जेष्ठ नागरिक, महिला तथा बालबालिका भजाउँदै, खाँदै समाज कल्याण परिषद्

समाचार

काठमाडौं । समाज कल्याण परिषद्को लापरबाहीले धेरै जनता पीडित भएको आरोप लागेको छ । समाज कल्याण परिषद्ले गर्ने कामको बारेमा अधिकांशमा असन्तुष्टि बढ्दै गर्दा समाज कल्याण परिषद्लाई विदेशी राष्ट्रले दिएको अनुदानदेखि समाज कल्याण परिषद्ले भाडामा लगाएको पसल र विभिन्न कार्यक्रमको लागि प्रयोग हुने हल, पार्कमा खोलिएको पसलको भाडाबाट उपलब्ध हुने रकमको दुरूपयोग गरिराखेको छ । यसको छानबिन राज्यले गर्न सकेको छैन । परिषद् राजनीतिक दलको कार्यकर्ता थन्काउने थलो बनेको छ । राजनीतिक दलको सरकार फेरिएसँगै मन्त्री फेरिने र मन्त्री नजिकका कार्यकर्ताले जागिर पाउने गरेका छन् । समाज कल्याण परिषद्मा कर्मचारीले भ्रष्टाचार गरिराखेका छन् । राजनीतिक पार्टी र मन्त्रीले कर्मचारीलाई समाज कल्याण परिषद्मा कार्यकर्ता थन्काउने थलो बनाएका छन् । लैनचौरमा रहेको समाज कल्याणको कार्यालय पुल्चोक मन्त्री क्वार्टर नजिक राखिएको छ । यता, भृकुटीमण्डपमा सञ्चालनमा रहेको कार्यालयको व्यापक दुरूपयोग भइरहेको छ । भृकुटीमण्डप क्षेत्रमा रहेको पसलले भाडा बुझाए पनि समाज कल्याणले थोरै भाडा देखाएर खाने गरेको छ । भकुटीमण्डपमा सञ्चालनमा रहेको होटल भाडा, पसल, टुकुचाको तरकारी पसल एवं पद्मकन्या क्याम्पसदेखि कार्यक्रम गर्ने हल, बगैंचा तथा हलको एक लाख पचास हजार रुपैयाँ भाडा लिने गरेको समाचार स्रोतले बताएको छ । सो हलबाट महिनामा कति भाडा उठ्ने गरेको छ कसैलाई जानकारी छैन ।
यस्तै टुकुचा तरकारी पसलबाट कति आम्दानी हुन्छ, यसको जानकारी पनि छैन । भृकुटीमण्डपमा विभिन्न मेला सम्मेलन हुने गरेको छ । यसको कति आम्दानी हुन्छ लेखाजोखा छैन । विभिन्न व्यापारीहरूले वार्षिक कार्यक्रम गर्ने गरेका छन् । व्यापारीले भेला गर्ने गरेका छन् । दिनको कति पैसा भाडा तिर्छन् भन्ने जानकारीसमेत छैन । समाज कल्याण परिषद्को भ्रष्टाचारको समाचार प्रायः आइरहन्छ । यसको छानबिन कसैले गर्न सकेको छैन । नेकपा एमालेको सरकारको पालामा जेष्ठ नागरिक, महिला बालबालिकामन्त्री भएका पार्वत गुरुङले सदस्य सचिवमा पुस्कर खातीलाई नियुक्त गरेका थिए । खातीले राम्रो टिम बनाएका थिए । तत्कालीन सदस्यसचिव रविन्द्र यादव भएको बेलामा नियमविपरीत सबै कर्मचारी बढुवा गरेर तमासा गरेका थिए । अहिले सदस्यसचिव मनोज भट्ट रहेका छन् । समाज कल्याण परिषद्मा कार्यरत कर्मचारी बोधराज दाहाल त्यतिखेर ओभरसियर भएका व्यक्ति अहिले प्रशासन अधिकृत भएका छन् । उता वीरमणि चौधरी कार्यालय सहयोगीमा प्रवेश गरेर नासु बन्न सफल भएका छन् । उनी पढे–लेखेका नभए पनि खरिदार हुँदै नासु बन्न सफल भए । यस्तै निरकुमार खड्का पाँच कक्षा पास गरेका व्यक्ति हुन्, जो प्रशासन प्रमुख भएका छन् । सन्जीव मल्लिक प्रशासनमा जुन व्यक्ति आए पनि चाकडी र चाप्लुसी गरेर अस्थायी कर्मचारीलाई पाखा लगाउँदै ढलीमुली गर्दै आएका छन् । बोधराज दाहालले अपांग अमर थापालाई जागिरबाट हटाएका र अस्थायी र ज्यालादारी कर्मचारीको शोषण गरेको आरोप लागेको छ ।
दाहाल सानो ओहोदाबाट ‘प्रोमोसन’ भएर प्रशासन अधिकृत भएका छन् र प्रशासन चलाएका छन् । उनी अहिले भृकृटीमण्डपका सञ्चालक भएका छन् । दाहालले तल्लोस्तरका अस्थायी कर्मचारीलाई तथानाम गाली–गलौज गरेर जागिरबाट हटाउने योजनामा लागेको आरोप छ । उता अनपढ वीरमणि चौधरी एक नम्बर अधिकृत बन्न पुगेका छन् । व्यापारीले सञ्चालन गरेको पसल भाडाबाट उठेको पैसा बैंकमा राखी बैंकबाट कमिसन खाएको आरोप उनीमाथि लागेको छ । दुर्गा भट्टराई प्रशासन फाँट, सञ्जय मल्लिक र रमेश अर्यालले लामो समयदेखि लेखा सम्हाल्दै आएका छन् । रमेश अर्याल भृकुटीमण्डप कार्यालयमा र लेखामा बस्न नपाएपछि नानाथरी आमाचकारी गाली गर्दै हिँड्ने गरेका छन् । यस्तै भृकुटीमण्डप क्षेत्रभरि सञ्चालनमा रहेका पसलको भाडा लगाएको ठाउँमध्ये बढी भएको पसलबाट २० फुट बराबरको जग्गाको आम्दानी खाने गरेको आरोप छ ।
यसरी विदेशी राष्ट्रले दिएको सहयोगदेखि समाजकल्याण परिषद्ले भाडामा लगाएको जग्गाको भाडामा समेत भ्रष्टाचार भइरहँदा राज्य रमिते भएको छ । समाज कल्याण परिषद्मा जागिर खाने कर्मचारीको सम्पत्ति कहाँबाट कसरी जोडिएको हो भन्दै समाज कल्याण परिषद्देखि अन्य क्षेत्रमा सेवाको भावना राखेर हिँड्ने व्यक्तिले गुनासो गर्दै छन् । यो हाम्रो नेपालमा भ्रष्टाचार नभएको ठाउँ भएन । जहाँ गयो त्यहाँ भ्रष्टाचार गरेपछि कसरी देश बन्छ, थाहा छैन । समाज कल्याण परिषद्मा त यस्तो हुन्छ भने ठूला–ठूला आयोजना, विकासे अड्डाको त कुरै छाडौँ भन्दै तामाकोशी सन्देशसँग गुनासो गरेका थिए । यस्तै तत्कालीन भौतिक पूर्वाधार यातायातमन्त्री रघुवीर महासेठकी श्रीमती जुली महतोले समाज कल्याण परिषद्मा धेरै कर्मचारी भर्ना गरेको आरोप छ । यता महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री उमा रेग्मीले कार्यकर्ता भर्ना गरेकी छन् । जो मन्त्री आए पनि समाज कल्याण परिषद् कार्यकर्ता भर्ति गर्ने केन्द्र बनेको छ । विदेशी दाताले दिएको रकम विभिन्न जिल्ला सदरमुकाम, देशका कुनाकाप्चासम्म हिनामिना गरिएको छ । कार्यालय प्रयोजनका लागि खरिद भएका सामानहरू कर्मचारीको घरमा पुग्ने गरेका छन् । राजनीतिक दलका मन्त्रीलाई घुमाउने, गुमराहमा पार्ने काम समाज कल्याण परिषद्का कर्मचारीदेखि उच्चतहका कर्मचारीले गर्दै आएका छन् । विदेश जाँदासमेत आफूलाई फाइदा हुने काम मात्र कर्मचारीले गर्ने र संस्थालाई फाइदा हुने काममा ध्यान नदिने परिपाटी महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा हुने गरेको छ । विदेशी दाताले दिएको पैसा महिला, जेष्ठ नागरिक तथा बालबालिकाको नाममा गोष्ठी, सेमिनार, भ्रमण र तालिमका नाममा भ्रष्टाचार गरी खाने गरेको पाइन्छ । पहिला पहिला महिनामा तीनपटक विदेश जाने व्यक्ति कोरोनापछि विदेश जान पाएका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *