सल्लाहकारहरुका कारण मन्त्री आले बद्नाम

राजनीति

काठमाडौं । मान्छे ओलीका खास, तर अहिले पर्यटनमन्त्री प्रेम आलेलाई चलाउने हैसियत छ । यस्तो भएपछि मन्त्री आलेले बद्नामी कमाउने नै भए । अर्थात् मन्त्री समाजवादीका सल्लाह मान्छन् ओलीनिकट व्यक्तिका । ओलीकै कार्यकालमा नेपाल पर्यटन बोर्डका उपाध्यक्ष नियुक्त भएका हुन् चन्द्र रिजाल । रिजालले यसअघि नै टानका अध्यक्ष पनि चलाए । अहिलेका पर्यटनमन्त्री प्रेम आलेलाई उनै रिजालले घुमाइरहेका छन् । त्यही कारण नियुक्तिको एकपछि अर्काे लफडामा प्रेम आले फसिरहेका छन् । जस्तो यसअघि नागरिक उड्डयन प्राधिकरणमा कनिष्ठ कर्मचारी प्रदीप अधिकारीलाई नियुक्ति गर्न भ्याए । अहिले नेपाल पर्यटन बोर्डको सदस्यमा कास्कीका मदनकुमार आचार्य, रोशी ९ काभ्रेका लिलाबहादुर लामा र सोलुखुम्बुका आङ पेम्बा शेर्पा नियुक्ति गर्ने गरी प्रक्रिया अघि बढ्यो । एमालेनिकट कर्मचारी भएकै कारण पाँच महिनामै लमजुङ जिल्लाको प्रमुख जिल्ला अधिकारीबाट गृहमा तानिए होमप्रसाद लुइँटेल । उनी पनि यति माहिर खेलाडी कि, गृह पर्यटन मन्त्रालयबाट सामान्य प्रशासन हुँदै मुस्लिम आयोगमा पठाइएका लुइँटेलले एक सातामै सरुवा उल्ट्याएर पर्यटन मन्त्रालयमा हाजिर भए । यसरी पर्यटनमा एक सातामै तानिनुको कारण थियो, उनै सचिव महेश्वर न्यौपाने । महेश्वरकै जोडबलमा लुइँटेललाई सिडिओ बनाएर पठाइएको थियो आफू पर्यटन सचिवका रुपमा सरुवा भएर गएपछि उनले त्यही तान्न भ्याए लुइँटेललाई । तिनै लुइँटेल र चन्द्र रिजालहरू अहिले पर्यटन मन्त्रालय चलाउने हर्ताकर्ता बनेका छन् । चाहे धनञ्जय रेग्मीको कारबाही गर्न बनेको कमिटी होस् वा पर्यटन बोर्डका सञ्चालक सदस्य नियुक्ति, उनै रिजाल र लुइँटेलहरूको अग्रसरतामा भएको हो ।
अचेल चन्द्र रिजाललाई पर्यटन बोर्ड वा उनको आफ्नै कार्यालयमा कम र पर्यटन मन्त्रालयतिर धेरै भेटिन्छ । अधिकांश समय लुइँटेल कार्यकक्ष नभए, मन्त्री आलेको बैठक कक्षमा । अस्ति पर्यटन बोर्डका सञ्चालक सदस्य नियुक्त भएकामध्ये एक हुन् लिला लामा, काभ्रेका । जो यसअघि बैंक लुटपाट अपराधमा मुछिएका र जेल बसेका । जोसँग नागरिकता नै दुई वटा रहेको बताइन्छ । लामालाई चिन्ने र जान्नेहरूका अनुसार उनी टासी लामाको नामले चिनिन्छन् । पर्यटन व्यवसायी भनेर नियुक्ति गरिए पनि लामा पेसाले घरजग्गा कारोबारी हुन् । लामा निकटस्थहरूका अनुसार डिएम रियलस्टेट कम्पनीका सञ्चालक हुन् । पर्यटन बोर्डको सञ्चालक भनेर नियुक्ति दिलाइएको छ घरजग्गा व्यवसायीलाई । अर्काेतिर, यसरी नियुक्त गरिएका व्यक्ति विगतमा बैंक लुटपाटमा मुछिएका । उनले एभरेष्ट बैंक, स्याकार कम्पनीलगायतका केही वित्तीय संस्थामा लुटपाट गरेको भेटिएपछि आजभन्दा १८ वर्षअघि नै कैद सजाय भोगेका । जेलभित्र परेपछिसमेत त्यही धन्दा चलाउने गरेको भेटिएको प्रहरी अधिकारीहरू सुनाउँछन् । १० वर्ष कैद सजाय पाएका लामालाई आधा कैद भुक्तान गरेको र असल चालचलन भएको भन्दै ०६७ साल फागुन ७ गते प्रजातन्त्र दिवसकै दिन आममाफी दिएर उन्मुक्ति दिइएको थियो, जसरी अस्ति ७ फागुमा ५०१ जना कैदीको कैद माफी दिइयो । र, एमालेको दशौँ महाअधिवेशनमा उनै चन्द्र रिजाललाई जिताउन मैदानमा खटिएका थिए लिला । न त निर्वाचन नै भयो, न त चन्द्र एमालेको केन्द्रीय सदस्य नै । बरु उनको जिम्मेवारी साँघुरो पारिदिए केपी शर्मा ओलीले । पार्टीबाट गतिलो जिम्मेवारी नपाए पनि अहिले उनी प्रेम आलेको दाहिने हात बनेका छन् । त्यही कारण चन्द्र रिजाल, सचिव महेश्वर न्यौपानेजस्ता व्यक्तिहरूका कारण पर्यटनमन्त्री आलेका एकपछि अर्काे नियुक्तिमा बद्नामीमा मुछिँदै छन् । लामा एमालेको पर्यटन विभागकै सदस्य हुनुले पनि नियुक्तिमा चलखेल भएको बल पुगेको छ । यसैबीच पर्यटनमन्त्री प्रेम आलेले लामालाई फोन गरेर राजीनामा दिन निर्देशन दिइसकेको खबर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *