कांग्रेसले निर्णय नगर्दा बढ्यो अन्योल चुनावी घनचक्करमा गठबन्धन

समाचार

स्थानीय निर्वाचन आउन अब दुई महिना पनि समय बाँकी छैन । तर, अहिलेसम्म सत्तारुढ गठबन्धनमा रहेका दलहरूले स्थानीय निर्वाचन कसरी लड्ने भन्ने सम्बन्धमा सहमति र निर्णय गरेका छैनन् । सत्तारुढ गठबन्धनले निर्णय गर्न ढिलाई गरी रहँदा गठबन्धनमा सामेल रहेका राजनीतिक दलहरूले भने चुनाव केन्द्रित गतिविधिलाई अगाडि बढाउन सुरु गरिसकेका छन् । सरकारमा रहेको चार दलको गठबन्धनले स्थानीय निर्वाचनका सम्बन्धमा स्पष्ट निर्णय नगर्दा प्रमुख प्रतिपक्ष नेकपा एमालेले पनि ठोस रणनीति बनाउन सकेको छैन । यही कारणले गर्दा नै नेकपा एमाले पनि चुनाव प्रचार–प्रसारले माात्र केन्द्रमा राखेर आफ्ना गतिविधिलाई अगाडि बढाई राखेको छ ।
सरकारमा रहेका चार दल नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादीका नेताहरूले मिलेर स्थानीय निर्वाचनमा जाने बताए पनि यी चार दलको गठबन्धनले भने यस सम्बन्धमा अहिलेसम्म निर्णय गरी सकेको छैन । गठबन्धनमा रहेका तीन दल एकीकृत समाजवादी माओवादी केन्द्र र जनता समाजवादीको प्राथमिकतामा गठबन्धनमार्फत् निर्वाचनमा उत्रने रहेको छ । तर, अहिलेसम्म यस सम्बन्धमा नेपाली कांग्रेसले मुख खोलेको छैन । गत शनिबार वीरगञ्ज पुगेका प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकले अपनाएको राजनीतिक पद्दतिअनुसार गठबन्धनमार्फत् नै जानु पर्ने बाध्यता रहेको उल्लेख गर्दै स्थानीय निर्वाचनमा गठबन्धनमा रहेका दलहरू मिलेर लड्ने बताएका थिए । तर, यस सम्बन्धमा नेपाली कांग्रेसले औपचारिक निर्णय भने अब बस्ने केन्द्रीय कार्य समितिको बैठकले गर्ने भएको छ । नेपाली कांग्रेसले केन्द्रीय कार्य समितिमार्फत् गर्ने त्यही निर्णयले स्थानीय निर्वाचनमा सरकारमा रहेका चार दल स्थानीय निर्वाचनमा कसरी प्रस्तुत हुन्छन् भन्ने निश्चित हुनेछ ।
नेपाली कांग्रेसमा स्थानीय निर्वाचनका सम्बन्धमा मुख्य रूपमा तीन धार देखिएको छ । सभापतिसमेत रहेका प्रधानमन्त्री पक्षले गठबन्धनमार्फत् नै स्थानीय निर्वाचनमा लड्नु पर्छ भन्ने योजना अगाडि सारिराखेको छ भने कांग्रेसका उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, तथा शेखर कोइरालाले नेतृत्व गरेको संस्थापना इतर पक्ष कांग्रेस एक्लै तीन तहकै निर्वाचनमा उत्रनु पर्छ भन्ने पक्षमा देखिएको छ । अर्को एउटा पक्ष आवश्यकता र औचित्यको आधारमा विभिन्न तहमा यस सम्बन्धमा निर्णय गर्ने अधिकार स्थानीय कार्यकर्तालाई दिनुपर्छ भन्ने पक्षमा रहेको छ । उता सरकारको घटक माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गठबन्धन नै स्थानीय निर्वाचनमा उत्रनु पर्ने प्रस्ताव अगाडि सार्दै स्थानीय तहको भागबण्डाको सम्बन्धमा आवश्यक कार्ययोजना समेत बनाइसकेका छन् । माओवादी अध्यक्ष प्रचण्डका अनुसार सम्पन्न स्थानीय निर्वाचनमा माओवादीले जितेको ठाउँमा माओवादीले नै उम्मेदवारी दिने यसरी गरी कांग्रेस र जनता समाजवादीले जितेको ठाउँमा सम्बन्धित दललाई नै उम्मेदवारी तय गर्ने अधिकार दिने र नेकपा एमालेले जितेको ठाउँमा एकीकृत समाजवादीको संगठन बलियो भएको तहमा जनता समाजवादीलाई नै उम्मेदवार तय गर्न दिने र अन्य स्थानीय तहमा गठबन्धनले मिलेर उम्मेदवार निश्चित गर्ने योजना अगाडि सारेका छन् । प्रचण्डले अगाडि सारेको यो योजनाका सम्बन्धमा कांग्रेस सभापति देउवाले मुख खोलेका छैनन् । गठबन्धनका दुई दल माओवादी केन्द्र र एकीकृत समाजवादीको जोड भने गठबन्धन नै मिलेर स्थानीय चुनावदेखि प्रदेश र संघीय चुनावमा समेत उत्रनु पर्ने अडान प्रचण्ड र नेपालले राख्दै आएका छन् । यस सम्बन्धमा नेपाली कांग्रेसले जे निर्णय गर्छ त्यही हुने देखिएको छ । यसैले गर्दा गठबन्धनमार्फत् चुनावमा उत्रने वातावरण नबने कसरी अगाडि बढ्ने भन्ने सम्बन्धमा माअ‍ोवादी अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष नेपालले गम्भीर चिन्तन गरी राखेको बताइन्छ ।
उता प्रमुख प्रतिपक्षप नेकपा एमाले सत्तारुढ गठबन्धनका दलहरूले स्थानीय निर्वाचनका सम्बन्धमा निर्णय गरेपछि आफ्नो रणनीति र योजना बनाउने सोच बनाएको छ । यदि सरकारमा रहेका चारै दल मिलेर चुनावी मैदानमा उत्रिए नेकपा एमालेले पनि राष्ट्रिय प्रजातन्त्र पार्टी र लोकतान्त्रिक समाजवादीसँग मिलेर स्थानीय चुनाव लड्ने सम्भावना देखिएको छ । नेकपा एमालेसँग मिलेर लड्दा राप्रपा र लोकतान्त्रिक समाजवादीलाई राजनीतिक हानी होइन फाइदा नै हुन सक्ने भएकाले यी तीन दलका बीचमा चुनावी गठबन्धन हुन खास अप्ठ्यारो पर्ने देखिँदैन । उता सरकारका दुई घटक माओवादी केन्द्र र एकीकृत समाजवादीका लागि भने आगामी वैशाख ३० गते हुने स्थानीय निर्वाचन ठूलो चुनौतीको रूपमा रहेको छ । यो निर्वाचनको परिणामले प्रदेश र संघीय निर्वाचनको परिणामलाई समेत प्रभावित पार्ने छ । यही कारणले गर्दा नै माओवादी केन्द्र र एकीकृत समाजवादीको जोड पहिले संघीय निर्वाचन गर्ने र आगामी मंसिरमा स्थानीय निर्वाचन गर्नेमा हुने गरेको थियो । तर, अब आगामी वैशाख ३० गते नै स्थानीय निर्वाचन हुने लगभग निश्चित भएको छ । यो स्थितिमा माओवादी केन्द्र र एकीकृत समाजवादी सरकारको नेतृत्व गरी राखेको नेपाली कांग्रेसले चुनावका सम्बन्धमा गर्ने निर्णयलाई पर्खिएर बसेका छन् । नेपाली कांग्रेसले गठबन्धनमार्फत् चुनाव नलड्ने निर्णय गर्न सक्ने अनुमान गरेर तथा आफ्नो पार्टी कार्यकर्ताको मनोबल बढाउन माओवादी अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष नेपालले एक्लै चुनाव लड्न पनि आफ्नो पार्टी तयार रहेको बताउन थालेका छन् ।
७ सय ५३ वटा स्थानीय तहमा चार दलले मिलेर चुनाव लड्ने व्यवहारिक रूपले समेत कठिन हुने देखिएको छ भने कतिपय स्थानीय तहमा केन्द्रले गर्ने निर्णयलाई स्थानीय कार्यकर्ताले स्वीकार नगर्ने स्थिति पनि छ । त्यस कारण सरकारमा रहेका चार दललाई गठबन्धन गरेर चुनावमा उत्रन जति अप्ठ्यारो देखिएको छ त्यति नै अप्ठ्यारो चुनावी तालमेलमा हुने पनि देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *