खराब आर्थिक अवस्थाले देखाएको भयावह चित्र

समाचार

रामचन्द्र
सार्कको एउटा सदस्य राष्ट्र श्रीलंकाले निर्धारित समयमा माध्यमिकत विद्यालय तहको परिक्षा संचालन गर्न सकेन । बाहिरबाट परिक्षाका लागि आवश्यक पर्ने कागज खरिद गर्न नसक्दा श्रीलंकामा माध्यमिक तहको परिक्षा संचालन हुन नसकेको हो । सरकारसँग बाह्य मुलुकबाट कागज खरिद गर्न आवश्यक पर्ने विदेशी मुद्रा नहुँदा यो दयनिय अवस्थामा श्रीलंका पुगेको हो । सन् ८० को दशकसम्म दक्षिण एशियाको सबभन्दा सम्पन्न र विकसित मुलुक मानिएको श्रीलंका लामोसम्म जातिय द्वन्द्वमा फसेको र पछिल्लो समयमा कोरोना महामारीसँगै यो महारीले पर्यटन क्षेत्रमा पु¥याएको असरको कारण श्रीलंकाको आर्थिक अवस्था अहिले अत्यन्त दयनिय बन्न पुगेको छ । विदेशी मुद्राको संचिति अत्यन्त निराशाजनक स्थितिलाई ध्यानमा राखेर श्रीलंकाले भारत सरकारसँग एक अर्ब अमेरिकी डलर ऋण मागेको छ भने यसैगरी अन्तर्राष्ट्रिय मुद्रा कोषसँग पनि एक अर्ब डलर नै ऋण मागेको छ ।
तर अहिलेसम्म भारत र अन्तर्राष्ट्रिय मुद्राकोषले श्रीलंकाको यो मागका सम्बन्धमा कुनै जवाफ दिएका छैनन् । मुलुक आर्थिक रुपले दयनिय अवस्थाबाट गुज्रिरहँदा चीनलाई डेढ अर्ब डलर ऋण तिर्नु परेको कारण श्रीलंकाको आर्थिक अवस्था थप दयनिय भएर टाट पल्टिने अवस्थामा पुगेको हो । श्रीलंकाको यो दयनिय आर्थिक अवस्थाबाट नेपालले पनि उचित शिक्षा लिएर समयमा नै आवश्यक कदम चाल्न आवश्यक भएको छ । किनभने नेपालको आर्थिक अवस्था पनि निरन्तर रुपमा ओरालो लागि राखेको छ । आर्थिक अवस्था निरन्तर निराशाजनक रुपमा ओरालो लागि रहँदा मुलुकले भने ठूलो रकम खर्च गरेर आगामी वर्षमा नै स्थानीयदेखि प्रदेश र संघीय चुनाव समेत गर्नु पर्ने भएको छ । तीन तहको निर्वाचन सम्पन्न गर्न ठूलो रकम चाहिने र त्यो खर्चलाई मुलुकको अर्थतन्त्रले धान्न नसक्ने स्थिति आउने समेत देखिएको छ । मुलुकको आर्थिक अवस्था ओरालो लागि राखेको स्थितिलाई ध्यानमा राखेर प्रधानमन्त्री शेरबहादुर देउवाले आर्थिक अवस्थाका सम्बन्धमा अध्ययन गरेर सुझाव दिनका लागि एउटा समिति गठन गरेका छन् । तर अब मुलुका लागि आर्थिक अवस्था सुधार गर्न समिति गठन गर्ने जस्ता औपचारिक बाटोतिर नगई ठोस कदम चाल्नु पर्ने देखिन्छ । तर सरकार भने मुलुकको आर्थिक अवस्थालाई उपेक्षा गर्दै केही व्यापारीको स्वार्थ पूरा गर्नका लागि अहिले संचित अवस्थामा रहेको विदेशी मुद्रा समेत खर्च गरेर राज्यलाई अवाश्यक नपर्ने सुपारी, मरिचक लगायतका सामाग्री असिमित परिणाममा भित्र्याउने गरी निर्णय गरेको छ । मलेशिया, इण्डोनेशिया मलेशिया जस्ता मुलुकबाट डलर खर्च गरेर खरिद गरेर ल्याएर भारतलाई बिक्री गरेर व्यापारी पोस्नका लागि सरकारले यो निर्णय गरेको हो ।
प्रधानमन्त्री देउवाले सम्हालिराखेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषदले सुपारी, मरिच जस्ता राज्यका लागि आवश्यक नपर्ने वस्तु डलर खर्च गरेर तेस्रो मुलुकबाट ल्याउने निर्णय केही व्यापारीको स्वार्थका लागि गरेको हो । त्यसरी नेपाल आउने मरिच, सुपारी लगायतका वस्तु नेपालमा उत्पादन भएको भनेर भारत निर्यात गरेर मोटो रकम कमाउने धन्दा व्यापारीको रहेको छ । किनभने नेपाल बाहेकका अन्य मुलुकबाट यस्ता सामाग्री आयात गर्दा भारत सरकारले असी प्रतिशत भन्सार महसुल लगाउँछ भने नेपालमा उत्पादन भएका यिनै वस्तुको आयातमा भने कुनै प्रकारको भन्सार महसुल भारत सरकारले लगाउँदैन । नेपाललाई दिएको यही सुविधाको दुरुपयोग गरेर अहिले पनि व्यापारीहरुले मलेशिया, इण्डोनेशिया जस्ता मुलुकबाट पाम खरिद गरेर नेपालमा त्यो पामलाई प्रशोधन मार्फत् तेलमा रुपान्तरण गरेर नेपालमा उत्पादन भएको भनेर भारत निर्यात गरेर मोटो रकम कमाउने गर्दै आएका छन् ।
कुनै पनि मुलुक टाट पल्टिनु भनेको विदेशी मुद्राको संचिति समाप्त हुनु हो । यही अवस्थामा अहिले श्रीलंका गुज्रिराखेको छ । श्रीलंकाको यो अवस्थाबाट शिक्षा लिएर सबभन्दा पहिले विदेशी मुद्रा खर्च गर्नेमा कडाई गर्नु पर्नेमा सरकार भने व्यापारीको आर्थिक स्वार्थ सम्बोधन गर्नका लागि विदेशी मुद्रा खर्च गर्नका लागि विभिन्न निर्णय गरी राखेको छ । यदि नेपाल राष्ट्र बैंकको ढुकुटीमा विदेशी मुद्राको संचिति सून्यमा पुग्यो भने मुलुक टाट पल्टिने अवस्थामा पुग्दछ र त्यो अवस्थाले यो मुलुकलाई हाहाकार र अराजकताको स्थितिमा पु¥याउने छ । किनभने यो मुलुकले औषधी मात्र होइन, खाद्य वस्तु समेत बाहिरबाट खरिद गरेर धान्न काम गर्दै आएको छ । यदि मुलुकको ढुकुटीमा विदेशी मुद्राको संचिति समाप्त भयो भने अति आवश्यक सामाग्री समेत अन्य मुलुकबाट खरिद गरेर ल्याउने हैसियतमा नेपाल हुँदैन । जबकी यो मुलुकका लागि दैनिकी लगायतका सबै आवश्यक सामाग्री बाहिरबाट खरिद गर्नु पर्ने अवस्था रहेको छ । र यो अवस्था निरन्तर रुपमा घट्ने होइन बढ्ने क्रममा रहेको छ । यही कारणले गर्दा नै हरेक वर्ष आयातको परिणाम बढी राखेको छ । यो मामिलमा हेक्का राख्नु पर्ने के छ भने विदेशी मुद्राको संचिति समाप्त भयो भने मुलुक टाट पल्टिएको मानिन्छ । यो मान्यता विश्वव्यापी रुपमा नै चल्दै आएको छ । अहिले सार्कको एउटा सदस्य राष्ट्र श्रीलंका विदेशी मुद्राको संचिति नभएकै कारणले गर्दा टाट पल्टिने अवस्थामा पुगेको छ ।
नेपाललाई पनि आर्थिक रुपले यो दुरावस्थामा पुग्नबाट जोगाउनका लागि सबभन्दा पहिले सरकारले आयातमा कडाई गर्नु पर्दछ । यो मामिलामा सबभन्दा पहिले सरकारले सवारी साधनको आयातमा कडाई गरेसँगै मदिरा लगायतका सिंगारका सामाग्रीहरुको आयातमा पनि त्यसैगरी कडाई गर्न जरुरी छ । तर सिमित व्यापारीको स्वार्थका लागि सरकारले सवारी साधन आयातमा कडाई गर्ने देखिँदैन । किनभने ठूला व्यापारीहरुले नै सवारी साधनको कारोवार गरी राखेका छन् । र, उनीहरुको आर्थिक स्वार्थसँग सरकारमा रहेका व्यक्तिहरुको स्वार्थ पनि जोडिन पुग्दछ । त्यस कारण यही स्वार्थको कारण मुलुकको आर्थिक अवस्था ओरालो लागेर चिन्ताजनक अवस्थामा पुगेपनि र विदेशी मुद्राको संचित सून्यतिर झरेपनि सरकारले अनावश्यक र विलाशी वस्तुको आयातमा कडाई गर्ने सम्भावना देखिँदैन । यस बाहेक सरकार संचालनको मामिलामा पनि राज्यले अनावश्यक खर्चलाई व्यहोर्न परी राखेको छ । सरकारले अनावश्यक र विलाशी वस्तुको आयातमा कडाई गर्न र सरकारले गर्दै आएको अनावश्यक खर्च नियन्त्रण गर्नका लागि कुनै समितिको सुझाव आश्यक पर्दैन । त्यस कारण सरकारले मुलुकको खराब आर्थिक अवस्थालाई ध्यानमा राखेर एकातिर अनावश्यक खर्चलाई नियन्त्रण गर्ने र अर्कोतिर विदेशी मुद्रा आर्जनको उपायहरु बढाउने तिर तत्काल लागि पर्नु पर्दछ । यदि श्रीलंकाको जस्तो आर्थिक अवस्था यो मुलुकले पनि व्यहोर्नु प¥यो भने त्यसबाट उत्पन्न हुने अराजकतालाई सरकारले नियन्त्रण गर्न सक्ने छैन । किनभने आम जनताको दैनिक जीवनमा आवश्यक पर्ने सामाग्रीहरु समेत विदेशबाट आयत गर्नु पर्ने अवस्थाबाट मुलुक गुज्रिराखेको छ र विदेशी मुद्राको अभावमा त्यस्ता अति आवश्यक सामाग्री राज्यले खरिद गर्न सकेन भने त्यसबाट उत्पन्न हुने अराजकता सरकारले नियन्त्रण गर्न सक्दैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *