सहकारीले पनि नेपालीलाई ठग्दै

समाचार

काठमाडौं । काठमाडौं उपत्यकाको घना बस्तीमा च्याउसरी खोलिएका सहकारी संस्थाले घर घरमा सहकारी युवायुवतीलाई रोजगारी भन्ने लगाएर आमजनता ठग्ने काम मात्रै गरेका छन् । काठमाडौं उपत्यका मात्र नभएर सातवटै प्रदेश र स्थानीय तहमा खोलिएका सहकारीले व्यापक रूपमा आमनेपाली र सर्वसाधारण जनतालाई ठगेर भाग्ने गरेका उदाहरण प्रशस्त देख्न थालिएको छ । नियमसंगत प्रत्येक नेपालीले एउटा सहकारीमा मात्र खाता खोल्न पाउने व्यवस्था छ । तर, उक्त नियमलाई कुल्चेर सहकारीले एकै व्यक्तिको विभिन्न सहकारीमा खाता खोलिदिने काम गरेका छन् । सर्वसाधारण आम नेपालीलाई भए–नभएको प्रलोभन देखाएर घर, पसल तथा कार्यालयमै गएर सहकारीको सदस्य बनाउने गरिएको छ । नेपाली जनतालाई विभिन्न सुविधा पाइन्छ भन्दै पैसा संकलन गरिराखेका छन् । सर्वसाधारण जनताले पनि समस्या परेको बेलामा काम लाग्छ भन्दै पैसा जम्मा गर्ने गरेको पाइन्छ । तर, सहकारीका कर्मचारीले पैसा संकलन गर्ने, खातामा नचढाउने गर्नाले सर्वसाधारणको पैसा हराउन थालेको व्यापक गुनासो सुन्न थालिएको छ । कतिपय सहकारीले त बोर्डमात्र राख्ने, एउटा कोठामा एउटा कम्प्युटर राखेको देखाउने, सञ्चालकको नाम, ठेगाना अन्य व्यक्तिको राख्ने, फोन सम्पर्क अर्कैको राखेर सर्वसाधारणको पैसा कुम्ल्याएर भाग्ने गर्दै आएका छन् ।
उता, सहकारी विभाग भने मस्त निन्द्रामा छ । सहकारीले आमजनतास“ग पैसा संकलन गर्दा जी–हजुरी गर्ने र ऋण दिनु परेमा आनाकानी गर्ने र महँगो ब्याज लिने गरेका छन् । सहकारीले सेवा शुल्क २ देखि ३ प्रतिशत लिने गरेका छन् भने महिनावारी ब्याज १४ देखि १८ प्रतिशतसम्म लिने गरेका छन् । रकम निकाल्दा धितोस्वरूप लालपुर्जा नै राख्नपर्ने हुन्छ । आफूले जम्मा गरेको पैसासमेत समस्या परेको बेलामा निकाल्न नपाउने अवस्था छ । पैसा निकाल्न पनि हप्तौँ कुराउने गरेका छन् ।

कथं–कदाचित बचतकर्ताले ब्याज दिन ढिलो भएपछि ब्याजको पनि स्याज जोडेर लिने र जरिबाना तिराउने काम सहकारी संस्थाले गरिराखेका छन् । ‘जस–जसको सहकारी, युवायुवतीको रोजगारी’को नारा दिएर सहकारी संस्थाहरूले धेरै नेपालीलाई डुबाएको अवस्था छ । कतिपय बचतकर्ताको उठिबास लागेको अवस्था छ । यस्तो विषयमा सहकारी विभाग र सहकारी बोर्ड मुकदर्शक भएर बसेको छ । कतिपय सहकारीले ऋण लागेका व्यक्तिलाई असभ्य गाली दिने, बेइज्जत गर्ने गरेको देखिन्छ । यतिमात्र नभएर ऋण उठाउन चुल्ठे–मुन्द्रेसम्म प्रयोग गरी भएको जेथा सहकारीमा राखे पनि बेलामा साँवा–ब्याज नदिएको बहाना पारी तोकेको ब्याजभन्दा बढी असुल्ने गरेका छन् । यसरी आम नेपालीलाई सातवटै प्रदेशका सहरमा खोलिएका सहकारी सञ्चालकले दुःख दिएको समाचार स्रोतले नाम नबताउने शर्तमा तामाकोशी सन्देशलाई जानकारी दिएको छ । जसरी विदेश जानको लागि मेनपावर कम्पनीले आमनेपाली युवायुवतीलाई भिजिट भिसामा विदेश पठाएजसरी सहकारी सञ्चालकले ठगेको आरोप थुप्रै आउन थालेका छन् । यस्ता सहकारी संस्थालाई कुनै पनि निकायले अनुगमन गरेको छैन । अनुगमन गरे पनि भित्री रूपमा अनुगमनकर्तालाई खामबन्दी दिएर सहकारी संस्थाको मुद्दा ढिसमिस बनाउ“दै आएको स्रोत बताउँछ । कतिपय बचतकर्तालाई साधारणसभामा बोलाउने, थोरबहुत बोनस खाममा राखेर दिने, वनभोजमा लैजाने, रमाइलो गराउने काम सहकारीले गर्दै आएको अवस्था छ । खासगरी सहकारीले वार्षिक उत्सव मनाउँदा यति नाफा, उति नाफा भन्दै बचतकर्तालाई हौसला दिने र बचतकर्ताले आफ्नो पैसा निकाल्न जाँदा आधा मात्र दिएर पठाउने या कार्य नै अन्यत्र सार्ने गर्दै आएका छन् । साथै, सञ्चालक समितिले पैसा अन्यत्र लगाउने, सञ्चालक समितिमा बसेर सेयरहोल्डरबाट हात झिकेर सहकारी टाट पल्टाउने काम पनि हुँदै आएको छ । बचतकर्ताले प्रहरीमा उजुरी गर्दा प्रहरीले सहकारीको कार्यालय पत्ता लगाउन नसक्ने अवस्था छ । यस्ता विषयमा सहकारी विभाग र सहकारी बोर्डले सहकारीको अवस्था के–कस्तो छ लेखापरीक्षण गरेको छैन, सहकारीको अनुगमन गरेको पाइँदैन । सबै नेपाली जनताले खोलेका सहकारीमा धेरथोर पैसा जम्मा गर्ने गरेका छन् । पैसा संकलनमा आउने कर्मचारीले पनि जबर्जस्ती खाता खोल्न लगाउने र राम्रोराम्रो नारा दिएर मिठो सुरिलो स्वरमा फसाउने काम गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *