चुनावी गठबन्धन र कांग्रेसी स्थिति

सम्पादकीय

सम्पादकीय

आगामी वैशाख ३० गते हुने स्थानीय निर्वाचनको उल्टो गन्ती अगाडि बढ्दा गठबन्धनको चर्चा पनि त्यसैगरी तातेको छ । सरकारमा रहेका नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाले स्थानीयदेखि प्रदेश र संघीय निर्वाचन आपसमा गठबन्धन बनाएर लड्ने योजना अगाडि सारेको कारण यो शब्द अहिले नेपालको राजनीतिमा तातो बहस र चर्चाको शब्द बन्न पुगेको छ । अहिले पनि प्रतिगमन समाप्त भई नसकेको भन्दै सरकारमा रहेका पाँच वटै दल तीन तहकै निर्वाचन मिलेर लड्न आवश्यक भएको तर्क अगाडि सार्दै यथार्थमा संसदमा प्रमुख सबभन्दा धेरै सांसद भएको र स्थानीय तहमा पनि सबभन्दा धेरै स्थानमा विजय प्राप्त गरेको नेकपा एमालेलाई एक्ल्याउनकै लागि अगाडि बढाईएको यो रणनीति कति सफल हुन्छ भन्ने प्रश्न आफ्नो ठाउँमा रहेको छ ।
सत्तारुढ गठबन्धनका माओवादी केन्द्र र एकीकृत समाजवादीले नेपाली कांग्रेसको नेतृत्वमा मिलेर चुनाव लड्न जोड गरी रहँदा नेपाली कांग्रेसमा भने यस सम्बन्धमा अझै पनि सहमति बन्न सकेको छैन । नेपाली कांग्रेसमा खास गरेर आगामी वैशाख ३० गते हुने स्थानीय निर्वाचनका सम्बन्धमा तीन वटा विकल्पहरुमा चर्चा भई राखेको छ । प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवा तीन तहकै निर्वाचन सत्तारुढ गठबन्धनका दलहरु मिलेर लड्नु पर्ने पक्षमा छन् भने संस्थापना इतर पक्ष कांग्रेस एक्लै तीन तहकै निर्वाचनमा लड्नु पर्ने पक्षमा रहेको छ । काग्रेसको अर्को एउटा पक्ष भने स्थानीय तहको निर्वाचन आवश्यकता अनुसार एक्लै र गठबन्धन मार्फत् लड्नु पर्ने र यसका सम्बन्धमा उम्मेदवार तय गर्ने र निर्णय गर्ने अधिकार स्थानीय तहलाई नै दिनु पर्ने मतमा रहेको छ । यो विवादलाई प्रमुख एजेण्डा बनाएर नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक गत शुक्रबारट बस्दै आएको छ ।
नेपाली कांग्रेस केन्द्रीय कार्य समितिले निर्वाचनका सम्बन्धमा बहुमतको आधारमा निर्णय गरेर अगाडि बढ्ने स्थिति भएपनि बहुमतको आधारमा निर्वाचनका सम्बन्धमा निर्णय लिँदा त्यसले पार्टीका लागि अनुत्पादक र हानीकारक स्थिति उत्पन्न गर्न सक्ने विश्लेषण गरेर चुनावको सम्बन्धमा एउटै मत बनाउन कांग्रेस नेतृत्वले पहल गरी राखेको छ । प्रधानमन्त्री देउवाले खास गरेर माओवादी केन्द्रसँग सहकार्य नगरे प्रतिपक्ष नेपाली कांग्रेससँग मिलेर माओवादी केन्द्रले चुनाव लड्ने भन्दै त्यो स्थिति आउन नदिन नेपाली कांग्रेसले नै सरकारमा रहेका दलहरुसँग मिलेर चुनावी गठबन्धन बनाउने पर्ने प्रस्ताव अगाडि बढाई राखेका छन् । गठबन्धन मार्फत् होइन कांग्रेस एक्लै चुनाव लड्नु पर्ने मत राख्ने कांग्रेसी नेताहरुले भने २०७४ सालमा सम्पन्न भएको स्थानीय निर्वाचनमा माओवादी केन्द्रले धोखा दिएको भन्दै यो पटकको चुनावमा कांग्रेस एक्लै मैदानमा उत्रनु पर्ने मत राखेका छन् ।
नेपाली कांग्रेसमा उत्पन्न भएको यो विवाद सहमतिमा टुंगिन नसके र अहिले बैठक बसिराखेको कार्य समितिले बहुमतको आधारमा स्थानीय निर्वाचनका सम्बन्धमा निर्णय ग¥यो भने नेपाली कांग्रेसमा फेरि विद्रोह र अन्तरघात जन्मिने निश्चित देखिन्छ । यही कारणले गर्दा पनि कांग्रेसको संस्थापना पक्ष चुनावको मामिलामा बहुमतको आधारमा निर्णय गर्नु भन्दा सबैले मान्ने बाटो खोजेर सहमतिमा पुग्नु पर्ने निष्कर्षमा रहेको छ । निर्वाचनका सम्बन्धमा उत्पन्न भएको यो विवादले कसरी निकास पाउँछ भन्ने मुद्दाले नै गठबन्धनको भविष्यसँगै मुलुकको राजनीतिके भविष्य समेत निश्चित गर्ने अवस्था छ । यो कारणले गर्दा पनि कांग्रेसमा उत्पन्न भएको यो विवाद प्रति समग्र राजनीतिक क्षेत्रले नजिकबाट चासो राखेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *