जोर–बिजोर लागू गरेर होला त ओमिक्रोनको रोकथाम ?

समाचार

काठमाडौं । हाल नेपालमा कोरोना संक्रमितको संख्या बढेर दैनिक १० देखि १२ हजारको हाराहारीमा उकालो लागेको छ । अहिले कोरोना संक्रमितको सक्रिय संख्या ८०÷८५ हजार पुगेको अवस्था छ । राजनीतिक दलको सभा सम्मेलन, गोष्ठी इत्यादीका कारण कोरोना व्यापक फैलिएको छ । यसको रोकथामको उपाय भनेको भीडभाड नगर्ने, सामाजिक दूरी कायम राख्ने, साबुन पानीले हात धुने नै हो । नेपालमा व्यापक मात्रामा ओमिक्रोन फैलिनुमा सिमानामा भारतबाट आउने मानिसको भीडसँगै राजनीतिक दलको सभा सम्मेलनदेखि विवाह, ब्रतबन्ध, पास्नी, भोजभतेर रहेका छन् । सरकारले यसको रोकथाम गर्ने भनेता पनि आम मानिसले बेवास्ता गर्दा प्रायःजसो गाउँ–बस्तीदेखि सहरसम्म कोरोना संक्रमण फैलिएको छ । अहिले प्रायःजसो यातायात कार्यालयदेखि स्थानीय तह, महानगर, उपमहानगरपालिका, वडाका प्रतिनिधि, सिंहदरबारभित्र कार्यरत कर्मचारी, विभिन्न पेसा, सेवामा कार्यरत कर्मचारीदेखि नर्ससम्मलाई कोरोना संक्रमणले सताएको छ । सरकारले यातायात क्षेत्रलाई जोरबिजोर लगाए पनि झन् भीड गराउन खोज्दैछ । जोरबिजोर लागू गरेपछि यातायातका साधन कम चलेका हुन्छन् भने आम सर्वसाधारण जनता यातायात चढ्न बाध्य भएपछि सवारी साधनमा भीड लाग्ने र सो भीडबाट कोरोना भाइरस फैलिने सम्भावना बढेर जाने गरेको छ ।
खासगरी कोरोना भाइरस बढ्नु राजनीतिक दलको कारणसँगै यातायातमा कोचाकोच यात्रु राख्नु, मालदार अड्डामा सेवाग्राहीको भीड लाग्नु, यस्तै निर्वाचन आयोगले मतदाता परिचय पत्र बनाउने, यातायात लाइसेन्स बनाउने, विदेश जानका लागि पासपोर्ट बनाउने, मालपोतमा जग्गा किनबेचमा जाने, नापीमा जग्गा हालसाविक, कित्ताकाट गर्न जाने, कम्पनी रजिष्ट्रारको कार्यालयमा कम्पनी नवीकरण गर्न जाने, उद्योग दर्ता गर्न जाने कामले यी कार्यालयहरूमा भिडभाड लाग्ने गरेका कारण कोरोना व्यापक बन्दै गएको छ ।
योसँगै फुटपाथमा पसल राखेर व्यापार सञ्चालन गर्ने व्यापारीले व्यापक रूपमा भीड गराएका छन् । खासगरी असन, भोटाहिटी, भेडासिंह हुँदै हनुमानढोका क्षेत्रमा फुटपाथ पसल सञ्चालन गर्ने व्यापारीले भीड बढाएका छन् । यस्तै सहरको विभिन्न भागमा फुटपाथ पसल राखेका छन् । अहिले व्यापारीले गर्ने पसलमा त्यति भीड देखिँदैन । भीड लाग्ने ठाउँ हस्पिटल, फुटपाथमा व्यापार गर्ने व्यापारी, यातायातमा सवार गर्ने यात्रुले भीड बढाएको अवस्था छ । यस्तै सहरका विभिन्न स्थानमा फुटपाथ पसल व्यवसायीले सामाजिक दूरी कायम गराएका छैनन् । उता माइक्रोबस, गाडी, ट्याम्पोजस्ता सवारीमा भीड लाग्ने गरेको छ । यस्ता ठाउँमा प्रहरीले निगरानी राखेर कारबाहीको दायरामा ल्याउनुपर्ने हुन्छ । खासमा अहिले पनि सभा सम्मेलन, विवाह गर्न २५ जनाभन्दा बढी उपस्थित हुन पाइँदैन भनिराख्दा भित्री रूपमा विभिन्न कार्यक्रम सञ्चालन भइराखेका छन् । यसको नियन्त्रण र नियमन हुन सकेको छैन । खासमा यातायात पूरै सञ्चालन गराउने र सिट क्षमताभन्दा बढी यात्रु नराखी सञ्चालन गर्न दिनु उचित उपाय हुने थियो । तर, जोरबिजोर लगाएर कोरोना भाइरस ओमिक्रोनको रोकथाम हुने देखिँदैन । अहिले सरकारी कार्यालयमा भीड कम लाग्ने गरेको छ । सिंहदरबारभित्र कर्मचारी सिटमा छैनन् । प्रायःजसो सरकारी कार्यालयमा कोरोनाको बहाना बनाएर हाजिर भएका छैनन् । तर, आम्दानीको स्रोत हुने अड्डामा कर्मचारी हाजिर भएका छन् । प्रायःजसो आम्दानी नहुने सरकारी कार्यालयमा सेवाग्राहीलाई निषेधाज्ञा गरिएको छ । अधिकांश विश्वका देशहरूमा कोरोना भाइरसले आक्रान्त पारे पनि कतिपय देशमा आम्दानीको स्रोत बन्न पुगेको छ । कतिपय शक्ति राष्ट्रहरूले कोरोना भाइरसको खोप उत्पादन गरी बिक्रीवितरण गरिराखेका छन् । नेपालमा भने न खोप उत्पादन गर्ने क्षमता छ, न त उद्योग धन्दा खोल्ने योजना नै छ । उद्योगहरू कोरोनाका कारण चलायमान बन्न सकेका छैनन् । नेपालको आयस्रोत समेत नराम्रोसँग धरासायी हुने अवस्था आउन सक्ने केही अरु विश्लेषणले देखाउन थालेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *