कोरोनाको नयाँ संक्रमण र सरकारको भूमिका

समाचार

कोरोना संक्रमणको नयाँ भेरियन्ट ओमिक्रोनले अहिले विश्वव्यापी रूपमा आतंक मच्चाई राखेको छ । खोपको कारण यो महामारी केही समय अगाडि नियन्त्रणमा आएको महसुस गरिएको थियो । तर, नयाँ भेरियन्ट फैलिएसँगै कोरोना संक्रमणको महामारी अहिले उत्कर्षमा पुगेको छ । नेपालकै सन्दर्भमा पनि ओमिक्रोन फैलिनु अगाडि कोरोनाबाट दैनिक एक दुई जनाको निधन भइराखेको अवस्थामा केही दिन यताबाट ओमिक्रोनको कारण दैनिक सरदर २० जना मानिसको निधन हुन थालेको छ भने यसैगरी ओमिक्रोनबाट दैनिक २० हजार मानिस संक्रमित हुन थालेका छन् । ओमिक्रोनमार्फत कोरोना महामारीले यसरी भयावह रूप लिइरहँदा नियन्त्रणको मामिलामा भने सरकारको तर्फबाट ठोस कार्यक्रमको ठाउँमा सस्तो प्रचारको बाटो मात्र अपनाई राखेको देखिएको छ ।

कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनले भयावह रूप लिइरहँदा सरकारको तर्फबाट भने यो महामारी नियन्त्रण गर्न स्मार्ट लकडाउन भन्दै बहुलठ्ठीपनालाई जनतामा लाद्ने र कोरोनाको संक्रमणको भयावहतालाई बढाउने काम भइराखेको छ । यो संक्रमण बढी रहँदा सरकारको तर्फबाट सवारी साधन सञ्चालनमा जोरबिजोर नियम लागू गरिएको छ । यो नियम किन लागू गरेको भनेर कसैले पनि बुझ्न सकिराखेको छैन । र, सरकारले नै यो नियममार्फत कोरोना संक्रमणलाई बढाउन थालेको विश्लेषण भएको छ । किनभने सवारीसाधनको सञ्चालनमा जोरबिजोर नियम लगाउँदा यात्रुको चाप स्वतः सवारी साधन माथि बढ्न जान्छ । जबकी यो महामारी नियन्त्रण गर्नका लागि भिडभाड कम गर्नु पर्ने एउटा प्रमुख सर्त रहेको छ । तर, सरकारले सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरेर सवारीसाधनमा भिडभाड बढाउने र अन्ततः कोरोना संक्रमण बढाउने काम नै गरी राखेको देखिन्छ ।

यसैगरी सरकारले कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन नियन्त्रण गर्न अग्रभागमा रहेर काम गर्ने तथा ज्येष्ठ नागरिकका लागि कोरोना खोपको ‘बुस्टर डोज’ लिने योजना अगाडि सारेको थियो । तर, अहिलेसम्म कतिपय व्यक्तिले खोपको अभावमा ‘बुष्टर डोज’ लगाउन पाइराखेका छैनन् । यसैगरी स्वास्थ्यकर्मीहरूले कोरोना महामारीको भयावहतालाई मुलुकले थाम्न नसक्ने भन्दै अस्पताललगायतका स्वास्थ्य संस्थाहरूमा त्यसको तयारी हुनुपर्ने भनेर निरन्तर रूपमा सचेत गराउने काम भइराखेको छ । तर, कोरोना संक्रमणको भयावहतालाई ध्यानमा राखेर अस्पताल तथा स्वास्थ्य संस्थाहरूको क्षमता वृद्धि गर्नेतिर अहिलेसम्म ठोस कदम चालेको देखिएको छैन । यसैगरी नेपालमा कोरोनाको संक्रमण भारतका प्रमुख सहरबाट आउने गरेको छ । भारतका विभिन्न सहरमा रोजगारमा रहेका नेपालीहरू कोरोना संक्रमण सँगै रोजगारी बन्द भएपछि स्वदेश फर्कने गर्दछन् । तर, खुला सिमाना भएको र कडाइका साथ अनुगमन पनि नभएको कारण त्यसरी नेपाल फर्किएका व्यक्तिहरू सहज रूपमा घर पुग्ने गरेका छन् । घरमा केही दिन बसेपछि ती व्यक्तिहरू पुनः भोकले भन्दा रोगले मर्नु नै निको भन्दै रोजगारीका लागि भारततिर प्रस्थान गर्ने गर्दा ती व्यक्तिहरूले कोरोना संक्रमणलाई भारतसँगै नेपालमा पनि फैलाउने काम गरिराखेका छन् । तर, त्यसरी नेपाल फर्किएका ती व्यक्तिहरू माथि कडाइका साथ अनुगमन गर्ने र होल्डिङ सेन्टरमा राख्ने सरकारको योजना सफल हुन सकिराखेको छैन । कतिपय व्यक्तिहरू होल्डिङ सेन्टरबाट नै भाग्ने र खुला सिमानाको दुरूपयोग गर्ने काम गरी राखेका छन् । त्यस कारण यो महामारी नियन्त्रण गर्नका लागि सीमा क्षेत्रमा भइराखेको सहज आउ–जाउलाई सरकारले कडाइका साथ नियन्त्रण गर्नु पर्दछ । यस बाहेक कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनलाई नियन्त्रण गर्नका सम्बन्धमा अहिलेसम्म अपनाएको विधि र उपायमाथि पुनर्विचार गरेर ठोस कदमसहित सरकार अगाडि आउन जरुरी भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *