ओलीको भक्तहरु अप्ठ्यारोमा

राजनीति

काठमाडौं । केपी ओली सत्तामा हुँदा अनेकन आर्थिक लाभ हासिल गरेकाहरू ओलीको ओरालो यात्रासँगै अप्ठ्यारोमा पर्न थालेका छन् । तिनैमध्येका एक उदाहरण हुन् आनन्द बतास । पशुपतिभित्र सञ्चालित होटल आनन्द होस् वा नारायणहिटीभित्र बन्दै गरेको क्याफेटेरिया (रेष्टुँरा) । यी दुवैमाथि मन्त्री प्रेम आले आक्रामक रूपमा खडा भएका छन् । ओलीका कार्याकालमा खुलेआम लुट मच्चाउनेमध्येकै अर्काे हुन् अच्युतप्रसाद खरेल । जो समानान्तर निर्माण सेवाका मालिक । ओलीकै आडमा २१ अर्बभन्दा बढीको सरकारी ठेक्कापट्टा हात पारेका थिए । ओलीको बर्हिगमन र देउवा सत्तामा पुगेसँगै अहिले राजस्व छलिको मुद्दामा समानान्तरविरुद्ध राजस्व अनुसन्धान विभागले अनुसन्धान गर्दैछ ।
यी मात्र होइन् व्युरोक्रेटहरूसमेत अहिले अप्ठ्यारोमा पर्ने स्थिति आइरहेको छ । तिनैमध्यकी अर्काे पात्र हुन् सचिव यामकुमारी खतिवडा । यामकुमारी नाताले राष्ट्रपति विद्यादेवी भण्डारीको भाञ्जी, यामकुमारीको श्रीमान त्रिभुभवन विश्वविद्यालयमा कुलपति छन् । हाइप्रोफाइलमा रहेका र शक्तिको आडमा लामो समय उद्योग मन्त्रालयमा रहेकी यामकुमारी अबको केही महिनापछि नै ५८ वर्षे उमेर हद लागेर घर जाँदैछिन् ।
उनै खतिवडालाई हालैमात्र महिला बालबालिका मन्त्रालयबाट तानिएको छ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा । प्रधानमन्त्री कार्यालयमा सचिवलाई तान्नु भनेको कारबाही गरिएझैं मानिन्छ । हालैमात्र खतिवडालाई प्रधानमन्त्री कार्यालयमा तानिनु र उनीमाथि अख्तियारले बयान लिनु संयोगमात्र पक्कै मान्न सकिन्न । खतिवडा उद्योगमा रहँदा गरेको एउटा बद्मासीमा उनीमाथि अख्तियारले यो साता टंगालमा बोलाएर बयान लिएर छोडेको छ । अख्तियार स्रोतका अनुसार, खतिवडा उद्योग सचिव हुँदा ९ वटा चुनढुंगा उद्योगलाई सवा अर्बभन्दा बढी जरिबाना मिनाहा गरिएको प्रकरणमा उनलाई अख्तियारले छानबिन गरेको हो । ‘खानी तथा भूगर्भ विभागले खानी दोहन गर्ने ती उद्योगलाई एक अर्ब बढी क्षतिपूर्ति भराउन प्रतिवेदन दिएको रहेछ । तर, तत्कालीन मन्त्री लेखराज भट्ट र सचिव खतिवडाको मिलेमतोमा थोरै मात्र जरिबाना गरेर छुट दिने निर्णय गरेको पाइयो । त्यसैले उनीहरूसँग बयान लिइएको हो’, अख्तियार उच्च स्रोतले भन्यो । अख्तियार स्रोतकाअनुसार ललितपुरमा रहेको युनाइटेड सिमेन्टसहित मारुती सिमेन्ट, अन्नपूर्ण क्वारिज, कञ्चन क्वारेज, डोलामोइट चुनढुंगा प्रालि, सिद्धार्थ सिमेन्ट, उदयपुर मिनरल्स, सोनापुर आयल एन्ड मिनरल्स, सर्वाेत्तम सिमेन्टलाई प्राकृतिक स्रोत दोहन गरेको भन्दै खानी तथा भूगर्भ विभागले जरिबाना गर्न प्रतिवेदन दिएको थियो । तत्कालीन मन्त्री र सचिवको सेटिङमा राज्यलाई हानी नोक्सानी पु¥याउने उद्योगलाई उल्टै छुट दिने काम भएको अख्तियार स्रोतको दाबी छ । हिजो ओली सत्तामा हुँदा नछोइएका खतिवडालाई झैं माओवादीमा प्रचण्डको साथ छाडेर ओलीका पछि लागेका तत्कालीन उद्योगमन्त्री लेखराज भट्टमाथि समेत अख्तियार लागेको स्रोतले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *