बद्नाम कर्मचारीहरू अख्तियारमा

समाचार

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान भ्रष्टाचारसम्बन्धी गतिविधि सुक्ष्म अध्ययन गर्ने निकाय । यही ठाउँमा अख्तियार दुरूपयोग गर्दै कर्मचारी पठाउने लहर बेस्सरी चलेको छ । सोमबारमात्र सचिवमा बढुवा भए रामेश्वर दंगाल । उनै दंगालका छोरा सुजन कर्मचारी समायोजन हुँदा भरतपुर महानगरपालिकामा खटाइएको थियो । त्यतिखेर दंगाल अख्तियारमा प्रवक्ता थिए, उनको छोराले थानकोट काटेर जानै परेन । बाउको जोडबलमा अख्तियारमा तानियो । सहसचिव पदमा हुँदा पदीय जिम्मेवारी भुलेर यस्ता अवैध काम गर्ने व्यक्ति सचिव हुँदा के सम्म गर्लान् ?
अर्काे उदाहरण हेरौँ, लोकसेवा आयोगका अध्यक्ष माधव रेग्मीका छोरा असीम पनि कर्मचारी समायोजन हुँदा भरतपुर महानगरपालिकामै परे । पछि अदालतमा मुद्दा मामिला चल्यो असिमसहित ३४ जनाले दायर गरेको मुद्दामा अन्तरिम आदेश दिँदै उनीहरूको समायोजन उल्टियो । संघमै पदस्थापन भयो । हतार–हतार क्याविनेटबाट निर्णय गराएर माधवले आफ्ना छोरा असिमलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पदस्थापन गराए ।
यस्तै अध्यागमा रहँदा अकुत आर्जनमा मुछिएका एक कर्मचारीलाई गृहले सरुवा ग¥यो । यसरी सरुवा गरिएका उपसचिव हुन् चुडाराज न्यौपाने । उनलाई अध्यागमनबाट सर्लाहीको सहायक प्रमुख जिल्ला अधिकारीको रूपमा खटाइएको थियो, तर उनले गृहका अधिकारीहरूलाई उल्टै चुनौती दिए । सहायक सिडिओका रूपमा सर्लाही जाँदै नजाने बरु जागिर छाड्ने धम्की दिए । नभन्दै न्यौपाने आफ्नो पहुँच देखाए । गृहको सरुवालाई सामान्यबाट उल्टाएर अहिले अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पुगेपछि गृहका कर्मचारी प्रशासनका हाकिमहरू हेरेको हेरै भएका छन् । कुनै कर्मचारीले चाहेर पनि अख्तियारमा सरुवा हुन पाउँदैन । अख्तियारले नाम किटाएर माग गरेपछि मात्र उ त्यहाँ जान पाउँछ । ‘अटेरी कर्मचारीलाई अख्तियारजस्तो निकायले उल्टै पुरस्कृत गरेको भन्दै गृहका कर्मचारीहरू उल्टै गुनासो पोख्दैछन् । खटाएको ठाउँमा नजाने कर्मचारीहरूलाई कारबाही गर्नुपर्ने निकायले उल्टै त्यस्ता कर्मचारीहरूलाई संरक्षण गरेपछि कसरी कायम हुन्छ त सुशासन ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *