चुनावका सम्बन्धमा कांग्रेस अझै अन्योलमा

राजनीति

स्थानीय निर्वाचन, प्रदेश निर्वाचन र संघीय निर्वाचन कसरी लड्ने भन्ने सम्बन्धमा नेपाली कांग्रेसमा उत्पन्न भएको विवादले निकास पाउन सकेको छैन । दुई महिना पछि हुन लागेको स्थानीय निर्वाचन गठबन्धनका दुई दल माओवादी केन्द्र र एकीकृत समाजवादीले मिलेर लड्नु पर्ने प्रस्ताव अगाडि सारिराखेका छन् भने महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा तथा उपसभापति धनराज गुरुङले भने सार्वजनिक रुपमा पटकपटक स्थानीय मात्र होइन प्रदश र संघीय निर्वाचन समेत नेपाली कांग्रेस एक्लै लड्नु पर्ने अडान राख्दै आएका छन् । यसैगरी मंसीरमा सम्पन्न भएको महाधिवेशनमा देउवासँग पारजित भएका शेखर कोइरालाले पनि तीन तहको निर्वाचन कांग्रेस एक्लै लड्नु पर्ने मत राखिराखेका छन् । प्रधानमन्त्री देउवाको विश्वास पात्र पार्टी प्रवक्ता प्रकाश शरण महतले पनि नेपाली कांग्रेस एक्लै चुनावी मैदानमा उत्रनु पर्ने मत राख्दै स्थानीय तहको निर्वाचनमा गठबन्धन मार्फत् चुनाव लड्नु व्यवहारिक नहुने भनाई सार्वजनिक रुपमा नै राखेका छन् । यस सम्बन्धमा कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो मत अहिलेसम्म सार्वजनिक गरेका छैनन् । तर प्रधानमन्त्री देउवा आम निर्वाचन पछि पनि प्रधानमन्त्री हुने योजना सहित गठबन्धन मार्फत् नै चुनाव लड्नु पर्ने पक्षमा रहेको देखिएको छ । समाचार सुत्रका अनुसार कुनै पनि राजनीतिक दलले बहुमत ल्याउन नसक्ने निष्कर्ष निकाल्दै नेपाली कांग्रेस गठबन्धनमा सबभन्दा ठूलो दलको रुपमा स्थापित हुने र त्यो अवस्थामा सरकारको नेतृत्व कांग्रेसले गर्न पाउने विश्लेषण गर्दै आम चुनावपछि पनि प्रधानमन्त्रीमा दोहोरिनका लागि शेरबहादुर देउवा गठबन्धन मार्फत् नै चुनावी मैदानमा उत्रने पक्षमा रहेका छन् भनिन्छ । तर यस सम्बन्धमा कांग्रेस सभापति समेत रहेका देउवाले मुख खोल्ने हिम्मत गरेका छैनन् । अहिले नै गठबन्धन मार्फत् चुनावी मैदानमा उत्रने घोषणा गरेमा त्यसको असर दुई महिना पछि हुन लागेको स्थानीय निर्वाचनमा पर्ने र कांग्रेसमा भाँडभैलो उत्पन्न हुने आकलन गरेर देउवाले यस सम्बन्धमा मुख नखोलेका हुन् भनिन्छ । अहिले प्रधानमन्त्री देउवाको दायाँ र बायाँ हात भएका रामचन्द्र पौडेल र कृष्ण सिटौलाले भने गठबन्धन मार्फत् नै चुनावी मैदानमा उत्रनु पर्ने मत व्यक्त मात्र गरेका छैनन् की प्रधानमन्त्री देउवा माथि समेत दवाव बढाएका छन् । पौडेल र सिटौलाले गठबन्धन मार्फत् चुनाव लड्नु पर्ने भनेर बढाएको दवाव पार्टीको हीतका लागि नभएर आगामी आम निर्वाचनमा आफू विजयी हुने वातावरण निर्माणका लागि बढाएका हुन् भन्ने निष्कर्ष धेरै कांग्रेसीजनको रहेको छ । यसैगरी माओवादी अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले प्रतिनिधिसभा विघटन गरेर अर्ली निर्वाचन गर्नु पर्ने भनेर अगाडि सारेको प्रस्तावको समर्थन पौडेल र सिटौलाले आफ्नै स्वार्थको कारण गरेका हुन् भनिन्छ । यस सम्बन्धमा पनि सभापति देउवाले भने मुख खोलेका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *