छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *