कोरोना महामारीको तेस्रो लहरसम्म आइपुग्दा

समाचार

संसारैभरि अहिले कोरोना महामारीको तेस्रो लहर चलिरहेको छ । नेपाललाई पनि कोरोना महामारीको यो तेस्रो लहरले आक्रान्त तुल्याउँदै लगेको छ । कोरोना भाइरसको अनेक प्रजाति छन् र यो कोरोना महामारीको तेस्रो लहर फैलाउने काम ओमिक्रोन प्रजातिका कोरोना भाइरसले गरेको छ । कोरोना महामारीको पहिलो र दोस्रो लहरमा संसारका अन्य मुलुकहरूजस्तै नेपाल पनि तयार थिएन । अहिले नेपालको तयारी राम्रो भइसकेको छ । आवश्यक पूर्वाधार र जनशक्ति तयार छन् । सबैभन्दा राम्रो के छ भने कोरोना महामारीविरुद्ध संसारका विकसित राष्ट्रहरूले कठीन अध्ययन, अनुसन्धान र प्रयोगबाट तयार पारेका खोपहरू नेपाली जनताको लागि पनि उपलब्ध भएका छन् र हालसम्म ६९ प्रतिशत नेपाली जनताले पूर्ण मात्रा खोप लगाइसकेका छन् । ओमिक्रोन प्रजातिको कोरोना भाइरस चाँडो फैलिने भएता पनि यसबाट मर्ने दर भने निकै कम भएको हुँदा खतरनाक मानिएको छैन । तै पनि यो तेस्रो लहर आएपछि सन् २०२२ को जनवरी महिनाको ३० तारिकमा ३२ जना मारिएका छन् । कोरोनाको पहिलो लहरमा एकै दिनमा मारिएको उच्च रेकर्ड ३० जनाको छ भने कोरोनाको दोस्रो लहरमा सो उच्च रेकर्ड २४६ जनाको बनेको छ । अहिलेसम्म नेपालमा कोरोना महामारीबाट ११ हजार ७४३ जना मारिएका छन्् । कोरोना महामारीको पहिलो र दोस्रो लहरमा जस्तै यसपाली पनि संक्रमणदर ५६ प्रतिशतमा पुगेर वापस झरेको छ र अहिले यो झर्ने क्रममा छ । जनवरी ३१, २०२२ मा रिकर्ड गरिएअनुसार यो अहिले झर्दै ३३.४८४ मा पुगेको छ । नेपालको अर्थतन्त्र आयात व्यापारमा आधारित भएको हुँदा कोरोनाको तेस्रो लहरले पनि नेपालको अर्थतन्त्रलाई नराम्रैसित प्रभावित तुल्याएको छ । नेपालको प्रमुख आयस्रोत भनेको पर्यटन व्यवसाय र वैदेशिक रोजगारी नै हुन । दुवै क्षेत्रहरू कोरोना महामारीको चपेटामा नराम्रोसित परेका छन्् । नेपालमा उत्पादनमा आधारित उद्योगधन्दाहरू छैनन् त्यसैले दैनिक जीवन चलाउन आवश्यक सबै सामग्रीहरू विदेशबाट आयात गरिन्छ । विकास निर्माणको लागि चाहिने निर्माण सामग्रीहरू पनि नेपालमा विदेशबाटै आयात गरिन्छ । नेपाल पहिले कृषिप्रधान मुलुक थियो त्यसैले नेपालमा नै उत्पादन भएको अन्नले नेपाली जनतालाई मनग्गे पुग्ने मात्र होइन बचत भएको चामलको निकासी अन्य मुलुकहरूमा हुने गरेको थियो । तर, त्यो अवस्था अहिले नेपालमा छैन । दलहरूले पञ्चायती व्यवस्था र राजतन्त्रलाई हटाएर बहुदल व्यवस्था नेपालमा ल्याएपछि सबै विकासका प्राथमिकताहरू र मानकहरू बदलिएका छन् । नेपाल अहिले आत्मनिर्भर र स्वाबलम्बी मुलुकबाट नित्यान्त परनिर्भर मुलुकमा रूपान्तरण भइसकेको छ । यसै परिवर्तनलाई सत्तामा रहेका दलहरूले गौरवका साथ विश्वव्यापीकरणको संज्ञा दिएका छन् । अहिले आएर असली विश्व्यापीकरण कोरोना महामारीले झन् पूरा गरी दिएको छ । अहिले नेपालमा बेरोजगारीको कुरै नगरौँ सबै वेरोजगार भएका छन् । कोरोना महामारीले गर्दा सानो–ठूलो हरेक व्यवसायहरू र व्यवसायीहरू नराम्रोसित प्रभावित भइसकेका छन् । साना व्यवसायहरू सबै कोरोना महामारीले गर्दा बन्द भएको हुँदा साना व्यवसायीहरू र त्यसमा रोजगार पाएका कामदारहरू सबै बेरोजगार भएका छन् । ठूला उद्योगी व्यवसायीहरूलाई पनि कोरोना महामारीले प्रभावित नतुल्याएको होइन, तर ठूला भएको हुँदा जेनतेन काम चलाइरहेका छन् र त्यसमा काम गर्ने कामदारहरूले पनि कटौती गरिएको संख्यामा केही रोजगारी पाइरहेका नै छन् । नेपाल सरकारले व्यवसायहरू र व्यवसायीहरू कसैलाई पनि आर्थिक सहायता उपलव्ध गराउन सकेको छैन । कर छुटहरू दिइएको भएता पनि त्यो पयाप्र्त छैन र ठूला पहुँचवाला व्यवसायीहरूले मात्रै त्यसबाट धेरै लाभ उठाएका छन् भने सानाको निमित्त ‘कागलाई बेल पाक्यो न हर्ष न बिस्मात’ भएको छ । व्यावसायहरू र व्यवसायीहरूमा सानो–ठूलो भन्ने हुँदैन । सबै एक आपसमा जोडिएका हुन्छन् । कुनै एक व्यवसाय बन्द हुने बित्तिकै धैरैलाई असर पुग्न पनि सक्ने हुन्छ । त्यसैले साना व्यवसायीहरूलाई समाप्त पारी ठूलाले ‘एक्लै गरी खान्छु’ भन्ने अवस्था कहिले हुन्न । सबैको जीवन र जीविका एक आपसमा गाँसिएका हुने हुँदा एकले अर्कालाई समाप्त पार्न खोजेमा स्वयं पनि स्वतः समाप्त हुनेछन् । यो संसारको वातावरण जस्तै हो बोट बिरुवा र पशुपंछीहरूलाई समाप्त पार्दै जाँदा अहिले मौसममा ढिलो परिवर्तन आए मानव जातिमाथि नै संकट पैदा भएको छ । कोरोना महामारी पनि त्यसैको परिणाम हो । मानव जातिले आफ्नै वातावरणको विनास गर्दा संसार कै हावापानीमा बद्लाब आएको छ । संसारकै तापक्रम बढेको हुँदा पहिले नभएका रोगहरू अहिले उत्पन्न भएका छन् । कोरोनाबाट भएको देखिने भौतिक क्षति निकै छन्, तर त्यो बाहेक पनि नेपाली जनताले भोग्नु परेको मानसिक पीडा अनेक छन् । कस्ले कसलाई सान्त्वना दिने र कसले कसको पीडामा मलमपट्टी लगाउने भन्ने छैन, किनकि सबै पीडित छन् र सबैले आफ्नो आफन्तहरू गुमाएका छन् र आफ्नो गरीखाने व्यवसायहरू बन्द हुँदा हानीनोक्सानी व्यहोरेकै छन् । कोरोना महामारीले गर्दा नेपाली जनता एक्लिँदै गएकाले निरास भएका छन् । त्यसमाथि पनि नेपालमा बढेको राजनीतिक भ्रष्टाचार र अपराधले गर्दा नेपाली जनताको अन्योलतालाई झन् बढाइदिएको छ । सबै नेपाली एक ढिक्का भएर कोरोना महामारीको समाधान निकाल्नु पर्ने यो बेलामा दलहरूको कारण नेपाल भने विभाजित छ । राजतन्त्र भएको बेलामा नेपाली जनताले कतै केही सीप नलागेको अवस्थामा राजालाई गुहार्ने गरेका थिए । कसैलाई अन्याय भएको देख्यो भने राजा नभएको मुलुक हो र भनी पीडितलाई ढाडस दिएर राजाकोमा निसाफ माग्न पठाउने जाने गरिएको थियो । अहिले नेपालमा लोकतन्त्र आएको हुँदा त्यस्तो अवस्था छैन । दलहरूले राजा कै बिजोग तुल्याइदिएका छन् । राजाको सम्पत्ति नेपाल ट्रष्ट खोलेर दलका नेताहरूले नै अपचलन गर्दै आएका छन् । नेपाली जनताको लागि अब न्याय माग्ने ठाउँ वा निसाफ पाउने ठाउँ कतै छैन । वास्तवमा नेपाली जनता अहिले बाबुआमा नभएको टुहुरा–टुहुरी झैँ भएका छन् । असाहाय भएर कोरोना वा अन्य कुनै रोगबाट राम्रो उपचार नै नपाई मर्नुबाहेक नेपाली जनताको लागि अन्य विकल्प बचेको देखिन्न । दलहरूले नेपालमा राज गर्न थालेपछि नेपाल राष्ट्रको दुर्गति मात्रै बढाएका छन् । कहिले नसकिने भ्रष्टाचार र अपराध काण्डहरूको शृंखला नेपालमा चलेको चलेकै छन् । यस्तो बेलामा आएको यो कोरोना महामारीको तेस्रो लहरले नेपाली जनताको आर्थिक समस्यलाई झन चर्काइदिएको छ । अहिले नेपाली जनता नरुनु नहाँस्नुको अवस्थामा पुगेका छन् । गुहार मागु सुनिदिने कोही छैन र निसाफ माग्न जाउँ सुनुवाई हुने ठाउँ कतै छैन । नेपाली जनतालाई यस्तो दुरावस्थामा लाने दलका नेताहरूसित सहयोगको याचना गर्नुको अब कुनै अर्थ छैन । जति भए पनि विदेशबाट जति आए पनि राष्ट्रको भान्छे बनी डाडु पन्यू समाएर बसेको दलका नेताहरू र तिनका राजनीतिक कार्यकर्ताहरूलाई नै पुग्दैन त्यसैले नेपाली जनताले अब बाँच्न मन छ भने दलहरूको जुठोपुरो खाएर जीवन धान्नु पर्ने अवस्था आएको छ । दलहरूले नेपालको विकास गर्छु भन्दै राष्ट्रको ऋण माथि ऋण थपेका छन्, तर नेपालको विकास गर्नु त कता हो कता भएको साधनस्रोतहरूसम्म बेची–मासी खाएका छन् । नेपालको बहुमूल्य साधनस्रोतहरू जस्तो, जमिन, जंगल, जल र जनशक्ति सबै बेची–मासी दुरूपयोग गरेका छन् । दलहरूले नै नेपाली जनतालाई निरीह प्राणी बनाएर विश्वको सामु भिखमंगाको रूपमा प्रस्तुत गरेका छन् । नेपालीको संस्कार परम्पराअनुसार कसैलाई पर्दा वा मर्दा भेटघाट गरी दुःख मनाउ गर्ने एकले अर्कालाई जेसकेको सहयोग साथ गर्नुपर्छ । चाडपर्वको बेलामा परिवारिक भेटघाट गरी मान्यजनहरूको आशीर्वाद लिने पनि गरिन्छ । तर, लहर बनेर आएको कोरोना महामारीका प्रकोपहरूले परिवारिक भेटघाट र रमाइलो गर्नबाट अलग–थलग पारिदिएको छ । कोरोना सर्ने डरले घरभित्रै बन्दीझैं बसेका हजुरबा, हजुरआमा कुँजो भएका छन् । बाहिरतिर स्वतन्त्र रूपले हिँडडुल गर्न नपाएकाले पाका उमेर भएका बाबुआमा धेरै छट्पटाएका छन् । कोरोना कै डरले गर्दा बिमारी परेका बुढा बाबुआमालाई राम्रोसित उपचार गर्नको लागि अस्पतालसम्म लान सकिएको छैन । रोग पालेर घरमै औषधि पसलेले दिएको दबाई खुलाउँदै बस्नु परेको अवस्था विद्यमान छ । यस्तैमा कैयौँको पिता, माताले रोग शरीरमा पालेरै मृत्युवरण गरेका छन् । मरेपछि पनि कोरोनाकै डरले आफूलाई जन्मदिने पिता–माताको काजक्रिया समेत राम्रोसित गर्न पाइरहेका छैनन् । नेपालमा कोरोना महामारीको बहु–लहरहरू झेल्दै तेस्रो लहरसम्म आइपुग्दा धेरै परिवारको बिजोग मात्र होइन कन्तबिजोग नै भएको भेटिन्छ । परिवारलाई अलगथलग पार्नु कोरोना महामारीको निष्ठुर, असामाजिक र अमानवीय प्रभावहरू हुन भने त्यसको दसता स्वीकार गरी साधन र समाधानको अभावमा लाचारी देखाउदै हिँड्नु नेपाली जनताको नियति भएको छ ।
०००

Leave a Reply

Your email address will not be published. Required fields are marked *