प्रचण्डलाई पदाधिकारी चयन नै भयो ठूलो चुनौती

समाचार

मिलिनियम च्यालेन्ज कर्पोरेसन र स्थानीय निर्वाचनको ‘टेन्सन’ भोगिराखेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पार्टीमा पदाधिकारी मनोनयन गर्ने अर्को चुनौतीबाट समेत गुज्रिराखेका छन् । गत पुष १७ गते सम्पन्न भएको पार्टीको ८औँ अधिवेशनले प्रचण्डलाई सर्वसम्मतिबाट अर्को कार्यकालका लागि पनि अध्यक्षमा चयन गरेको भए पनि पार्टी विधानअनुसार नवगठित केन्द्रीय कार्य समितिले अन्य पदाधिकारी भने अहिलेसम्म चयन गरेको छैन । विधानअनुसार पदाधिकारीको चयन केन्द्रीय कार्य समितिले गर्नु पर्ने भएपनि यो मामिलामा अन्तिम निर्णय भने अध्यक्ष प्रचण्डको नै हुने स्थिति छ । तर, अध्यक्ष प्रचण्डलाई खास गरेर वरिष्ठ उपाध्यक्ष र महासचिव चयन गर्न ठूलो समस्या परेकै कारणले गर्दा अहिलेसम्म माओवादी केन्द्रले पदाधिकारी चयन गर्न नसकेको हो । र, अब यही माघ २७ गते बस्ने केन्द्रीय कार्य समितिको बैठकले सबै पदाधिकारी चयन गर्ने भनिए पनि त्यो सहज भने देखिएको छैन ।
वरियता क्रममा अध्यक्ष पछिको वरिष्ठ उपाध्यक्षका लागि नारायणकाजी श्रेष्ठ र कृष्णबहादुर महरा प्रमुख दाबेदार रहेका छन् । यी दुवै दाबेदारले सहमतिबाट आफू वरिष्ठ उपाध्यक्ष बन्न नसक्ने अवस्था आएमा तथा यो मामिलामा विवाद भएमा केन्द्रीय कार्य समितिले निर्वाचन प्रक्रियामार्फत वरिष्ठ उपाध्यक्ष चयन गर्नु पर्छ भन्ने प्रस्तावसमेत अगाडि बढाएका छन् । यसैगरी कार्यकारीको मामिलामा अध्यक्ष पछि शक्तिशाली पद रहेको महामन्त्रीका लागि जनार्दन शर्मा र वर्षमान पुनले पनि त्यसैगरी दाबी गरी राखेका छन् । र उनीहरूले आफ्नो पक्षमा केन्द्रीय कार्य समितिले निर्णय नगरे यो विवादलाई मतदान प्रक्रियाबाट समाधान गर्नुपर्छ समेत भनेका छन् । महासचिवलाई लिएर दुई नेता जनार्दन शर्मा र वर्षमान पुनका बीचमा विवाद चर्किरहँदा अध्यक्ष प्रचण्डले अर्को विकल्पको रूपमा देव गुरुङलाई अगाडि सारेर यो विवादलाई थप बढाउने काम गरेका छन् । अहिलेको अवस्थामा अध्यक्ष प्रचण्ड, नारायणकाजी श्रेष्ठ र कृष्णबहादुर महरामध्ये एक जनालाई चिढ्याएर तथा रुष्ट बनाएर अर्कोलाई वरिष्ठ उपाध्यक्ष र यसैगरी शर्मा र पुनमध्ये एक जनालाई चिढ्याएर अर्कोलाई महासचिव बनाउने स्थितिमा पनि छैनन् । त्यस कारण यतिखेर अध्यक्ष प्रचण्ड सहमतिबाट कसरी वरिष्ठ उपाध्यक्ष र महासचिव चयन गर्ने भन्ने तनावबाट गुज्रिराखेका छन् । वर्षमान पुनले चीनमा उपचारको क्रममा रहँदादेखि नै आफूलाई पार्टीको महासचिवको रूपमा प्रस्तुत गर्दै विभिन्न नेताहरूसँग फोन सम्पर्क गरेका थिए भने जनार्दन शर्माले आफ्नो वातावरण महाधिवेशनकै क्रममा सहभागीहरूसँग भेटवार्ता गरेर बनाइ राखेका थिए । जनाधार बलियो भएका नेतामा शर्मा र पुन गनिन्छन् । यस कारणले गर्दा पनि अध्यक्ष दाहाललाई एकजनालाई चिढ्याएर अर्कोलाई महासचिव बनाउन कठिन परिराखेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *