रेणु दाहालको कारण चितवन राजनीतिमा बढ्यो विवाद

समाचार

स्थानीय निर्वाचनलाई लिएर नेपाली कांग्रेसले गठबन्धन मार्फत् चुनावी मैदानमा उत्रने निर्णय गरेसँगै भरतपुर महानगरपालिकाको निर्वाचनका सम्बन्धमा तातो चर्चा र बहस हुन थालेको छ । गठबन्धनको एउटा घटक दल माओवादी केन्द्र र अध्यक्ष प्रचण्डकी छोरी रेणु दाहाल दोहो¥याएर मेयरमा उठ्ने बलियो सम्भावना रहेको कारण भरतपुर महानगरपालिका तातो चर्चामा आउन थालेको हो । र, भरतपुर महानगरपालिकाको मेयरलाई लिएर सरकारको नेतृत्व गरी राखेको नेपाली कांग्रेसको स्थानीय तहको नेताहरुमा समेत चर्को बहस सुरु भएको छ । २०७४ सालको स्थानीय निर्वाचनमा मेयरका लागि कांग्रेसको तर्फबाट उम्मेदवारी दिएपनि सभापति शेरबहादुर देउवाले बलजफती रुपमा निर्वाचन आयोग नै लगाएर उक्त उम्मेदवारी फिर्ता लिन लगाएका कांग्रेस नेता दिनेश कोइरालादेखि कांग्रेसका अधिकांश चितवनका नेताहरु यो पटकको निर्वाचनमा भरतपुर महानगरपालिकाको मेयर माओवादी केन्द्र छाड्ने र रुख चुनाव चिन्हलाई थन्क्याएर हसिया हथौडा चुनाव चिन्ह मत हाल्ने पक्षमा छैनन् ।
गठबन्धनका दलहरुका बीचमा महानगरपालिकाहरुको भागबण्डा हुँदा भरतपुर महानगरपालिकाको मेयर नेकपा माओवादी केन्द्रको पक्षमा पर्ने र माओवादी केन्द्रलाई दोहो¥याएर रेणु दाहाललाई उठाउने निश्चित भएपनि कांग्रेसका स्थानीय नेता कार्यकर्ताले केन्द्रमा हुने यो निर्णयलाई स्वीकार गर्न सक्ने अवस्था नभएको कारण रेणु दाहाललाई लिएर कांग्रेस सभापति शेरबहादुर देउवादेखि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड समेत गम्भीर चुनौतीमा पर्ने देखिएको छ । नेपाली कांग्रेसका स्थानीय नेताहरुले यो पटक पनि आफुहरु तथा कांग्रेस समर्थक मतदाताले रुख चिन्हमा भोट खसाल्न पाउने अवसर गुमाउनु परेमा कार्यकर्ता र मतदाताले एकसाथ नेतृत्वको निर्णयलाई चुनौती दिने भनेर खबरदारी गरी राखेका छन् । २०७४ सालमा सम्पन्न भएको निर्वाचनमा रेणु दाहाल विवादास्पद बाटोबाट झिनो मतले मेयरमा विजयी भएकी थिइन् । यदि अब हुने स्थानीय निर्वाचनमा नेपाली कांग्रेसका आधा मात्र नेता तथा कार्यकर्ताले असहयोग गरेमा रेणु दाहालको विजय संकटमा पर्ने निश्चित छ । स्मरण रहोस् चितवन कांग्रेसमा शेखर कोइराला पक्ष बलियो स्थितिमा छ र जिल्ला कांग्रेसको नेतृत्व पनि अहिले शेखर कोइराला पक्षले नै गरी राखेको छ । यसैगरी रेणु दाहाललाई लिएर नेपाली कांग्रेसको स्थानीय तह मात्र होइन माओवादी केन्द्रमा पनि सधैंभरी अन्य नेताहरुलाई पन्छाएर एउटै व्यक्तिलाई अवसर दिन थालेको भनेर असन्तोष बढ्ने सम्भावना पनि त्यति नै बलियो छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *